१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बढ्यो विद्युतीय भुक्तानी

क्यूआर कोडमा आधारित भुक्तानीको परिमाणमा समेत उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक

काठमाडौँ — इन्टरनेटको पहुँच र मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्ला महिनामा विद्युतीय भुक्तानीको संख्या र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विशेष गरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर (क्विक रेस्पोन्स) कोडमा आधारित भुक्तानीको परिमाणसमेत नेपालमा उल्लेख्य बढेको राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले प्रस्ट्याउँछ ।

बढ्यो विद्युतीय भुक्तानी

असोजमा मात्रै क्यूआर कोडबाट मात्रै करिब १ अर्ब भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । क्यूआर कोडमार्फत हुने भुक्तानीको संख्या र कारोबार रकम दुवै उल्लेख्य बढेको छ । राष्ट्र बैंकले साउनयता आफ्नो भुक्तानी तथ्यांकमा क्यूआर कोडमार्फत हुने कारोबारलाई समेट्न थालेको हो । राष्ट्र बैंकका अनुसार साउनमा क्यूआर कोडमार्फत करिब २ लाख भुक्तानी भएका थिए । भदौमा यो संख्या घटेर करिब १ लाख ८० हजारमा घटेको थियो । असोजमा भने क्यूआरमार्फत हुने भुक्तानीको संख्या २ लाख ६५ लाख नाघेको राष्ट्र बैंकको तथ्यांक छ ।

साउनमा क्यूआर कोडमार्फत करिब ५९ करोड भुक्तानी भएको थियो । भदौमा करिब ६५ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । असोजमा भने क्यूआर कोडमार्फत ९६ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ । अहिले प्रायः बैंक र मोबाइल वालेटले क्यूआर कोडमार्फत भुक्तानी गर्ने सुविधा उपलब्ध गराएका छन् । प्रायः बैंकका मोबाइल एप, भुक्तानी सेवा प्रदायक र मोबाइल वालेटहरूले क्यूआर कोडमार्फत भुक्तानी दिन मिल्ने सुविधा उपलब्ध गराएसँगै यसको प्रयोग बढेको जानकारहरू बताउँछन् । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । क्यूआरमा आधारित भुक्तानीको परिमाणसँगै मोबाइल वालेटको भुक्तानी परिमाण पनि बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ ।

तथ्यांकअनुसार साउनमा वालेटमार्फत करिब ७ अर्ब ५८ करोड भुक्तानी भएको थियो । भदौमा यो संख्या घटेर ७ अर्ब ३४ करोडमा झरेको थियो । असोजमा वालेटमार्फत भएको भुक्तानीको परिमाण पुनः ९ अर्ब ८८ करोड पुगेको छ । वालेटसँगै मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि बढ्दै गएको छ । असोजमा मात्रै मोबाइल बैंकिङ सुविधा प्रयोग गरी २८ अर्ब ८० करोडभन्दा बढी भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । यो संख्या भदौमा २० अर्ब ३४ करोड मात्रै थियो । साउनमा १८ अर्ब ३९ करोड मात्रै थियो ।

मोबाइल बैंकिङसँगै इन्टरनेट बैंकिङ प्रयोग पनि बढ्दो अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । इन्टरनेट बैंकिङमार्फत असोजमा मात्रै ६ अर्ब ३१ करोडको कारोबार भएको थियो । भदौमा इन्टरनेट बैंकिङमार्फत ४ अर्ब ७४ करोड र साउनमा ३ अर्ब ८ करोड भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष सुरु भएयता ई–कमर्समार्फत हुने कारोबारको समेत तथ्यांक राख्न सुरु गरेको छ । राष्ट्र बैंकका अनुसार साउनमा मात्रै ई–कमर्समार्फत १ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । भदौमा यो परिमाण घटेर ५६ करोडमा सीमित भएको थियो । असोजमा ई–कमर्समार्फत भएको कारोबार ७९ अर्ब रहेको राष्ट्र बैंकको तथ्यांक छ । कारोबार परिमाणसँगै ई–कमर्सको कारोबार संख्यामा समेत कमी आएको छ । साउनमा ई–कमर्समार्फत १ लाख ६८ हजार वटा कारोबार भएकामा असोजमा १ लाख १३ हजारमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?