२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

विदेश अध्ययन–भ्रमण खर्च घट्यो

वैदेशिक अध्ययनका लागि सात महिनामा १५ अर्ब ५७ करोड रूपैयाँ खर्च
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ । कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि यस्तो खर्च घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

विदेश अध्ययन–भ्रमण खर्च घट्यो

गत चैत ११ देखि सरकारले गरेको लकडाउनयता हरेक महिना अध्ययनका लागि नेपालबाट बाहिरिने रकम घटेको छ । नेपालीले भ्रमणका लागि विदेशमा गर्ने खर्च पनि घटेको छ । लकडाउनका कारण स्वदेश तथा विदेशमा हिँडडुल असहज हुनुका साथै अध्ययनका लागि बिदेसिने नेपाली घटेकाले ती शीर्षकको खर्च पनि घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीले १५ अर्ब ५७ करोड रुपैयाँ खर्चेका छन् । गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च करिब २६ प्रतिशत घटेको हो । २०७६ माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीहरूले २० अर्ब ९६ करोड रुपैयाँ खर्च गरेका थिए । यस्तै गत आर्थिक वर्षभरमा वैदेशिक अध्ययनका लागि नेपालीले २५ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु आर्थिक वर्षको सुरुदेखि त्यस्तो खर्चमा सुधार आएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकको गत माघको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएका हो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायत कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ । लकडाउनकै कारण अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा अध्ययका लागि जाने विद्यार्थी घटेकाले वैदेशिक अध्ययनमा हुने खर्चमा कमी आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

गत वर्षको चैतयता नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्च पनि घटेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतमा नेपाल आउने पर्यटकले ३ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । गत वैशाखमा यस्तो खर्च घटेर ९० करोड रुपैयाँमा सीमित भयो । त्यसपछिका महिनामा (जेठ र असार) मा यस्तो खर्च केही बढ्यो । तर चालु आर्थिक वर्षको पहिलो महिना (साउन) देखि यस्तो खर्च पुनः घटेको छ । जसअनुसार गत माघमा यस्तो खर्च ६० करोड रुपैयाँ मात्र छ । लकडाउन सुरु भएपछि नेपाल भित्रिने पर्यटकको संख्या पनि घटेकाले उनीहरूले गर्ने खर्चमा पनि कमी देखिएको अनुसन्धान विभाग प्रमुख श्रेष्ठको भनाइ छ । ‘लकडाउनका कारण सबैभन्दा प्रभावित क्षेत्र नै पर्यटन हो । अर्थतन्त्रका अन्य क्षेत्र लयमा फर्किसके पनि यो क्षेत्र अझै सामान्य अवस्थामा आउन सकेको छैन,’ उनले भने, ‘यसको असर पर्यटकले नेपालमा रहँदा गर्ने खर्चमा पनि देखियो ।’

गत चैतयता विदेश भ्रमणका क्रममा नेपालीले गर्ने खर्चमा पनि कमी आएको प्रतिवेदनमा देखिन्छ । लकडाउनका कारण विदेश भ्रमणमा कडाइ गरिएकाले त्यसबापतको खर्चमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । जसअनुसार गत चैतमा विदेश भ्रमणमा नेपालीहरूले १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । गत वैशाख र जेठमा यस्तो खर्च झन घट्यो । तर गत असारदेखि यस्तो खर्च बिस्तारै बढ्न थालेको छ । लकडाउन खुकुलो भएसँगै विदेश भ्रमणका लागि जाने क्रम पनि बढेकाले त्यसबापतको खर्च बढ्न थालेको जनाइएको छ ।

शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि लकडाउनअघि नै सरकारले विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल भएको थियो । तर यस विषयमा नीति निर्माण तहमा कुनै निर्णय हुन सकेन । पछिल्ला वर्षमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रबाट रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएको भन्दै विदेशमा गरिने अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालियो । यस विषयमा छलफल हुँदै आए पनि मुलुकको चालु खाता र भुक्तानी सन्तुलन घाटामा जान थालेपछि सरकार अलि बढी तातेको थियो । गत आर्थिक वर्षदेखि भुक्तानी सन्तुलन बचतमा र विदेशी विनिमय सञ्चिति बढ्न थालेपछि यो विषय सेलाएको थियो ।

एकै पटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने राष्ट्र बैंकका उच्च अधिकारी बताउँछन् । ‘छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न जानेलाई कुनै अप्ठ्यारो हुँदैन,’ एक अधिकारीले भने, ‘तर घरबाटै सबै खर्च बेहोर्ने गरी गरिएका विदेशी अध्ययन निरुत्साहित गर्ने नीति सरकारको छ ।’ ठूलो रकम खर्चेर विदेश गए पनि ती जनशक्तिबाट रेमिट्यान्स आप्रवाहमा राम्रो योगदान नपुगेको जानकारहरू बताउँछन् । अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडालगायत राष्ट्रबाट कुल रेमिट्यान्समा थोरै रकम (हिस्सा) मात्र आउनुले पनि यो पुष्टि हुने उनीहरूको भनाइ छ ।

प्रकाशित : चैत्र ३०, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?