१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

‘बजेट कार्यान्वयन गर्न मन्त्रालयगत कार्ययोजना’

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न मन्त्रालयगत कार्ययोजना तय गरिने बताएका छन् । अध्यादेशमार्फत ल्याइएको बजेट राम्रो हुँदाहुँदै कार्यान्वयनमा भइरहेको शंकाप्रति पौडेलले कार्ययोजना बनाएर अघि बढ्ने दाबी गरे ।

‘बजेट कार्यान्वयन गर्न मन्त्रालयगत कार्ययोजना’

‘बजेट कार्यान्वयन गर्न सोमबारबाटै सम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल सुरु गर्दै छौं,’ नेपाल आर्थिक पत्रकार समाजले सोमबार गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले भने, ‘जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्वयन गर्न बजेट ल्याएका छौं । बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।’ यसका लागि रचनात्मक सुझाव दिन उनको आग्रह छ । राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्न निजी क्षेत्रलाई उनले सुझाए । अर्थसचिव शिशिरकुमार ढुंगानाले पनि बजेट कार्यान्वयन हुने विषयमा सरकार प्रतिबद्ध भएको बताए । समयमै बजेट कार्यान्वयन गर्न बजेटमार्फत नै केही सुधारको प्रयास भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसपालिको बजेटले आफूहरूलाई ‘सरप्राइज’ दिएको धारणा राखे । ‘निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाव सम्बोधन भए,’ उनले भने, ‘कोभिड खोपको व्यवस्थाका लागि बजेट ठीक छ । पर्यटन, मनोरन्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो आएको छ राम्रो छ ।’

बजेट कार्यान्वयन र बजेटले राखेका लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भए पनि बजेट नीति सकारात्मक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । समयमै सर्वसुलभ भ्याक्सिनको व्यवस्था गर्न सके आर्थिक क्रियाकलाप विस्तार भई साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उनको भनाइ छ ।

कार्यान्वयनमा चुनौती भए पनि बजेट निजी क्षेत्रमैत्री भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बताए । बजेट कार्यान्वयन र सफलताका लागि फास्ट ट्र्याकमा काम गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ १८, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?