अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो

६ सय २८ स्थान तल झर्दै २१४१ औं स्थानमा

काठमाडौँ — विश्वभरका धनीहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान खस्किएको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिहरूको ४५ औं सूचीअनुसार चौधरी ६ सय २८ स्थान तल झरेका हुन् । यो वर्ष उनी २१४१ औं स्थानमा छन् । गत वर्ष उनी १५१३ औं स्थानमा थिए ।

अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो

स्थान खस्किए पनि उनको कुल सम्पत्ति भने गत वर्ष जत्तिकै छ । यो वर्ष उनको कुल सम्पत्ति (रियल टाइम नेटवर्थ) १.४ बिलियन अमेरिकी डलर छ । यो अघिल्लो वर्षको बराबर हो । पछिल्लो दुई वर्ष अर्बपतिहरूको सूचीमा उनको स्थान खस्कँदै गएको छ । सन् २०१७ यता उनको सम्पत्ति बढ्दो क्रममै थियो । सोही क्रममा सन् २०१९ मा उनको कुल सम्पत्ति बढेर १.७ बिलियन अमेरिकी डलर पुगेको थियो ।

चौधरी फोर्ब्सको धनीहरूको सूचीमा परेका एक मात्र नेपाली हुन् । सन् २०१३ मा पहिलो पटक अर्बपतिको सूचीमा सूचीकृत हुँदा उनको कुल सम्पत्ति १ बिलियन अमेरिकी डलर थियो । त्यसपछिका वर्षमा उनको सम्पत्ति निरन्तर बढ्यो । यसअनुसार सन् २०१५ मा १.३ बिलियन अमेरिकी डलर पुगेको थियो तर सन् २०१६ मा उनको सम्पत्ति घट्यो । ०७२ सालको विनाशकारी भूकम्प र त्यसलगत्तै भएको भारतीय नाकाबन्दीका कारण उनको सम्पत्ति घटेको थियो । त्यसपछिका वर्षमा भने उनको सम्पत्ति पुन: बढ्न थालेको थियो । कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण यो वर्ष उनको सम्पत्ति बढ्न नसकेको बताइएको छ ।

चौधरी सीजी कर्प ग्लोबलका सञ्चालक हुन् । हाल उनी ६५ वर्षका भए । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालमा रहेको नबिल बैंक र सीजी फुड्स हो । स्वदेश तथा विदेशमा ख्याति प्राप्त वाईवाई चाउचाउ सीजी फुडअन्तर्गतको मुख्य प्रडक्ट हो । हाल नेपाल, भारत, बंगलादेशलगायत राष्ट्रमा वाईवाई चाउचाउ उत्पादन हँदै आएको छ भने इजिप्टमा पनि उत्पादनको तयारी छ । चौधरी ग्रुपअन्तर्गत करिब १ सय ३५ वटा होटल सञ्चालनमा छन् । चौधरीका निर्माण, राहुल र वरुण गरी तीन छोरा पनि व्यवसायमा संलग्न छन् । तीमध्ये निर्माण चौधरी नेपालमै बसेर व्यवसाय सम्हालिरहेका छन् भने राहुल र वरुणले नेपालबाहिरको व्यवसाय हेरिरहेका छन् ।

फोर्ब्सको सूचीअनुसार यो वर्षको विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस बनेका छन् । उनको कुल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर छ । गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलियन थियो । उक्त सूचीमा एलन मस्क दोस्रो स्थानमा छन् । टेस्ला कम्पनीका प्रमुख उनको सम्पत्ति १५१ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी २१ नम्बरमा थिए । त्यतिबेला उनको सम्पत्ति ३५.६ बिलियन थियो । यस्तै, तेस्रो स्थानमा फ्रान्सको फेसन कम्पनीका प्रमुख बनार्ड अर्लन्ट परेका छन् । यो वर्ष उनको सम्पत्ति १५० बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ९४.१ बिलियन अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमै थिए ।

गत वर्ष दोस्रो स्थानमा रहेका बिल गेट्स यो वर्ष चौथो स्थानमा परेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १२४ विलियन अमेरिकी डलर छ । अमेरिकामा माइक्रोसफ्ट कम्पनीका मालिक उनको सम्पत्ति गत वर्ष १०६.५ बिलियन अमेरिकी डलर थियो । यस्तै, फेसबुक कम्पनीका मालिक मार्क जुगरबर्ग यो वर्ष धनीहरूको सूचीमा पाँचौं नम्बरमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ९७ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ८६.५ विलियम अमेरिकी डलर सम्पत्तिसहित चौथो नम्बरमा थिए ।

प्रकाशित : चैत्र २५, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?