अझै टुकीको भर

अनिश तिवारी

सिन्धुपाल्चोक — बिजुलीका तारसँगै बस्तीपिच्छै फलामे खम्बा अनि थोत्रा ट्रान्समिटर । केही घरमा मिटर बक्स पनि राखिएको छ । जताततै लगिएका तार घरमा नजोडिएको पनि होइन । तर त्यहाँ कहिल्यै बिजुली आएन ।

अझै टुकीको भर

‘दुई वर्ष पुग्यो, खम्बा गाडेर तार टाँगेको तर बिजुली बलेन । के खान यो पोल र तार टाँगिएको हो ? अचम्म लाग्छ,’ भोटेकोसी गाउँपालिका–५ मार्मिङ चन्द्रखुकी ७० वर्षीया सुनमाया शेर्पाले भनिन् । जाडो सुरु भएसँगै घाम नलागेपछि सोलार पनि चार्ज गर्न नपाएकी उनी टुकीको भरमा बस्नुपरेको गुनासो गर्छिन् । ‘कतिन्जले यसरी जीवन बिताउनु, कहिले आउँछ हाम्रो गाउँमा बिजुली ?’ उनले प्रश्न गरिन् ।

भोटेकोसी क्षेत्रमा शिवश्री जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पूरा भएलगत्तै २०६६ सालमा बिजुली जोड्ने तयारीसहित खम्बा र तार लगाइएको थियो । ‘केही महिना बिजुली पनि आयो तर पछि फेरि काटियो, त्यसपछि बिजुली फर्किएन,’ स्थानीय ६७ वर्षीय सुनबहादुर शेर्पाले भने । सोलारको भरमा गाउँमा राति आवश्यक परे मात्रै उज्यालो हुने गरेको छ । महँगा सोलार र ब्याट्री पनि अत्यधिक चिसोको कारण प्रायः बिग्रिएपछि विकल्प भनेको टुकी मात्र हुने गरेको चन्द्रखु पल्लो टोलका शेर्पाले बताए । ‘हिउँद र बर्खामा घाम नलागेपछि सोलार चार्ज हुँदैन, टुकीको भरमा जे परे पनि दौडिनुपर्छ,’ उनले भने ।

दोलखा र सिन्धुपाल्चोकको भोटेकोसी–५ बाट चीन क्षेत्र जोड्ने मार्गस्थित गौरीशंकर हिमाल र प्रसिद्ध धार्मिकस्थल देउढुंगा, दामुछे पोखरी पुग्ने पदमार्ग जोड्ने चन्द्रखु गाउँ पुग्नै झन्डै एक दिन लाग्छ । ‘सडक जोडिए पनि हामीले बिजुलीको अभाव व्यर्होनुपरेको छ । यसबारे प्राधिकरणलाई आग्रह गरेका छौं, वडा र पालिकामा पनि निवेदन दिएका छौं, अब चाँडै बिजुली बल्ने प्रतिबद्धता पाएका छौं,’ चन्द्रखु गाउँका अगुवा पेम्बा लामाले भने ।

अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगादेखि तेम्बाथान गाउँबासी अझै टुकी र सोलारकै भरमा छन् । जुगलको गुम्बाथानमा चन्द्रखुमा जस्तै खम्बा र तार टाँगिएको तीन वर्ष भइसक्यो तर बिजुली आएको छैन ।

जुगलको दिपु, तेगा र तेम्बाथानसहित गरी झन्डै २ सय २० परिवार अँध्यारोमै छन् । ‘यहाँ न स्वास्थ्य चौकी छ, न सडक नै जोडिएको छ, बिजुली, नेटवर्कसमेत लाग्दैन,’ तेम्बाथानका साइला शेर्पाले भने ।

प्रकाशित : मंसिर १३, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?