३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतीय कामदार नहुँदा झापामा इँटा उत्पादन ठप्प

कामदार अभावमा उत्पादन सुरु गर्ने या नगर्ने भन्नेबारे उद्यमीहरूमा अन्योल
कान्तिपुर संवाददाता

काँकडभिट्टा — यति बेला नेपालका इँटा उद्योगमा काम गर्न भारतीय कामदार आइसक्थे । तर यस पटक त्यस्तो छैन । बढिरहेको कोरोना संक्रमणका कारण नाका बन्द हुँदा भारतीय श्रमिक आउन पाएनन् ।

भारतीय कामदार नहुँदा झापामा इँटा उत्पादन ठप्प

भारतीय नआउँदा देशभरका इँटा उद्योगमा श्रमिक अभाव भएको छ । जसका कारण यो वर्ष इँटा उत्पादन नै ठप्प हुने सम्भावना देखिएको छ । भारतीय कामदारको अभावमा उत्पादन सुरु गर्ने या नगर्ने भन्नेबारे उद्यमीहरूमा अन्योल छाएको छ ।

यतिन्जेल भारतीय श्रमिक आइसक्नुपर्ने इँटा उद्योग संघ झापाका अध्यक्ष गुणराज थापाले बताए । तर कोरोना संक्रमणका कारण उनीहरू सीमापार गरेर आउन सकेका छैनन् । यसले गर्दा उद्योग सञ्चालनमा समस्या भएको छ । ‘भारतीय श्रमिक आउन पाएनन् भने इँटा उत्पादन नै ठप्प हुनेछ,’ थापाले भने, ‘नेपाली श्रमिकको भरमा मात्रै उद्योग चलाउन सकिने अवस्था छैन ।’

झापामा २७ वटा इँटा उद्योग छन् । तीमध्ये अहिले २३ सञ्चालित छन् । तर श्रमिक अभावले सबै उद्योगको उत्पादन घटेको थापाले बताए । उनका अनुसार देशभरका करिब १ हजार २ सय उद्योगमा एक लाखभन्दा बढी भारतीय कामदार कार्यरत थिए । त्यसमा झापामा मात्रै करिब ५ हजार हाराहारीमा थिए ।

‘प्राय: इँटा उद्योग भारतीयको भरमा छन्,’ अध्यक्ष थापा भन्छन्, ‘उनीहरूबिना उत्पादन सम्भव छैन ।’ विशेषगरी इँटा उत्पादनको प्राविधिक फाँटमा भारतीय कामदारको बाहुल्य छ । इँटा बनाउनेदेखि पोल्ने काममा उनीहरूको संलग्नता छ । प्राय: कामदार पश्चिम बंगाल, कोचविहार र विहार क्षेत्रका छन् ।

चारपानेको गोरखनाथ र झापा इँटा उद्योगमा मात्रै करिब चार सय भारतीय कामदार कार्यरत थिए । उनीहरू नहुँदा उद्योग सञ्चालनमा आउन नसकेको सञ्चालक मदन मित्तलले जनाए । उनका अनुसार उद्योग सञ्चालनका लागि भारतीय कामदारको आवश्यकता पर्ने भन्दै केही समयअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र कानुनमन्त्री हिक्मत कार्कीसँग भेट गरी उद्योगीहरूले आफ्नो गुनासो सुनाएका थिए ।

उद्योगीहरूले नाकाबन्दीका कारण रोकिएका भारतीय कामदारलाई नेपाल प्रवेश गराउने वातावरण मिलाइदिन माग गरेका थिए । ‘हाम्रो माग सुनेपछि मुख्यमन्त्री र कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँछौ भन्नुभएको थियो,’ मित्तलले भने, ‘तर अहिले के हुँदै छ, थाहा छैन ।’ इँटा बनाउने उद्योग मौसमी हो । वर्षायाममा उत्पादन हुँदैन । हिउँदका करिब ६ महिना मात्रै काम हुन्छ । कात्तिकदेखि वैशाखसम्म इँटा उत्पादनको उपयुक्त समय मानिन्छ । जेठपछि उत्पादन ठप्प हुने गर्छ ।

यसपटक भने कोरोना संक्रमणका कारण सरकारले देशव्यापी लकडाउन गर्दा चैतबाटै उद्योग बन्द गर्नुपरेको अध्यक्ष थापाले जनाए ।

प्रकाशित : कार्तिक १६, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?