कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन

केन्द्रको बाहिरी साजसज्जा र अन्तिमका केही काम बाँकी छँदै प्रधानमन्त्रीले गरे अनावरण
विमल खतिवडा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शपथ लिएलगत्तै भर्चुअल माध्यमबाट ललितपुरको गोदावरीमा ३ हजार व्यक्ति अट्ने सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । ‘गोदावरी सनराइज’ नाम राखिएको हल ८० करोड रुपैयाँ लागतमा बनेको हो । केन्द्रको बाहिरी साजसज्जा र अन्तिमका केही काम बाँकी छँदै प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले उद्घाटन गरेका हुन् ।

सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन विभागले २०७६ कात्तिकबाट यसको निर्माण प्रक्रिया अगाडि बढाएको सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जानकारी दिए ।

‘केन्द्र ४३ रोपनी क्षेत्रफलमा फैलिएको छ,’ उनले भने, ‘यसमा हल मात्र ११ रोपनी १३ आनामा निर्माण भएको छ ।’ उनका अनुसार कुल क्षेत्रफलको २७ प्रतिशत सभाहलले ओगटेको छ । ‘यसको डिजाइन उदाउँदो सूर्यको आकारमा गरिएको छ,’ उनले भने, ‘त्यसैले नामकरण गोदावरी सनराइज गरिएको हो ।’ साथै ससाना बहुउद्देश्यीय सभाकक्ष, अति विशिष्ट कक्ष र विशिष्ट कक्षसमेत बनाइएको छ ।


अन्तर्राष्ट्रिय सभासम्मेलनमा सहजता ल्याउन भाषा अनुवादक प्रणाली पनि सभाहलमा जोडिएको सिंहले जानकारी दिए । ‘यसका अतिरिक्त भवनका वरिपरि फलफूलका बिरुवासहित बगैंचा, पानीको फोहरा, हरियाली र पार्किङको व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘राष्ट्रिय भवन संहिताअनुरूप भूकम्पीय सुरक्षालाई ध्यान दिँदै त्यहीअनुसार भवनको डिजाइन गरिएको हो ।’ १६ रोपनी २ आना क्षेत्रफलमा बगैंचा तथा हरियाली र १३ रोपनी १ आनामा पार्किङ छ । केसी समानान्तर जेभीले ठेक्का लिएको हलको उचाइ २८ मिटर छ । भवनमा आगलागीबाट हुन सक्ने क्षति रोक्न आधुनिक संयन्त्र जडान गरिएको सिंहको भनाइ छ । ‘निर्माणका प्रत्येक चरणमा आवश्यक परीक्षण गरी गुणस्तर कायम गरिएको छ,’ उनले भने ।

उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले गोदावरी सनराइज सम्मेलन केन्द्र निर्माण रफ्तारमा भएको भन्दै निर्माण व्यवसायीको प्रशंसा गरे । ‘कोभिडले गर्दा बाधा व्यवधान नआएको भए अझै चाँडै निर्माण सकिन्थ्यो,’ उनले भने, ‘कोभिडले निर्माणमा थोरै विलम्ब गरे पनि धेरै विलम्ब हुन सकेन, कतिपयले केही पनि काम भएन भनिरहेका छन्, अर्कातिर लगातार निर्माणका काम सम्पन्न भई उद्घाटन भएका छन् ।’

यसपछि उद्घाटन हुने स्थितिमा लुम्बिनी बौद्ध सभा हल तथा ध्यान केन्द्र रहेको उनको भनाइ छ । ‘त्यसको क्षमता ५ हजार व्यक्ति अटाउने छ,’ उनले भने, ‘एडजस्ट गर्दा ८ हजारसम्म अटाउन सकिन्छ । यसको निर्माण लगभग सम्पन्न भइसकेको उनले जानकारी दिए । यस पटकको बुद्ध जयन्ती उक्त सभा हलमा मनाउने गरी तयारी भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?