डिजिटल कारोबार बढेको बढ्यै

चालु आर्थिक वर्षको ९ महिनामा मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि

जेष्ठ २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ ।

कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर कोर्डमा आधारित भएर २ अर्ब ७२ भन्दा बढी मूल्यबराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि क्यूआरमा आधारित भुक्तानीको तथ्यांक सार्वजनिक सुरु गरेको हो । साउनमा १ लाख ९५ पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । साउनमा क्यूआर कोडमा आधारित भुक्तानीमार्फत ५८ करोडको कारोबार भएको थियो । पछिल्लो ८ महिनामा क्यूआरमार्फत हुने कारोबार चार गुणा बढेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो ९ महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि उल्लेख्य बढेको छ । चैतमा मात्रै मोबाइल बैंकिङबाट ४८ अर्ब ४५ करोडको कारोबार भएको छ ।


गत असारमा मोबाइल बैंकिङमार्फत हुने कारोबारको परिमाण १८ अर्ब ८३ करोड मात्रै थियो । पछिल्लो ९ महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबारको परिमाण तीन गुणा बढेको छ । चैतमा मात्र मोबाइल बैंकिङमार्फत १ करोड १० लाख पटकभन्दा बढी कारोबार भएको थियो । मोबाइल वालेटमार्फत हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल वालेटमार्फत चैतमा मात्रै १ करोड १४ लाख पटकभन्दा बढी कारोबार भएको थियो । चैतमा मात्रै मोबाइल वालेटमार्फत ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । असारमा मोबाइल वालेटमार्फत हुने कारोबार रकमको परिमाण साढे ७ अर्ब रुपैयाँ थियो ।

डिजिटल कारोबारसँगै प्वाइन्ट अफ सेल (पीओएस) मेसिनबाट हुने भुक्तानीमा पनि वृद्धि भएको छ । साउनमा पीओएस मेसिनमार्फत ५ लाख ३२ हजार पटक कारोबार भएकोमा चैतमा आइपुग्दा कारोबार संख्या ८ लाख ७१ हजार नाघेको छ । पीओएस मेसिनमार्फत चैतमा मात्रै करिब ३ खर्ब ७० करोडको कारोबार भएको छ । समग्र डिजिटल कारोबारको परिमाण र संख्या दुवै बढिरहे पनि इन्टरनेट बैंकिङमार्फत हुने कारोबार भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मोबाइलमार्फत गरिने भुक्तानी प्रक्रिया सहज भएकाले इन्टरनेट बैंकिङमार्फत हुने कारोबार घटेको हुन सक्ने जानकारहरू बताउँछन् । असारमा इन्टरनेट बैंकिङमार्फत ६ लाख ५३ हजारभन्दा बढीपटक कारोबार भएको थियो ।

चैतमा आइपुग्दा कारोबार संख्या ३ लाख ३ हजारमा सीमित भएको छ । इन्टरनेट बैंकिङमार्फत हुने कारोबार पनि घटेको राष्ट्र बैंकको तथ्यांक छ । असारमा इन्टरनेट बैंकिङमार्फत १९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । चैतमा भने यसमार्फत भएको कारोबार परिमाण १० अर्ब २१ करोडमा सीमित भएको छ ।

सरकारले कोभिड–१९ को संक्रमण बढ्न नदिन वैशाख १६ देखि उपत्यकासहित प्रमुख सहरमा निषेधाज्ञा गरेकाले आगामी महिना डिजिटल कारोबारको संख्या र परिमाण दुवै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

कान्तिपुर

Link copied successfully