नेटवर्किङको ठगी लुकाउन हतारहतार सेयर नामसारी

नेचर हर्ब्सका गीतेन्द्रबाबु राईले कुमार रम्तेललाई ९० हजार र रामबहादुर खनाललाई १० हजार कित्ता सेयर बेचे

भाद्र १९, २०७७

राजु चौधरी

काठमाडौँ — वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ कारोबार गरिरहेको खुलेपछि नेचर हर्ब्स इन्टरनेसनल प्रालिको सेयर रातारात नामसारी गरेको पाइएको छ । नेचर हर्ब्स इन्टरनेसनल प्रालिका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई) ले इजाजत नलिई गरेको अवैध धन्दा लुकाउन सेयर नामसारी गरेका हुन् ।

राईले नेचर हर्ब्सको सेयर कम्पनी दर्ताका बेला साक्षी बसेका कुमार रम्तेललाई बिक्री गरेको पाइएको छ । उनले रामबहादुर खनाललाई पनि कम्पनीको आफ्नो सेयर बेचेका छन् ।

नेटवर्किङको ठगी लुकाउन रातारात सेयर बिक्री भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले दाबी गरे । ‘वाणिज्य विभागबाट इजाजत लिनुअघि व्यापक अवैध कारोबार गरेको सार्वजनिक भइसकेको छ । निषेधित नेटवर्किङ व्यवसाय गरेको खुलासा भएपछि बच्न सेयर बिक्री गरेको देखिन्छ,’ कानुन व्यवसायीसमेत रहेका उनले भने, ‘आफू सुरक्षित हुन र अपराध लुकाउने नियत देखिन्छ । सेयर नामसारी गर्दैमा उन्मुक्ति दिनुहुँदैन, सबै छानबिन गर्नुपर्छ ।’

कम्पनी रजिस्ट्रार कार्यालय स्रोतका अनुसार नेचर हर्ब्स इन्टरनेसनल प्रालि ०७४ साउन २७ मा प्राइभेट कम्पनीअन्तर्गत दर्ता भएको थियो । यसको संस्थापक अध्यक्षमा ओखलढुंगा सुनकोसी गाउँपालिका–१ का गीतेन्द्रबाबु राई छन् । १ लाख सेयर संख्या रहेको उक्त कम्पनीका साक्षी ललितपुरको गोदावरी नगरपालिका–४ का कुमार रम्तेल बसेका थिए ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, ०७४ र नियमावली ०७६ बनेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट ०७७ असार १७ मा नेचर हर्ब्सले इजाजत पायो । प्रत्यक्ष वस्तुको बिक्रीको इजाजत पाए पनि नेटवर्किङ कारोबार गरिरहेको खुलेपछि राईले सेयर बिक्री गरेका हुन् । कम्पनीको सेयर असार २८ मै नामसारी भएको छ । १ लाख कित्ता सेयरको १ करोड रुपैयाँ मूल्यांकन गरिएको कम्पनी रजिस्ट्रार कार्यालय स्रोतको भनाइ छ । ‘कुमार रम्तेलको नाममा ९० हजार र रामबहादुर खनालको नाममा १० हजार कित्ता नामसारी भएको छ,’ स्रोतले भन्यो । कुमार रम्तेल हर्बोका ट्रेनर हुन् । सेयर नामसारी भए पनि राई अदृश्य रूपमा बोर्डमै छन् । कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार नेचर हर्ब्सको प्रबन्धपत्रमा सामान प्रत्यक्ष बिक्री प्रणाली, अनलाइन मार्केटिङ, मौखिक विज्ञापन तथा सिफारिस विधिमार्फत बिक्रीवितरण गर्ने, आवश्यकता र उपलब्धि हेरी कम्पनीका उपभोक्तालाई विभिन्न उपहार तथा सुविधा प्रदान गर्ने र कम्पनीका स्वतन्त्र ग्राहकलाई नियमअनुसार कमिसन तथा बोनस प्रदान गर्ने उल्लेख छ । यसले पनि शंका बढाएको संघीय संसदन्तर्गत प्रतिनिधिसभाका सांसद बताउँछन् ।

नेचर हर्ब्सका सञ्चालक गीतेन्द्रबाबु राईको नाममा रहेको एक लाख कित्ता सेयर नामसारी गरेका प्रमाणपत्र ।

एक महिनाअघि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि सांसदहरूले वस्तुको प्रत्यक्ष बिक्री नाम मात्रै परिवर्तर्न भएकाले घुमाउरो पारामा नेटवर्किङ नै रहेको दाबी गरेका थिए । त्यसैले यसलाई तत्काल बन्द गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । समितिले सांसद सोम पाण्डेको संयोजकत्वमा थप छानबिन गर्न उपसमितिसमेत गठन गरिसकेको छ । उपसमितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन बनाउने तयारी छ । प्रतिवेदन बनाउँदा विगतमा उपभोक्ता ठगी गर्नेलाई उन्मुक्ति दिन नहुने बानियाँको भनाइ छ ।

‘सांसदहरूले धेरै बुझेका छन् । विगतमा उनीहरू आफैं पनि ठगिएका छन्,’ उनले भने, ‘पेसाको नाम परिवर्तन गरेर फेरि उपभोक्ता ठगी गर्ने धन्दा सुरु भइरहेको छ ।’ जानकारका अनुसार सेयर नामसारी गरेको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पनि जानकारी गराउनुपर्छ । तर विभागमा कागजात पेस गरे/नगरेका विषयमा विभागका कर्मचारी अन्योलमा छन् ।

‘कम्पनी रजिस्ट्रारको कार्यालयको नियमअनुसार सेयर नामसारी गर्न सकिन्छ । इजाजत लिएपछि वाणिज्यलाई जानकारी गराउनुपर्छ,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढार्इंले भने, ‘सेयर नामसारीका विषयमा विभागमा जानकारी गराए जस्तो लाग्छ । सञ्चालक परिवर्तन भएको कागज दिए जस्तो लाग्छ ।’

ऐन र नियमावलीले नेटवर्किङलाई पूर्ण निषेध गरेको छ । पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गर्न बन्देज गरेको छ । तर विभागबाट इजाजत पाएलगत्तै कम्पनीका लिडरहरूले फेसबुक, युट्युबमा नेटवर्किङ व्यवसायले वैधानिकता पाएको बताउँदै आएका छन् । नेचर हर्ब्सले इजाजत प्राप्त गरेकै दिन र असार २८ गते सदस्य बनाएर कारोबारसमेत गरेको देखिन्छ । कम्पनीहरूले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रमसमेत गरिरहेका छन् ।

नेचर हर्ब्स जस्तै इजाजत पाउनेमा आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्ट्स इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालि छन् । यी कम्पनीका सञ्चालकले विगतमा पनि नेटवर्किङ व्यवसाय गरेका थिए, जसबाट लाखौं सर्वसाधारण ठगिएका थिए ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully