विश्व बैंक र अर्थ मन्त्रालयबीच आर्थिक सम्झौता- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व बैंक र अर्थ मन्त्रालयबीच आर्थिक सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता सम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् । उक्त सहायता अन्तर्गत करिब १८ अर्ब रुपैयाँ (१ सय ५० मिलियन अमेरिकी डलर) बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ ।

सो रकम पूर्वी तराई क्षेत्रमा प्रदेश एक र दुईका र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकाहरुमा खर्च गरिने अर्थमन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए ।

यस्तै, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका लागि उपकरणहरुमा विविधता ल्याउन र वित्तीय सेवाहरुको पहुँचमा वृद्धि गर्नका लागि विश्व बैंकले करिब २४ अर्ब रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोग पनि गरेको छ ।

विश्व बैंकको यो सहयोगले नेपालमा सहरी विकासको सुदृढीकरण, सहरी गुणस्तर विकास र वित्तीय क्षेत्रको स्थिरतामा सुधार पुर्‍याउन सहयोग पुग्ने अर्थसविच ढुंगानाले बताए । दुवै आयोजनाले नेपालमा संघीयता कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड १९ पश्चातको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले राहत, पुनरउत्थान र उत्थानशिल आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा विश्वबैंकले सधै सहयोग पुर्‍याउँदै आएको बताए । यो आर्थिक सहयोगले पनि तत्कालका लागि आवश्यकताका साथसाथै दीर्घकालिन उद्देश्यहरु प्राप्त गर्न र महामारी पश्चात पहिले भन्दा सबल र उत्तम पुननिर्माणका अवसरहरु सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिबद्ध भएको बताए ।

प्रकाशित : मंसिर ३, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना : २ को मृत्यु, २ घाइते

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका-६ गिरीबन्धु चिया बगानस्थित पूर्वपश्चिम लोकमार्गमा बिहान ११ : ४० बजे दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । आपसमा ठोक्किएर अनियन्त्रित भएको एउटा मोटरसाइकललाई ट्रक र स्कारपियोले समेत ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र पश्चिमतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठोक्किएर अनियन्त्रित भएको ४८४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ६ ख ३३५० र को १ च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी उक्त मोटरसाइकलका चालक बुद्धशान्ति गाउँपालिका-३ का २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार ११ वर्षीय दिप्सन कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ४८४७ नम्बरको मोटरसाइकल पछाडि सवार मृतक बालक कँडेलकी आमा ३९ वर्षीया सावित्रा र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-११ का २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । कँडेल आमा–छोरा लिफ्ट मागेर लिम्बूको मोटरसाइकलमा चढेका थिए ।

प्रकाशित : मंसिर ३, २०७७ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×