अब वालेटबाट रेमिट्यान्स सेवा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब वालेटबाट रेमिट्यान्स सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — अब विदेशबाट विद्युतीय माध्यम (वालेट) बाटै रेमिट्यान्स पठाउन पाइने भएको छ । राष्ट्र बैंकले मंगलबारदेखि लागू हुने गरी गरेको व्यवस्थाले यस्तो सुविधा मिलेको हो । यसअघि विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै पठाउनुपर्थ्यो । नयाँ व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहाँको वालेटबाटै नेपाली वालेटमा पैसा पठाउन पाउनेछन् ।

मानौं, मलेसियामा कार्यरत नेपालीले रेमिट्यान्स पठाउँदा यहाँको इसेवा, आईएमई पे जस्तै स्थानीय भुक्तानी सेवा प्रदायकको (वालेट) एप डाउनलोड गर्नुपर्नेछ । सोही एपमार्फत सिधै नेपालमा ई–सेवा, आईएमई पेलगायत भुक्तानी सेवा प्रदायकको अनुमति पाएका कम्पनीको खातामा पैसा पठाउन सकिनेछ । अब रेमिट्यान्स पठाउनकै लागि कामदार रेमिट्यान्स कम्पनी वा बैंकसम्म धाइरहनु पर्दैन । कामदारले आफू रहेकै स्थानबाट आफूलाई पायक पर्ने समयमा सिधै आफन्तको वालेटमा पैसा पठाउन सक्नेछन् ।

विद्युतीय माध्यमबाट रेमिट्यान्स ल्याउन सकिने व्यवस्था डिजिटलाइजेसनमा ठूलो फड्को भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्र बताउँछन् । ‘अब औपचारिक माध्यमबाट धेरै रेमिट्यान्स भित्रिन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘झन्झटरहित भएकाले धेरै नेपालीलाई पैसा पठाउन सजिलो हुनेछ ।’ यो नयाँ व्यवस्था रेमिट्यान्सको क्षेत्रमा एउटा सकारात्मक कदम भएको नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए । ‘राम्रो सुरुवात भएको छ,’ उनले भने, ‘आउँदा दिनमा धेरै रेमिट्यान्स भित्र्याउन यो व्यवस्था सहयोगी हुनेछ ।’ कामदारहरूले आफू रहेकै स्थानबाट चाहेको समयमा पैसा पठाउन सक्ने भएकाले धेरै सजिलो छ । समय र पैसाको पनि बचत हुने राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलको दाबी छ । ‘रेमिट्यान्सको क्षेत्रमा ठूलो उपलब्धि हो यो,’ उनले भने, ‘यो व्यवस्थाले विदेशमा बस्ने नेपालीलाई बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्छ ।’

विद्युतीय माध्यमबाट रेमिट्यान्स भित्र्याउने काम नयाँ भने होइन । करिब तीन वर्ष अघिदेखि नै केही रेमिट्यान्स कम्पनीले ‘वालेट’ मार्फत रेमिट्यान्स पठाउने प्रणाली सुरु गरिसकेका छन् । तर यसअघि उताबाट वालेटबाट पैसा पठाए पनि नेपालमा बैंक खातामै जम्मा गर्नुपर्थ्यो । अब सिधै वालेटमै पठाउन सकिने भएको हो । तर पैसा पठाउने र पाउने दुवै वालेट अटोमेटिक रूपमा बैंक खातासँग आबद्ध हुनुपर्छ । यो व्यवस्थामार्फत पैसा पठाउँदा वालेटमा बढीमा २५ हजार रुपैयाँ मात्र राख्न पाइनेछ । विदेशबाट भने जति रकम पनि वालेटमा पठाउन पाइन्छ । तर नेपालमा आइसकेपछि वालेटमा रहेको २५ हजार रुपैयाँभन्दा बढी रकम सिधै बैंक खातामा जाने व्यवस्था छ ।

‘विदेशबाट पठाएको रकम प्राप्त गर्ने व्यक्तिले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेटमा रहने तोकिएको सीमाभन्दा बढी रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्वतः स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्ने,’ निर्देशनमा भनिएको छ । यो प्रक्रियामा पनि प्रचलित कानुनबमोजिम गर्नुपर्ने एएमएल/सीएफटीसम्बन्धी व्यवस्थाको परिपालना गर्नुपर्ने पनि निर्देशनमा छ । कारोबार गर्दा विवरण गल्ती भई कारोबार सम्पन्न हुन नसकेको अवस्थामा स्वचालित तवरले फिर्ता हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो नेपाली मुद्रामा ०.५ प्रतिशतले र अमेरिकी डलरमा ३.३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्समार्फत ८ खर्ब ७९ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । यो करिब साढे १६ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्ष नेपाल भित्रिएको रेमिट्यान्समा कोभिड–१९ को असर खासै देखिएन । अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आर्थिक वर्षमा पनि रेमिट्यान्स आएपछि कोभिडको असर नदेखिएका रूपमा विश्लेषण गरिएको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण नेपाल भित्रिने रेमिट्यान्स १० देखि १५ प्रतिशतले घट्ने अनुमान थियो । तर गत आर्थिक वर्षमा अमेरिकी डलरमा करिब ३ प्रतिशतले मात्र रेमिट्यान्समा कमी आयो । नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।

प्रकाशित : आश्विन ९, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

आयातमा डिजेललाई उछिन्यो मोबाइलले

दुई महिनामा करिब ९ अर्ब रूपैयाँको मोबाइल आयो
निर्यातमा भटमासको तेल अगाडि
राजु चौधरी

काठमाडौँ — डिजेल र पेट्रोलको आयातलाई उछिन्दै दुई महिनाको अवधिमा सबैभन्दा बढी मोबाइल सेट आएको छ । आर्थिक वर्ष ०७७/७८ को पहिलो दुई महिनामा २० अर्ब ४४ लाख रुपैयाँको सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

त्यसमा सबैभन्दा बढी ७ अर्ब ९४ करोड रुपैयाँको मोबाइल रहेको विभागले जनाएको छ । यो डिजेल आयात भएको रकमभन्दा बढी हो । भन्सारको विवरणअनुसार दुई महिनामा ५ अर्ब ५ करोड रुपैयाँको डिजेल आएको छ ।

‘विगतमा मोबाइल सेटको आयात १० नम्बरभित्र पनि परेको थिएन । आयातमा पहिलो नम्बरमा डिजेल हुन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘तर चालु आर्थिक वर्षको पहिलो दुई महिनामा डिजेललाई मोबाइलले उछिन्यो । डिजेलको आयात दोस्रो नम्बरमा देखियो ।’ कोभिडका कारण सरकारले लकडाउन गरेपछि मोबाइल आयात हुन सकेन । लकडाउन खुकुलो भएसँगै यसको माग बढ्यो । तर अन्तर्राष्ट्रिय उडान भएनन् । सवारीसाधन पनि चलेनन् ।

कोरोना संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेको थियो । त्यसले समग्र व्यापार व्यवसाय तहसनहस भयो । लकडाउनका बेला अत्यावश्यक वस्तुबाहेक अन्य सामग्रीको आयात सहज बनेन । बैंक, भन्सार कार्यालय र बन्दरगाहमा पर्याप्त कर्मचारी थिएनन् । लकडाउन खुकुलो बनाए पनि विभिन्न ठाउँमा निषेधाज्ञाले व्यवसायीलाई सामान आयात गर्न सहज थिएन । अहिले निषेधाज्ञा खुलेसँगै केही चहलपहल बढेको व्यवसायी बताउँछन् ।

विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँको मोबाइल सेट आयात भएको थियो । वर्षभर १८ अर्ब १७ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । डिजेलपछि खाना पकाउने एलपी ग्यास र पेट्रोल आयातमा ३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ । ३ अर्ब ४० करोड रुपैयाँको पेट्रोल र १८ करोड रुपैयाँको हवाई इन्धन आयात भएको छ । ‘ग्रुपअनुसार होइन, प्रोडक्टमा हेर्दा मोबाइल सेट नै पहिलो नम्बरमा आयात भएको छ,’ ती अधिकारीले भने ।

निर्यातमा भने सबैभन्दा भटमासको तेल अगाडि छ । दुई महिनाको अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँको तेल निर्यात भएको छ । भटमास भारत निर्यात हुन्छ । यस्तै प्रशोधित पाम तेलको निर्यात पनि उत्साहजनक थियो । पाम तेलको बजार पनि भारत नै हो । पछिल्लो समय भारतले बन्देज लगाएको विभागले जनाएको छ ।

२० अर्बको निर्यात हुँदा पौने दुई खर्बको आयात

२० अर्ब रुपैयाँको निर्यात हुँदा १ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि खुम्चिएको छ । ०७६/७७ को पहिलो दुई महिनामा वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रुपैयाँ भएको भन्सार विभागको तथ्यांक छ । ०७७/७८ को दुई महिनामा वैदेशिक व्यापार १९.६४ प्रतिशतले खुम्चिएर १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।

आयात पनि २२ प्रतिशत घटेर १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ । ०७६/७७ को दुई महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात भएको थियो । निर्यातमा भने साढे १० प्रतिशतले बढेको विभागको तथ्यांक छ । ०७७/७८ को दुई महिनामा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा १८ अर्ब ५० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । व्यापार घाटा करिब २५ प्रतिशत घटेको छ ।

०७६/७७ को दुई महिनामा २ खर्ब ११ अर्ब रुपैयाँ घाटा रहेकामा ०७७/७८ मा घाटा घटेर १ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ । ‘दुई महिनामा निर्यात बढेको छ, आयात घटेको छ । यो देशका लागि राम्रो हो । पछिल्लो समय राजस्व उठ्न थालेको छ । चाडबाडका लागि सामान आयात हुन थालेको छ,’ ती अधिकारीले भने, ‘यसले आयात वृद्धि भइरहेको देखाउँछ ।’

प्रकाशित : आश्विन ९, २०७७ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×