‘सम्धी’ लाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

‘सम्धी’ लाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो

कोइराला सञ्चालकमा नियुक्त भएपछि बैंक सञ्चालक समितिका चार बैठक बसिसके । कुनैमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन ।
यज्ञ बञ्जाडे

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने प्रस्ताव सेलाएको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए ।

विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब महिना दिनसम्म पनि बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।

मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछि बैंक सञ्चालक समितिको बैठक (भदौ १० गते बुधबार) मा कोइरालालाई अध्यक्ष चयन गर्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाका विषयमा चौतर्फी विरोध भएपछि बुधबार बैठक बस्न सकेन । स्थगित बैठक बिहीबार बस्यो । बैठकमा अध्यक्ष चयनको प्रस्ताव राखिएन । स्रोतका अनुसार उक्त बैठकमा कोइरालाले नै नआउने बताएपछि अध्यक्ष नियुक्तिको प्रस्ताव नराखिएको हो । त्यसपछि पनि सञ्चालक समितिका तीन वटा बैठक बसिसकेका छन् । ती बैठकमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन । पछिल्लो बैठक बुधबार (भदौ ३१) मा बस्यो । उक्त बैठकमा पनि अध्यक्ष नियुक्तिको प्रस्ताव नभएको बैंक स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयबाटै अहिले उक्त प्रस्ताव नराख्नू भन्ने निर्देशन आएकाले बैंक व्यवस्थापनले सञ्चालक समितिमा अध्यक्ष नियुक्त प्रस्ताव नलगेको बताइएको छ । हाल बैंकमा अध्यक्ष पद खाली छ । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि अध्यक्ष पद खाली भएको हो । सोही पदमा कोइरालालाई नियुक्त गर्ने अर्थ मन्त्रालयको तयारी हो । तर कोइरालाको विवादास्पद छविलाई लिएर चौतर्फी विरोध भएपछि बैंकले अझै अध्यक्ष चुन्न सकेको छैन । हाल अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सहसचिव धनीराम शर्माले बैठकको अध्यक्षता गरिरहेका छन् । अध्यक्ष चयनमा किन ढिलाइ भएको हो ? बैंक स्रोत भन्छ, ‘अर्थ मन्त्रालयबाटै नै अहिलेलाई सो प्रस्ताव अघि नराख्नू भन्ने निर्देशन आएको छ । त्यसको कारण थाहा भएन ।’ नियमित कामका लागि पनि हरेक साता कम्तीमा एक पटक बैंक सञ्चालक समितिको बैठक बस्दै आएको छ ।

कोइरालालाई अध्यक्ष बनाउन नचाहेर बैठकमा प्रस्ताव नलगिएको भने होइन । उनको विषयमा चर्को विरोध भएकाले यही बेला नियुक्त गर्दा नराम्रो सन्देश जाला भनेर रोकिएको स्रोतले बताएको छ । ‘कोइरालाको विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जाल तातेको छ,’ स्रोतले भन्यो, ‘विरोध केही कम होस् भनेर पर्खिएको मात्र हो ।’

नेकपाको पार्टी पंक्तिमा उच्च तहका नेतासँगको कोइरालाको सम्पर्क र उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकै कारण पनि बैंकले उनलाई नै अध्यक्ष बनाउने स्रोतको दाबी छ । ‘यति बेला सञ्चालक समिति उपयुक्त समयको पर्खाइमा छ,’ स्रोतले भन्यो, ‘ढिलोचाँडो कोइराला नै अध्यक्ष हुनेछन् ।’ सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । यसकारण पनि उनीहरूले सरकार (अर्थ मन्त्रालय) को निर्णय मान्नैपर्ने स्रोतको भनाइ छ । अर्थ मन्त्रालयले कोइरालालाई चार वर्षका लागि नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।

सञ्चालकमा नवनियुक्त कोइरालाले भने बैंकबाट खबर नआएकाले सञ्चालक समितिको बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिए । ‘नियुक्त भएलगत्तै बसेको बैंक सञ्चालक समिति बैठकमा म आफैं उपस्थित नभएको हुँ,’ उनले भने, ‘त्यसपछिका बैठकका लागि बैंकबाट खबर आएको छैन ।’ तपाईंले अध्यक्ष बन्न इन्कार गरेको त होइन नि भन्ने जिज्ञासामा कोइरालाले भने, ‘सरकारले जिम्मेवारी दिएपछि किन नलिनु, तपाईंलाई नियुक्त गरेको भए छोड्नुहुन्थ्यो र ?’

कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए । उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक लाभको पद पाउने गरेको टिप्पणी हुने गरेको छ ।

कोइराला निकटहरू उनलाई शक्तिकेन्द्रको पहुँचका आधारमा पद हत्याउने व्यक्तिका रूपमा लिन्छन् । तत्कालीन एमालेको अल्पमतको सरकार ०५१ सालमा बनेसँगै कोइरालाले पनि राजनीतिक नियुक्तिका लागि पाइला चाले । उनी ०५१ माघ ५ देखि ०५२ मंसिर ३ गतेसम्म खाद्य संस्थानको महाप्रबन्धक बने । हाल रूपान्तरण भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका एक कर्मचारीका अनुसार उनले खाद्य संस्थानलाई नजिकका मानिस र कार्यकर्ता नियुक्त गर्ने भर्तीकेन्द्र बनाएका थिए । झन्डै एक वर्ष मात्रै उनले खाद्य संस्थानमा बिताए ।

विराटनगर घर भएका कोइराला ०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको प्रमुख बने । क्याम्पस प्रमुख हुँदा उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा परियोजनाको बजेट घोटाला गरेको आरोपमा विश्वविद्यालयले उनीमाथि छानबिन गरेको थियो । त्यो परियोजनाको क्लस्टर कार्यक्रमका लागि निकासा भएको बजेटमा अनियमितता गरेको आरोप उनीमाथि थियो । सूर्यमणि अधिकारीको नेतृत्वमा बनेको छानबिन समितिले उनलाई तत्काल निलम्बन गर्न र पदबाट हटाउन सिफारिस गर्‍यो । तर उनलाई कारबाही नगरी प्रतिवेदन गुपचुपमै राखियो ।

तत्कालीन एमाले शाही सरकारमा गएपछि ईश्वर पोखरेल आपूर्तिमन्त्री बने । त्यसपछि कोइरालाले आयल निगममा कार्यकारी अध्यक्षमा नियुक्ति पाए । त्यहाँ पनि उनले विवादरहित काम गर्न सकेनन् । आयल निगममै हुँदा गैरकानुनी लाभ लिएर २३ जना कर्मचारीलाई कामु जिम्मेवारी दिएर निगमलाई नोक्सानी पुर्‍याएको आरोपमा कोइरालाविरुद्ध अख्तियारमा उजुरी पर्‍यो । अख्तियारले ०६४ माघ १३ मा कोइरालाको निर्देशन पालना गर्ने निर्देशक बच्चुकुमार काफ्ले र बेनुविक्रम पन्तलाई विभागीय कारबाहीका लागि पठायो । त्यतिन्जेल कोइरालाले निगम छाडेर उच्च माध्यमिक शिक्षा परिषद्मा अर्को नियुक्ति लिई विवादित भएर पनि राजीनामा गरिसकेका थिए ।

कोइरालाले ०६३ मा फेरि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षको जिम्मेवारी पाए । त्यहाँ पनि चारवर्षे कार्यकाल पूरा गर्न सकेनन् । कक्षा ११ र १२ को परीक्षा सञ्चालनका क्रममा आवश्यक उत्तरपुस्तिकाभन्दा कम छपाएर मातहतका केन्द्रमा पठाई बढी देखाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । पछि चलखेल गरेर उनलाई जोगाइयो ।

राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त हुनुअघि कोइराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति थिए । त्यहाँ पनि उनी विवादरहित हुन सकेनन् । यसअघिका सबै नियुक्तिमा विवादित भएकै कारण अहिलेको नियुक्तिलाई लिएर कोइरालाको सबैतिर विरोध भएको हो ।

प्रकाशित : आश्विन १, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्

२०७२ वैशाख १२ पछि ५० हजारभन्दा बढी परकम्प 

विज्ञ भन्छन्– ‘परकम्पहरु आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न अझै समय लाग्छ’
अब्दुल्लाह मियाँ

काठमाडौँ — सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन ।

पुन:निर्माणको अन्तिम चरणमा रहेको रानीपोखरी बीचको मन्दिर बनाउनका लागि बुधबार इँटा बोक्दै महिला । ०७२ को भूकम्पपछि गरिनुपर्ने अधिकांश पुननिर्माण बाँकी नै छन् । भूकम्प प्रतिरोधी संरचना बनाउन भवन संहिता २५ वर्षपछि अद्यावधिक गरिए पनि प्रमाणीकरण हुन नसक्दा अझै जोखिमपूर्ण संरचना बनिरहेका छन् । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

२०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म ५० हजारभन्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् ।

‘हो, बुधबारको कम्पन पनि गोरखा भूकम्पकै आफ्टरसक हो,’ युनिभर्सिटी अफ पेरिस (फ्रान्स) बाट ‘गोरखा भूकम्पपछिका परकम्प’ बारे विद्यावारिधि गरिरहेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बुधबार कान्तिपुरसँग भने, ‘बारपाक केन्द्रबिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूकम्प गइरहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’

केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

केन्द्रले २ म्याग्निच्युडभन्दा साना कम्पनको भने रेकर्ड राख्दैन । साना कम्पनहरू लाखौं गएका हुन सक्छन् । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको कम्पन भने २०७२ जेठपछिको सबैभन्दा ठूलो परकम्प हो । यसअघिका सबैजसो परकम्प ६ म्याग्निच्युडभन्दा साना थिए । २०७२ जेठमा ६ म्याग्निच्युडकै परकम्प गएको थियो, त्यसले वैशाख १२ को पहिलो धक्का बढी भएको क्षेत्रमा क्षतिसमेत निम्त्याएको थियो ।

भूकम्पविद् एवं खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पको दरार (रप्चर) बढी भएको क्षेत्रमा परकम्पहरू आउने क्रम जारी रहेको बताए । ‘गोरखादेखि दोलखासम्मको भागमा यस्ता आफ्टरसक आइरहन्छन्,’ उनले भने, ‘यसको मतलब जोखिम बढ्यो भन्ने होइन, रप्चर क्षेत्रमा यस्तो क्रम चलिरहन्छ ।’

त्यसो त, भदौ २४ गते पनि रप्चर क्षेत्रमा पर्ने धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो पनि परकम्प हो । त्यसअघि भदौ १९ मा संखुवासभालाई केन्द्रबिन्दु बनाएर ४ र भदौ ९ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडका भूकम्प गएका थिए, तीचाहिँ गोरखा भूकम्पको दरारभन्दा बाहिर थिए । भदौ २६ गते पनि नेपाल–भारत सीमाक्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

छोटो अवधिमा पटक–पटक भूकम्प गइरहेकाले सर्वसाधारणलाई भूकम्पीय जोखिम बढेको जस्तो लागे पनि विशेषज्ञहरू भने त्यसलाई सामान्य भनी व्याख्या गर्छन् । ‘नेपाल जहिल्यै भूकम्पीय जोखिममा छ,’ अधिकारी भन्छन्, ‘गोरखा भूकम्पअघि पनि भूकम्प आइरहेका थिए । अहिले आफ्टरसक आइरहेका छन् । भूकम्पीय जोखिम घट्यो र बढ्यो भनेर आकलन गर्न सकिन्न ।’

स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प शास्त्रमा विद्यावारिधि गरिरहेका शिव सुवेदी भने गोरखा भूकम्पको दरार बारपाकभन्दा पूर्वी क्षेत्रतिर भएकाले क्षति पनि गोरखादेखि दोलखासम्मको भागमा बढी भएको बताउँछन् । ‘पश्चिमतिरको भागमा किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ,’ उनको विश्लेषण छ, ‘सामान्यतः भूकम्प गइरहने स्थानको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा बढी भएको छ ।’

सुवेदीका अनुसार नेपालको परिवेशमा सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ भन्न सकिन्छ । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औं स्थानमा छ ।

‘तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निच्युडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन,’ उनको भनाइ छ, ‘२०७२ पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् ।’

केन्द्रका भूकम्पविद् अधिकारी पनि नेपालको पश्चिम भागमा भूकम्पीय जोखिम अन्यत्र भागमा भन्दा बढी भएको व्याख्या गर्छन् । ‘पश्चिम क्षेत्रमा विगत ५ सय वर्षभन्दा धेरै समयदेखि महाभूकम्प वा विनाशकारी भूकम्प गएको छैन,’ उनले थपे, ‘जमिनमुनिको प्लेटको गति र जमिनमुनिको अवस्थालगायत अन्य धेरै तथ्यको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प जान सक्छ भने निष्कर्षमा पुगेका छन् ।’

‘हिमालय टेक्टोनिक्स सेस्मोलजी (भूकम्प)’ मा विद्यावारिधि गरेका दीपक चम्लागाईंका अनुसार नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत पर्छ । यो थ्रस्टकै कारण नेपाल सधैं भूकम्पीय जोखिममा परेको उनको विश्लेषण छ । ‘इन्डियन प्लेट र तिब्बती प्लेटबीचको जब संघात (कोलिजन) हुन्छ, यो सञ्चित इनर्जीमा सिधै असर गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ,’ उनको टिप्पणी छ, ‘प्लेट माथितिर ठेलिँदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ ।’

इन्जिनियरिङ सिस्मोलजीमै इटालीबाट पोस्ट डक्टरेट गरेका चम्लागाईंका अनुसार अनुसन्धानले काठमाडौंसँगै वरिपरिको क्षेत्र झन् ठूलो भूकम्पीय जोखिममा रहेको देखाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदनमा सन् १२५५ को अभिलेखअनुसार हिन्दु–यारलुब रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ म्याग्निच्युडको भूकम्प जाने गरेको उल्लेख छ । १९९० मा ८.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसरी भूकम्प जानुको कारण हो– नेपालको दक्षिण सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षर्अघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । ‘भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टानबीचको संघात एक नमूना हो,’ हङकङ विश्वविद्यालयका भौतिकशास्त्री डा. लुब एस चाब भन्छन्, ‘भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर बसेको २ सेन्टिमिटरका दरले अगाडि बढिरहेको छ । भौतिक विज्ञानका हिसाबमा यो ज्यादै द्रूत हो ।’ यी दुई प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो सतह चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विस्फोटनसँग तुलना गर्छन् ।

नेपाल यस्तो थेचारिएको भनिएको धाँजामा परेको छ, जहा एक टेक्टोनिक प्लेट अर्कोमाथि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृंखला नै हो । यो धाँजा १४ सय माइलसम्म पसारिएको छ । अनि भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले यी शृंखलाको उचाइ हरेक वर्ष एक सेन्टिमिटरले बढिरहेको छ । टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तीनको आधुनिक मापनले के देखाउँछ भने लगातार एकै खालको ऊर्जा संकलन भइरह्यो भने यो क्रम हरेक ४० र ५० वर्षमा महाभूकम्प जाने वैज्ञानिकहरू बताउँछन् ।

विज्ञहरूका अनुसार शक्तिले धाँजामा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सयमा कति पटक सालाखाला भूकम्प जान्छ भन्ने अनुमान गर्नबाहेक अरु केही गर्न असमर्थ छन् ।

भूकम्पको पूर्वजानकारी कति सम्भव ?

धेरैले चासो राख्ने प्रश्न यही हो । ‘भूकम्पको पूर्वानुमान असम्भव छैन’, सुवेदी लेख्छन्, ‘सम्भाव्यतासम्बन्धी केही अध्ययन भएका छन्, जुन पर्याप्त छैनन् ।’ विकसित मुलुकहरूमा सयौंको संख्यामा उच्च क्वालिटीका सेस्मोमिटर जडान गरिएका हुन्छन्, जसले भूकम्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भरमा पठाउँछन् । वैज्ञानिकहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्निचुडको हो जस्ता कुरा पत्ता लगाउँछन् । उनका भनाइमा भूकम्प हो भन्ने निश्चित भएपछि प्रभावित हुन सक्ने क्षेत्रमा सावधानी सन्देश पठाइन्छ । त्यसो हुँदा जनधनको क्षति कम हुन्छ । यसलाई भूकम्प पूर्वचेतावनी प्रणाली भनिन्छ ।

‘नेपालमा पनि पूर्वजानकारी असम्भव त छैन तर यसका लागि सेस्मोमिटरको पर्याप्त जडान, विषयविज्ञहरूको नियमित उपलब्धता, भूकम्पसम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्तरीय सञ्चार प्रविधिलगायतले ठूलो अर्थ राख्छन्,’ उनको टिप्पणी छ, ‘जसका लागि नेपाल तयार भइसकेकै छैन ।’ जापान र अमेरिकाले यो प्रणालीको सफलतापूर्वक प्रयोग गरिरहेका छन् ।

प्रकाशित : आश्विन १, २०७७ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×