कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

व्यवसाय नचलेपछि मजदुरी

पुस १९, २०७७

कञ्चनपुर — डडेलधुराको जोगबुडाका राजेन्द्र धानुक दुई दशकदेखि ब्रह्मदेवमा व्यवसाय गरिरहेका छन् । बुवाले सुरु गरेको फेन्सी पसलकै व्यवसायबाट उनले परिवार पालिरहेका थिए । ब्रह्मदेवमा डेरा गरेर व्यवसायसँगै छोराछोरी पढाइरहेका थिए ।

बढ्दो कोरोना संक्रमणका कारण उनको व्यवसाय चौपट भएको छ । भारतीय ग्राहकमा निर्भर व्यवसाय ठप्प भएपछि अहिले उनी मजदुरी गरिरहेका छन् । परिवार पाल्न भए पनि ज्याला मजदुरीको काम गर्नुपरेको उनले बताए । ‘नौ महिनादेखि पसल बन्द छ, घर भाडादेखि बैंकको ऋणसम्म केले तिर्ने,’ धानुकले भने, ‘घर खर्च चलाउनसमेत समस्या भएपछि अहिले ज्याला मजदुरीको काम गरिरहेको छु ।’

धानुकले ब्रह्मदेवमा २०५५ देखि व्यवसाय सुरु गरेका हुन् । यही व्यवसायबाट उनले ६ जनाको परिवार पालेका थिए । छोराछोरीलाई स्कुल पढाउने खर्च पनि यसैबाट चलेको थियो । अहिले व्यवसाय बन्द भएपछि उनी मजदुरी खोज्न कहिले जोगबुडा त कहिले ब्रह्मदेव धाइरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा रहेको ब्रह्मदेव सीमान्त बजार हो । सहिद भीमदत्त पन्तको कर्मथलोका रूपमा चिनिएको यो बजार पूर्णतया भारतीयमा निर्भर छ । बजार क्षेत्रमै रहेको सिद्धबाबा मन्दिरमा पूर्णागिरि मेला लाग्ने गर्छ । यही मेलामा आउने तीर्थयात्रीकै भरमा यहाँको व्यापार व्यवसाय चल्दै आएको थियो ।

गत वर्ष मेला सुरु भएको केही दिनमै नाका बन्द भएपछि सबैथोक ठप्प भएको व्यवसायी बताउँछन् । भारतमा लकडाउन सुरु भएपछि गत चैत ४ मै नाका बन्द भएसँगै यो बजारको व्यवसाय पनि बन्द भएको हो । ‘लकडाउन सुरु भएदेखि बन्द भएका पसल अझै खुलेका छैनन्,’ दुई दशकदेखि ब्रह्मदेवमै व्यवसाय गरिरहेका कर्णबहादुर चन्दले भने, ‘कोही मजदुरीमा लागे, कसैले अरू नै व्यवसाय गरिरहेका छन् ।’ उनले पनि ब्रह्मदेवमा फेन्सी पसल गरिरहेका छन् । तर लकडाउनपछि कारोबार ठप्प भएको उनले बताए ।

चन्दका अनुसार अहिले ब्रह्मदेवका कतिपय व्यवसायी महाकालीमा गिट्टी, बालुवा छान्ने काममा लागेका छन् । कतिपयले घरमा खेतीपातीको काम गरिरहेका छन् । केहीले महेन्द्रनगर बजारमा ठेलामा सामान बिक्री गर्न थालेका छन् । ‘नाका बन्दले सबैभन्दा बढी हामी प्रभावित भएका छौं,’ चन्दले भने, ‘डेरा गरी बस्नेहरू झनै समस्यामा परेका छौं ।’

ब्रह्मदेव बजारमा २ सय ५० पसल छन् । तीमध्ये एक दर्जन जति मात्रै खुलेका छन् । तिनमा पनि कारोबार शून्यप्रायः छ । फागुपूर्णिमादेखि असारसम्म लाग्ने पूर्णागिरि मेलाले यहाँ निकै चहलपहल हुन्थ्यो । अन्य समयमा पनि भारतीयहरूको आउजाउ भइरहन्थ्यो । अंग्रेजी नयाँ वर्ष, पूर्णिमालगायत चाडपर्वमा पनि यहाँ दर्शनार्थीको भीड लाग्ने गर्दथ्यो ।

मेलाका बेला यहाँका व्यवसायीले एक दिनमा एक/डेढ लाख रुपैयाँ बराबरको कारोबार गर्थे । चिनियाँ सामान खेलौना, रेडिमेड कपडा, जुत्तालगायत सामग्रीको माग निकै बढी हुन्थ्यो । भारतीयहरूले यस्तै सामान रुचाउँथे । अहिले ती सामानको बिक्री बन्द भएको छ ।

प्रकाशित : पुस १९, २०७७ ०७:०९
x
×