कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘निषेधाज्ञाले रोजगारीमा संकट’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारबाट जारी गरिने निषेधाज्ञाले उद्योग व्यवसाय सञ्चालनमा संकुचन आई रोजगारी प्रभावित भई संकट थपिने त्रास बढेको बताएका छन् ।

‘निषेधाज्ञाले रोजगारीमा संकट’

स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई व्यवसायीलाई आर्थिक गतिविधि सञ्चालन गर्न उनको आग्रह छ । ‘चुनौतीपूर्ण घडीमा सतर्कतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य पालना गरी काममा निरन्तरता दिनुको विकल्प छैन,’ उनले भने । श्रमसम्बन्ध सुधारको दिशातिर बढिरहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

१३२औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले शनिबार आयोजित कार्यक्रममा उनले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

राहत कार्यक्रम ल्याउन माग

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल उद्योग परिसंघले कोरोना महामारीबाट उत्पन्न विषम परिस्थितिमा संगठित र असंगठित क्षेत्रका मजदुरका लागि सरकारबाट विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताएको छ । उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्न उद्योगमैत्री वातावरणको सिर्जना गर्न मजदुर दिवस अभियानका रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरिएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट आम नागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य हो भने मजदुर वर्ग स्वयं सचेत बन्न अहिलेको टड्कारो आवश्यकता रहेको परिसंघका अध्यक्ष सतीशकुमार मोरले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । कोरोनाको प्रकोपबाट उत्पन्न समस्याले प्रत्यक्ष रूपमा उद्योग, व्यापार तथा व्यवसायमा प्रभाव परिरहेको उनको भनाइ छ । मानव जीवन र अर्थतन्त्र एकअर्काको पर्याय हुन् भन्ने सोचसाथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?