पाँच वर्षमा चार गुणा बढ्यो ब्यान्डविथ खपत

भाद्र २३, २०७७

विजय तिमल्सिना

काठमाडौँ — पछिल्लो ५ वर्षमा प्रतिपरिवार खपत हुने इन्टरनेट ब्यान्डविथ करिब ४ गुणा बढेको छ । नेपालमा औसत परिवारले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ ७ सय ५० केबीपीएस पुगेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) को तथ्यांक छ । नेपालमा आयात हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ र इन्टरनेटका घरायसी ग्राहकको अनुमातमा यो तथ्यांक निकालिएको हो ।

ब्यान्डविथ खपतसँगै एउटै घरमा इन्टरनेट प्रयोगका लागि उपयोग हुने डिभाइसको संख्या पनि बढेको छ । पाँच वर्षअघि एउटा घरमा इन्टरनेट प्रयोगका लागि औसत २ वटा डिभाइस प्रयोग हुने गरेकोमा हाल प्रयोग हुने डिभाइसको संख्या औसतमा ५ पुगेको आईस्पानको तथ्यांक छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हाल ४० वटा इन्टरनेट सेवा प्रदायकका ११ लाख २९ हजार ग्राहक छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा एक परिवारमा औसत ४.८ जना सदस्य रहने भएकाले एक घरमा जोडिएको इन्टरनेट करिब ५ जनाले प्रयोग गर्छन् ।

०७३ सालतिर घरायसी ग्राहकका लागि दिइने इन्टरनेट प्याकेजमा औसत खपत २ सय केबीपीएस हाराहारीमा भए पनि ०७७ मा आउँदा यसको खपत बढेर ७५० केबीपीएस पुगेको आईस्पान अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘पछिल्ला वर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेको छ, कोभिड–१९ को महामारीपछि गरिएको लकडाउनमा विश्वभर जस्तै नेपालमा पनि ब्यान्डविथ खपत चुलियो,’ उनले भने ।

ब्यान्डविथ खपत बढेसँगै हरेक स्पिडको मात्रा पनि बढेको आईस्पानको तथ्यांक छ । अहिले एक ग्राहकले लिने औसत इन्टरनेटको स्पिड पनि ४० एमबीपीएस पुगेको छ । पाँच वर्षअघि यस्तो औसत स्पिड २० एमबीपीएस थियो । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया तीनवटा सेवाका लागि प्रयोग भइरहेको आईस्पानको तथ्यांक छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये २४ प्रतिशत गुगलको सेवा, फेसबुकका लागि १४ प्रतिशत र टिकटकका लागि २१ प्रतिशत खपत भइरहेको छ । फेसबुक र गुगल दुवैले आआफ्नो कन्टेन्टका लागि नेपालमा स्थानीय (क्यास) सर्भर पनि राखेका छन् । टिकटकको भने तत्कालका लागि नेपालमा क्यास सर्भर छैन । त्यसैले टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ पछिल्लो समय कैयौं गुणा बढेको छ ।

नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत यति भए पनि आन्तरिक ब्यान्डविथको खपत लकडाउनपछि १५ सय जीबीपीएसभन्दा बढी पुगेको आईस्पानको तथ्यांक छ । आन्तरिक ब्यान्डविथतर्फ सबैभन्दा बढी खपत गर्नेमा फेसबुक र गुगल अगाडि छन् ।

अहिले विश्वभर नै इन्टरनेटमा भिडियो कन्टेन्ट बढी हेरिने भएकाले ब्यान्डविथ खपत बढ्दै गएको भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउँछन् । ‘पहिले इन्टरनेटमा अक्षर र तस्बिर बढी प्रयोग हुन्थ्यो । अहिले प्रायः कन्टेन्ट भिडियोमा छन्,’ उनले भने, ‘त्यसमा पनि गुणस्तरीय भिडियो बढी हेर्न थालिएको छ ।’

टिकटकले क्यास सर्भर राखेपछि समस्या समाधान

टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ । टिकटकले आफ्नो प्रोटोकल परिवर्तन गरेसँगै टिकटक प्रयोग गर्दा हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत १० गुणा बढेको थियो । नेपाल भित्रिने कुल ब्यान्डविथमध्ये २५ प्रतिशत टिकटकमा मात्रै खपत हुन थालेपछि पिक आवरमा यसको गुणस्तर घटाउन थालिएको थियो ।

नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स) ले सञ्चालन गरिरहेको स्थानीय सर्भरको क्षमता अभिवृद्धि गरी ब्यान्डविथ समस्या समाधान भएको सञ्चालक समिति सदस्य समित जन थिङले जानकारी दिए । 

टिकटकले ७० जीबीपीएस क्षमताको सर्भरको परीक्षण गरिरहेको छ । अहिले टिकटकको ट्राफिक माग धान्न अकुमाईको कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) प्रयोग भइरहेको उनले बताए । अकुमाईको सीडीएनको क्षमता एक सय जीबीपीएसबाट २ सय ४० जीबीपीएस पुर्‍याइएको उनले जानकारी दिए ।

एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटकले क्यास सर्भर राख्न अकुमाईको सीडीएन प्रयोग गरिरहेको छ । तर नेपालमा रहेको अकुमाईको सीडीएम लकडाउनअघिदेखि नै पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले यसलाई प्रयोग गर्न नसकिने अवस्थामा थियो । टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) अध्यक्ष भोजराज भट्टले बताए । एचटीटीपीएस प्रोटोकल कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न प्रयोग गरिन्छ । एचटीटीपीएस प्रोटोकलमा गएपछि टिकटक प्रयोग गर्दा स्वतः अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग भएपछि ब्यान्डविथ खपत बढेको हो । ‘एचटीटीपीएस प्रोटोकलमा गएपछि क्यास सर्भर राख्न सम्भव हुन्न,’ उनले भने, ‘यसले गर्दा नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमा चाप गर्न गएको हो ।’

इन्टरनेटमा भएको कन्टेन्ट स्थानीय रूपमा भण्डारण गर्ने सर्भरलाई क्यास सर्भर भनिन्छ । ब्यान्डविथको चाप घटाउन र इन्टरनेटको गति बढाउन क्यास सर्भरलाई प्रयोग गरिन्छ । छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही महिनायता चर्चामा छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारतले यो एपलाई प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले पनि आफ्नो देशमा हुने कारोबार अमेरिकी कम्पनीलाई बिक्री नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । केही सातायता समयमा टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको थियो । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले औसत १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ । कोभिड–१९ का कारण लकडाउन गर्नुअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो भने लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।

त्यसअघि ५ सय जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्रिने गरेकोमा कोभिड–१९ का कारण गरिएको लकडाउनको समयमा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक भएपछि सेवा प्रदायकहरूले बढी ब्यान्डविथ भित्र्याउन थालेका हुन् । भारत र अमेरिकाले प्रतिबन्ध लगाएसँगै संसारभर टिकटकबारे चर्चा भएपछि प्रयोगकर्ताले उत्सुकता मेटाउन पनि यसलाई प्रयोग गर्न थालेको हुन सक्ने सेवा प्रदायकहरूको विश्लेषण छ । टिकटकले खपत गर्ने ब्यान्डविथ गुगल र फेसबुक प्रयोगका लागि नेपालभित्र खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथभन्दा बढी हो ।

विजय

Link copied successfully