कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल फर्किएकालाई सघाउँदै एनआरएनए

आश्विन २०, २०७७
नेपाल फर्किएकालाई सघाउँदै एनआरएनए

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्किएकालाई रोजगारीमा सहयोग गर्ने भएको छ । फर्किएका करिब ५ लाख नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी बृहत् अभियान सञ्चालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गरिने भएको हो ।

शनिबार र आइतबार सम्पन्न एनआरएनएको १३ औं युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले यस्तो निर्णय गरेको हो ।

भर्चुअल माध्यमबाट आयोजित सम्मेलनले सन् २०१९ मा नेपाल सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एनआरएनएले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको थियो । उक्त कोष स्थापना गर्न देखिएका कानुनी एवं प्रक्रियागत अड्चन हटाइदिन सरकारसँग अनुरोध गर्दै युरोपस्थित नेपालीलाई उक्त कोषमा लगानी गर्नसमेत सम्मेलनले आह्वान गरेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ पारित भई संसद्मा विचाराधीन छ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसँग जोड्ने प्रावधानसहित सक्दो छिटो ऐन पारित गर्न सबै सांसद तथा प्रमुख राजनीतिक दललाई बैठकले आग्रह गरेको छ ।

युरोपले एक अल्पविकसित मुलुकका रूपमा नेपाललाई सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिए पनि यसको पर्याप्त उपयोग गर्न सकिएको छैन । नेपालका हस्तकला, पस्मिना, चिया, कफीलगायतका उत्पादनको निर्यात युरोपेली बजारमा वृद्धि गर्न र आआफ्नो घरमा नेपाली उत्पादनको प्रयोग बढाउन प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरूले विशेष भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ । संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न धेरैजसो देशसँग दोहोरो कर तिर्नु नपर्नेसम्बन्धी सन्धि, लगानी प्रवर्द्धनसम्बन्धी सन्धि गर्न सरकारलाई आग्रह गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारका रूपमा काम गर्न एनआरएनए तत्पर रहेको बताइएको छ । उक्त रणनीतिमा आन्तरिक पर्यटनसँगै एनआरएन पर्यटनको विषयलाई अरू स्पष्ट रूपमा उल्लेख गर्न बैठकले अनुरोध गरेको छ ।

केही वर्षदेखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहकलगायत सबै नेपाली वायुसेवालाई युरोपका आकाशमा उड्न प्रतिबन्ध लगाइरहेकामा सक्दो छिटो प्रतिबन्ध हटाई युरोपेली आकाश खुला गर्न भइरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न बैठकले आग्रह गर्ने पनि निर्णय गरेको छ । नेपालीहरूको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्यान्ड र पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न आह्वानसमेत गरिएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ ०७:१६
x
×