३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुरक्षा कोषमा जान बैंकका कर्मचारी अनिच्छुक

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा जान वित्तीय क्षेत्रका कर्मचारी अनिच्छुक देखिएका छन् । आफूसँग आबद्ध हुन भन्दै कोषले बैंक तथा वित्तीय संस्थालाई पत्र लेखेर आग्रह गरिरहेका बेला कर्मचारीहरूले भने असहमति जनाएका हुन् । 

सुरक्षा कोषमा जान बैंकका कर्मचारी अनिच्छुक

वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले बिहीबार विज्ञप्तिमार्फत आफ्नो निर्णय सार्वजनिक गरेको हो । कोषले मंगलबार बैंक तथा वित्तीय संस्थालाई पत्रमार्फत कोषमा दर्ता हुन आग्रह गरेको छ । हालकै अवस्थामा सामाजिक सुरक्षा कोषमा जाँदा बैंकिङ क्षेत्रका कर्मचारीले खाइपाई आएको सुविधा पनि कटौती हुने भएकाले तत्कालका लागि बाध्य गर्न नहुने संघले बताएको छ ।

‘नेपाल सरकारद्वारा २०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले संविधान तथा श्रम ऐन र ट्रेड युनियन ऐनद्वारा प्रदत्त अधिकारबाट सम्बोधन गर्न सक्दैन,’ संघको विज्ञप्तिमा भनिएको छ । यस्तो अवस्थामा बैंक, बिमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीलाई उनीहरूको खाइपाई आएका सेवासुविधा कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले अनुचित दबाब दिएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । कोभिड–१९ ले सबै क्षेत्र प्रभावित भइरहेका बेला आफूहरूको सुझावलाई बेवास्ता गरी कोष एकलौटी ढंगबाट अघि बढे आन्दोलनका कार्यक्रम गर्न आफूहरू बाध्य हुने संघको चेतावनी छ ।

‘तीन दशकभन्दा लामो समय संघर्ष गर्दै सामूहिक सौदाबाजीबाट पाएका र स्थापित गरेका सेवा सुविधालाई तिलाञ्जली दिएर सामाजिक सुरक्षा योजनामा सहभागी हुन वित्तीय संस्थाका कर्मचारीलाई बाध्य पार्न खोज्ने सामाजिक सुरक्षा कोषको यो कार्य अत्यन्त निन्दनीय र खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने घोषणा गरेको छ । सोही व्यवस्थालाई आधार बनाएर कोषले मंगलबार बैंकर्स संघलाई पत्र काटेर कोषमा दर्ता हुन आउन आग्रह गरेको हो । ‘सुरक्षा कोषमा आबद्ध श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असारको योगदान सरकारले बेहोर्ने उल्लेख भएको हुँदा त्यस मातहत रहेका संस्थालाई समयमै कोषमा आबद्ध गराई लाभ लिन अनुरोध गरिन्छ,’ कोषले संघलाई काटेको पत्रमा भनिएको छ ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले पनि कर्मचारी अनिच्छुक रहेकाले तत्काल कोषमा जान नसकिने आन्तरिक निर्णय गरेको छ । ‘कर्मचारीहरूले हाल पाइरहेको सुविधा नघट्ने सुनिश्चितता खोजेका छन्,’ स्रोतले भन्यो, ‘हालकै अवस्थामा कोषले त्यो सुनिश्चितता गर्न सकेको छैन ।’ हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिवारकै बिमा सुविधा पाउँछन् । तर कोषमा आबद्ध भएपछि सम्बद्ध कर्मचारीको मात्र बिमा सुविधा पाइन्छ । हाल कर्मचारी सञ्चय कोषबाट कर्मचारीले सस्तो ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउँछन् । तर, सामाजिक सुरक्षा कोषमा त्यस्ता कर्जाको सुनिश्चितता नभएको स्रोतले बताएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघमा मुलुकभरका बैंक, बिमा, लघुवित्त, पुँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत १७ हजारभन्दा बढी कर्मचारी आबद्ध छन् ।

प्रकाशित : जेष्ठ २०, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?