संकटका बेला मूल्यवृद्धि गर्छन् व्यवसायी

वाणिज्य विभाग भन्छ– ‘हिजोको आजै बढ्नु नपर्ने हो, दोषीलाई कारबाही गर्छौं’
राजु चौधरी

काठमाडौँ — कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।

संकटका बेला मूल्यवृद्धि गर्छन् व्यवसायी

दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी (होलसेल र उत्पादक) ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’ खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । साना व्यापारीलाई समस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछन् ।

केही दिनयता प्रतिलिटर सनफ्लावर तेलको एमआरपी मूल्य २६० रुपैयाँ पुगेको छ । ‘सनफ्लवार प्र्रतिलिटर २४०/४५ रुपैयाँमा खरिद गरिरहेका थियौं, शुक्रबारदेखि खरिद मूल्य नै २५५ रुपैयाँ पुगेको छ । एमआरपी बढाएर २६० पुर्‍याइएको छ,’ श्रेष्ठले भने, ‘भटमासको तेल २३० बाट बढेर २४०/४५ रुपैयाँ पुगेको छ । पुरानो स्टक भएका व्यवसायीले पुरानै मूल्यमा बिक्री गरे पनि अहिले पसलपिच्छे मूल्य फरक छ ।’ तेलबाहेक चिनीको मूल्य पनि बढेको छ । संघका अनुसार साताअघि होलसेल मूल्य प्रतिकिलो ८३ रुपैयाँ पर्थ्यो । अहिले बढेर होलसेलमै प्रतिकिलो ८६ रुपैयाँ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए । गेडागुडीको मूल्य पनि छोइनसक्नु छ । चनाको होलसेल मूल्य ९० रुपैयाँबाट बढेर प्रतिकिलो १०३ र खुद्रा बजारमा ११० रुपैयाँसम्म पर्ने संघको भनाइ छ ।

मुसुरो दाल १०७ बाट बढेर १२२ रुपैयाँ, मासको दाल १५५ बाट १६० रुपैयाँ र रहर दाल १५० बाट १६० रुपैयाँ पुगेको छ । चामलको मूल्य पनि प्रतिबोरा एक सय रुपैयाँ बढेको छ । ‘एक बोरा चामलको १५ सय पर्नेमा अहिले १६०० देखि १६५० रुपैयाँसम्म पर्छ । ढुवानीको विषयलाई लिएर ठूला व्यवसायीले चलखेल गरे,’ अध्यक्ष श्रेष्ठले भने, ‘मूल्य बढाउनै परे निषेधाज्ञाअघि नै गर्नुपर्थ्यो । तर मूल्य बिहीबारदेखि बढ्यो । यो उद्योगी र होलसेलको प्रि–प्लान नै हो ।’

कोभिडले भारतमा सबै मिल बन्द हुँदा यता पनि बढेको खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । ढुवानी भाडाका कारण पनि चामलको मूल्य बढेको उनको भनाइ छ । दालको मूल्य भने त्यति नबढेको उनले दाबी गरे । ‘चामलको मूल्य बढ्नुमा भाडा नै मुख्य कारण हो । हामी चामल आयातमै निर्भर छौं,’ उनले भने । खुद्रा व्यापार संघले भने होलसेल व्यवसायीले नै मूल्य बढाएको आरोप लगाएको छ ।

हरियो तरकारीको मूल्य पनि खुद्रामा बढ्दो क्रममा छ । होलसेलमा भने हरियो तरकारीको भाउ सस्तो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । समितिका अनुसार चार दिनयता कालीमाटी तरकारी बजारमा व्यापक तरकारी भित्रिएको छ । दैनिक आयात परिमाण बढेर औसत करिब ९०० टन पुगेको छ । उक्त परिमाण सामान्य अवस्थाभन्दा करिब २०० टन बढी हो ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक ६ वटा टोलीबाट अनुगमन गरिरहेको दाबी गरेको छ । ‘उत्पादन पर्याप्त भइरहेकाले हरियो तरकारीको भाउ अब घट्छ । अन्य खाद्यान्नको पनि मूल्य बुझिरहेका छौं । आजकै भोलि तत्काल बढेको देखिँदैन,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘सूचना लिएर कारबाहीमा जान्छौं । उपभोक्ता ठग्नेहरूलाई कारबाही गर्छौं ।’

प्रकाशित : वैशाख १९, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?