काठमाडौँ — नेपाल–संयुक्त राज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको पाँचौं बैठकले आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल व्यापारको भूमिकालाई महत्त्व दिनुपर्नेमा जोड दिएको छ ।
नेपाल र अमेरिका दुवै देश डिजिटिल अर्थतन्त्र प्रवर्द्धनमा सहकार्य गर्न सहमत भएका छन् । बैठकमा भएका प्रतिबद्धता कार्यान्वयनका लागि आगामी दिनमा द्विपक्षीय बैठक बस्ने र टिफा काउन्सिलको छैटौं बैठक नेपालमा आयोजना गर्नेमा पनि दुवै सरकारबीच सहमति भएको छ ।
मंगलबार भर्चुअल माध्यमबाट भएको बैठकको सहअध्यक्षता नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र दक्षिण तथा मध्य एसियाका लागि संयुक्त राज्य अमेरिकाका सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले गरेका थिए । दुवै सरकारका प्रतिनिधिमण्डलमा व्यापार, वित्त, श्रम र अन्य निकायका अधिकारी सम्मिलित थिए । बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड र ई–कमर्स, श्रम, वित्तीय सेवा, लगानी प्रवर्द्धन, कृषि उत्पादनको व्यापार अमेरिकाले नेपाललाई उपलब्ध गराएको व्यापार सहुलियतलगायतका द्विपक्षीय व्यापार तथा लगानीसम्बन्धी विविध विषयमा छलफल भएको बिहीबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
दुवै देश एकअर्काका वस्तुको बजार पहुँचका आपसी चासोका विषयमा भइरहेका सहकार्यलाई निरन्तरता दिन सहमत भएका छन् । अमेरिकाको ट्रेड फेसिलिएसन एन्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ बमोजिम सन् २०२५ डिसेम्बर ३१ सम्म नेपालले ७७ वटा वस्तुमा पाएको अमेरिका व्यापार सहुलियत लाभलाई पूर्ण रूपमा उपयोग गर्न नेपाली उत्पादकहरूको क्षमता वृद्धिका लागि प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सहमत भएको वक्तव्यमा उल्लेख छ ।
