२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विद्युत्‌को अनलाइन भुक्तानी सेवा प्रदायकलाई कमिसन

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिल भुक्तानी गर्दा सेवा प्रदायकलाई प्रतिकारोबार कमिसन दिने भएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले आइतबार यस्तो निर्णय गरे पनि माइन्युटमा हस्ताक्षर हुन बाँकी रहेको स्रोतको भनाइ छ । यद्यपि प्राधिकरणले ५ सय रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्रै कमिसन दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

विद्युत्‌को अनलाइन भुक्तानी सेवा प्रदायकलाई कमिसन

‘५ सय रुपैयाँभन्दा बढी रकम अनलाइन माध्यमबाट प्राधिकरणलाई तिर्दा प्रतिकारोबार ५ रुपैयाँ कमिसन दिने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘अनलाइन भुक्तानी प्रोत्साहनका लागि कमिसन दिने व्यवस्था गर्न लागिएको हो ।’ यसअघि प्राधिकरणले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई कमिसन दिने गरेको थिएन । ‘हामीलाई यसबारे आधिकारिक जानकारी आइसकेको छैन । तर कमिसन दिने निर्णय सकारात्मक हो,’ भुक्तानी सेवा प्रदायक ई–सेवाको मातृ कम्पनी एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘यसअघि हामीले कमिसन पाउँदैनथ्यौं ।’

पछिल्ला वर्षमा विभिन्न सेवाका लागि अनलाइनमार्फत भुक्तानी गर्ने क्रम बढ्दो छ । प्राधिकरणले ग्राहकबाट उठाउने मासिक विद्युत् महसुल पनि अनलाइनमार्फत तिर्ने चलन बढेको प्राधिकरणको तथ्यांक छ । अहिले मासिक आठ लाख ग्राहकले अनलाइनमार्फत नियमित विद्युत् महसुल बुझाउने गरेका छन् । यसबाट प्राधिकरणले मासिक १ अर्ब रुपैयाँ हाराहारीमा महसुल संकलन गर्दै आएको छ । प्राधिकरणले मासिक रूपमा असुल्ने कुल महसुलको करिब २५ प्रतिशत हो यो । प्राधिकरणले मासिक ४ देखि ५ अर्ब रुपैयाँ महसुल संकलन गर्दै आएको छ ।

प्राधिकरणका कुल ४२ लाख ग्राहकमध्ये करिब ३० प्रतिशतको महसुल मासिक ५ सय रुपैयाँभन्दा कम हुन्छ । बाँकी ग्राहकको विद्युत् महसुल ५ सय रुपैयाँभन्दा बढी हुने अनुमान छ । प्राधिकरणलाई महसुल संकलन गर्न सहज बनाउँदै आएका भुक्तानी सेवा प्रदायकहरूले कमिसनका लागि प्राधिकरणलाई पटकपटक माग गर्दै आएका थिए । अनलाइनमार्फत महसुल भुक्तानी बढ्दा महसुल संकलन काउन्टर थप गर्न नपर्ने, कम जनशक्ति र स्रोत खर्च हुने भन्दै प्राधिकरणले केही वर्षयता अनलाइन भुक्तानीलाई प्राथमिकता दिइरहेको छ ।

प्रकाशित : माघ १६, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?