१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अरुण तेस्रो जलविद्युतको काम ठप्प, मजदुर आन्दोलित

दीपेन्द्र शाक्य

संखुवासभा — मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन् ।

अरुण तेस्रो जलविद्युतको काम ठप्प, मजदुर आन्दोलित

ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका कारण ड्यामसाइट मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा काम पूर्णरुपमा प्रभावित भएको छ । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायत ड्याम साइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्शनले गरिरहेको छ ।

लामो समयदेखि मजदुरहरुको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरुलाई काम नदिएको उनीहरुको आरोप छ । निर्माण कम्पनीले दैनिक ज्यालाका बारेमा चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै कामदारले काम रोकेका हुन् ।

यसअघि पनि मजदुरहरुले ज्याला बढाउन माग गर्दै काम रोकेपछि तत्कालै बढाउने सहमति भएको थियो । तर नौ महिना बितिसक्दा समेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको आन्दोलन थालेको मजदुरहरुको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ड्यामसाइटमा कार्यरत मजदुरहरुले ज्याला बढाउनुपर्ने माग गरी आन्दोलन गरेको जानकारी पाएको बताए । बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।

गत कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोको कामबाट सन्तुष्ट रहेको बताएका थिए ।

मकालु ५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका २ को पुखुवामा पावर हाउस रहनेछ । पावर हाउस भारतीय पटेल इञ्जिनिरिङ कम्पनीले काम गरिरहेको छ ।

प्रकाशित : मंसिर २२, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?