पठाओको सेवा बन्द गर्ने निर्णय भयो भनेर हल्ला फैलिएछ, त्यसो होइन : ट्राफिक प्रहरी
काठमाडौँ — गोंगबुमा ट्याक्सी चालकले पठाओ राइडरलाई कुटेपछि फेरि विवाद सिर्जना भएको छ । आफूले भन्दा सस्तो भाडामा यात्रु लैजान खोजेको भन्दै सोमबार राति ट्याक्सी चालक पठाओ राइडरमाथि कुटपिटमा उत्रिएको पठाओले नेपालले जनाएको छ । तर यो विवाद नयाँ भने होइन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा पठाओले यात्रु ठग्न थालेको भन्दै गुनासा आउने गरेका छन् । ‘पठाओलाई व्यवस्थित गर्नेबारे ट्याक्सी व्यवसायीसँग कुरा भएको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, ‘कताकता बन्द नै गर्ने निर्णय भयो भनेर आएछ, त्यसो होइन ।’ कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे महाशाखामा कुरा मात्र भएको उनले प्रस्ट्याए ।
‘ट्याक्सीवालाले पनि यात्रुसँग बढी पैसा माग्ने र नत्र जान नमान्ने गरेका गुनासा आउँथे,’ अधिकारीले भने, ‘अहिले यात्रुसँग पठाओले भाडामा बार्गेनिङ गर्न थाले भनेर गुनासा आउने गरेका छन् ।’ पठाओलाई भीड जम्मा गरेर बस्न नदिने र घरघरमा गएर यात्रुलाई सेवा दिए कुनै आपत्ति नहुने उनको भनाइ छ ।
‘प्रतिस्पर्धा गर्ने, ग्राहक खोज्दै हिँड्ने र यात्रु तानातान गर्न भने भएन, यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले ध्यान दिनेछ,’ उनले भने, ‘पठाओको वैधानिकताबारे पनि विवाद छ, बोलाएर कुरा गर्दा पनि वैधानिकता दिए जस्तो हुन्छ, त्यही भएर गल्ती गर्दा बाटैमा कारबाही गर्ने गरेका छौं ।’
पठाओको पोसाक लगाएर हिँड्न थालेपछि संगठित भए जस्तो देखिएको अधिकारीको भनाइ छ । ‘पोसाक लगाउनेहरू एकजुट भएर आन्दोलन गर्न थाले, यसलाई सिस्टमेटिक भने बनाउनुपर्छ,’ उनले भने । यता पठाओका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले मंगलबार जारी गरेको विज्ञप्तिमा भने सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायसँगको छलफलअनुसार अफलाइन राइडको विकृति निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजरसहितका कपडा) प्रयोग गर्न नदिने निर्देशन भएको उल्लेख छ ।
सोहीअनुसार सबै राइडरले पठाओको लोगो तथा ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ ।
