कोराकले बेच्छ करोडका खसीबोका- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोराकले बेच्छ करोडका खसीबोका

केही वर्षअघिसम्म विकट गाउँका रुपमा परिचित थियो– कोराक । अहिले पनि अवस्थामा ठूलै परिवर्तन भएको छैन । आर्जनमा भने अगाडि बढेको छ ।
रमेशकुमार पौडेल

चितवन — कोराक चितवनको पहाडी गाउँ हो । चेपाङ र तामाङ समुदायको बसोबास भएको यहाँ अन्य जातिको फाट्टफुट्ट बसोबास छन् । अन्न राम्रो नफल्ने, यातायात पनि नपुगेको यो ठाउँ केही वर्षअघिसम्म विकट गाउँका रूपमा परिचित थियो ।

अहिले पनि अवस्थामा ठूलै परिवर्तन भएको छैन । तर आर्जनमा भने अगाडि बढेको छ । यो ठाउँमा बाख्रापालन फस्टाएको छ । बाख्रा बेचेर वर्षमा एक करोड रुपैयाँभन्दा धेरै गाउँ भित्रिन्छ ।

कोराक खहरेको कमिन चुली महिला बचत तथा ऋण सहकारी संस्थाले बाख्रापालनका लागि आफ्ना सेयर सदस्यलाई उत्प्रेरित गर्दै आएको छ । बाख्रा खरिद गर्न ऋण दिने, नश्ल सुधारका कार्यक्रम ल्याउने र खसीबोकाको बजार खोज्ने कामसमेत सहकारीले गर्दै आएको अध्यक्ष अम्बिका लामाले बताइन् । ६ वर्षअघि खुलेको सहकारीमा ८ सय ८५ जना सेयर सदस्य छन् । प्रायःका घरमा बाख्रा देखिन थालेको छ ।

गत वर्ष सहकारीले ९ सय ४४ वटा खसी बिक्री गरेको सहकारीकी व्यवस्थापक शान्ति तामाङ थियो । जसबाट एक करोड तीन लाख नौ हजार ६ सय ३७ रुपैयाँ बराबर आम्दानी भयो । ‘यो भनेको सहकारीमार्फत जजसले खसीबोका बिक्री गर्नुभयो, उहाँहरूको विवरण राख्दा देखिएको हिसाब हो । किसानले सिधै खसीबोका बिक्री पनि गर्छन् । त्यसैले गाउँबाट योभन्दा धेरै खसी बिक्री भएका छन्,’ व्यवस्थापक तामाङले भनिन् ।

सहकारी ६ वर्षअघि खुले पनि बाख्रापालनका क्षेत्रमा लगानी र कार्यक्रम गर्न थालेको दुई वर्ष जति मात्रै भएको छ । गत वर्ष खसीबोका जोखेर बिक्री गर्ने नियम बन्यो । यसले गर्दा किसानले उचित मूल्य पाउन थालेको अध्यक्ष लामाले बताइन् । ‘गत वर्षकै कुरो हो, एक जना किसानले नौवटा खसी व्यापारीलाई दिन लाग्दा ९० हजार रुपैयाँ दिन्छु भनेछ । यहाँ जोखेर बेच्दा त्यसको मूल्य एक लाख १४ हजार पर्‍यो,’ लामाले भनिन् ।

सहकारीबाट सुविधा हुन थालेपछि किसान बिक्रीका लागि सहकारी नै आउने बढेको उनको भनाइ छ । ‘नभए घरघरबाटै बिक्री हुन्थ्यो । अझै पनि हुन्छ । वर्षमा एक डेढ लाखदेखि चार लाख रुपैयाँसम्म खसी बोका बेचेरै कमाउँछन्,’ उनले भनिन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको खुरखुरे वा वीरेन्द्रनगरबाट उत्तर ११ किलोमिटर हिँडेपछि कोराक टेकिन्छ । गाउँमा १० वर्षयता बाटोघाटो विस्तार भएपछि बल्ल चहलपहल बढेको उनले बताइन् । ‘नभए सुविधा केही थिएन । उब्जनी हुन्थेन । मान्छेहरू पढेलेखेका थिएनन् । दुःख गरेर गुजारा गर्दथे । जागिर खाउँला थिएन । उही ज्यालामजदुरी गरेर चामल किन्ने खाने । नसके गिट्ठा भ्याकुरले गुजारा चलाउने न हो,’ लामाले भनिन् । बाटो गयो, पिच भयो त्यसपछि गाउँलेले टनेलमा तरकारी खेती र बाख्रापालन सुरु गरेको उनले बताइन् ।

सुरुमा स्थानीय जातका ससाना बाख्रा थिए । घामपानी ओत्ने छाप्रो बनाएर बाख्रा बाँध्ने चलन थियो । ‘अहिले विकासे जातका बाख्रा अनि बोका गाउँमा छन्,’ लामाले भनिन् । गाउँ पस्ने गाडीले खसी र तरकारी बोक्न थालेका छन् । कोराक खहरेका दिलबहादुर चेपाङ घर बनाउने काम गर्न जिल्ला बाहिर जान्छन् । विदेश पनि गएर आए । श्रीमती मनमाया चेपाङले भने राम्रो खोर बनाएर बाख्रापालन गरेकी छन् । ‘अब विदेश गएर कमाएको जस्तो टन्न त के हुन्थ्यो र तर बाख्रा राम्रोसँग पाल्दा काम गर्न विदेश नै जाऊँ भन्ने हुँदो रहेनछ । आम्दानी चित्तबुझ्दो नै छ,’ दिलबहादुरले भने । खहरेकै युवराज मोक्तान पनि विदेशबाट फर्केर अहिले घरमै छन् ।

‘विदेशमा महिनाको ६० हजार कमाइ हुन्थ्यो । तर उमेर ढल्कँदै गयो । सधैं विदेश बस्न नसकिने । घर फर्केर दुई वर्षयता बाख्रा पाल्न थालेको छु,’ युवराजले भने । उनको खोरमा १४ वटा बाख्रा छ । गत वर्ष उनले सवा लाख रुपैयाँ जतिको खसीबोका बिक्री गरे । यो वर्ष पनि १० वटा खसी छन् । बाख्रा पालेसँगै तरकारी खेती र अन्य जंगलले घेरिएको ठाउँ भएको हुँदा चराउन र घाँस जुटाउन गाह्रो छैन । बाख्रा पाल्न थालेपछि महिलासँग पुरुष पनि मिलेर आम्दानीको काम गर्न थालेको सहकारी अध्यक्ष लामा बताउँछिन् ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

एउटै पालिकामा ५५ सय खसीबोका बिक्रीका लागि तयार

हरिहरसिंह राठौर

सिद्धलेक (धादिङ) — धादिङको सिद्धलेकका महिलाहरू यो वर्षको दसैंमा ५ हजार ५ सय वटा खसीबोका बेच्ने तयारीमा छन् । स्थानीय उपहार महिला कृषक सहकारीले बेच्नलायक खसीबोकाको विवरण तयार गरिसकेको छ ।

विवरणअनुसार यो संख्या सिद्धलेकका ६ संकलन केन्द्रमा बेच्न ल्याइने खसीबोका मात्रै हो । काठमाडौंको कलंकी, टुकुचालगायतका खसी बजारमा बेच्न आफैं लैजाने र गाउँमै काट्नेको संख्या यसमा समावेश छैन ।

सिद्धलेकका १ हजार ५ सय महिलाले गत वर्ष दुई हजार खसीबोका बेचेर दसैंतिहारमा २ करोड रुपैयाँ हाराहारीमा आम्दानी गरेका थिए । यसपालि गत वर्षको भन्दा साढे दुर्ई गुणा बढी रकम स्थानीय सहकारीमार्फत महिलाले पाउनेछन् । खसीबोका बेच्न उनीहरूलाई बजार डुल्न पनि आवश्यक छैन । यसपालि महिला सहकारीले किसानलार्ई घरमै डिजिटल तराजु उपलब्ध गराएको छ । केन्द्रसम्म ल्याउने व्यवस्था पनि मिलाएको छ ।

बाख्रापालन परियोजना सञ्चालन गरेको हेफर इन्टरनेसनलले सहकारीलाई खसीबोका ढुवानी गर्न यो वर्ष एग्रो एम्बुलेन्सका रूपमा प्रयोग गर्न ३५ वटासम्म खसी ढुवानी गर्न मिल्ने जिप पनि हस्तान्तरण गरेको छ । खसीबोका संकलन केन्द्रमा जोख्ने उपकरण पनि राखिएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० देखि ६ सय १० रुपैयाँसम्म तोकिएको सहकारीले जनाएको छ । गत वर्षको दसैंमा खसीबोका बेचेर ९० हजार हात पारेकी सिद्धलेक–५ स्याँगुटारकी हिरामाया घलेले अहिले १० वटा खसी बेच्न तयार गरेकी छिन् । यस पटक डेढ लाख रुपैयाँ हात पर्नेमा उनी ढुक्क छिन् ।

यसैबीच १० वटा खसी पालेर बेचेको प्रमाण देखाउने किसानलाई १ लाख नगद प्रोत्साहनस्वरूप अनुदान दिने निर्णय गरिएको गाँउपालिका अध्यक्ष प्रेम सिलवालले बताए । उक्त अनुदान पाउन हालसम्म ६ जनाको दाबी परिसकेको उनले जानकारी दिए । सहकारीमा १ हजार ७ सय ७४ महिला आबद्ध ५९ वटा समूह गठन भएका छन् । यी समूहमा १८ देखि २७ जना सदस्य छन् । सबै सदस्यले पालेका बाख्रा १७ हजारभन्दा बढी छन् । त्यसबाहेक अन्य किसानले समेत गाउँपालिकामा ४० हजार बाख्रा पालेका छन् ।

हरेक महिला सदस्यलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेसनलको सहयोगमा स्थानीय संस्था प्रयास नेपालले दुई वटा माउ बाख्रा उपहार दिने गरेको छ । उपहारबाट महिलाले डेढ वर्षमा अर्को सदस्यलाई बाख्रा फिर्ता गर्छन् । उनीहरूले स्थानीय खरी र जमुनापारी जातका बाख्रा पालेका छन् । महिलाहरूले बारीमा रैथाने डालेघाँस पनि रोपेका छन् ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×