परीक्षणकालमै बिनाजानकारी कतार छाड्ने श्रमिकलाई एक वर्ष प्रवेश रोक

होम कार्की

काठमाडौँ — परीक्षणकालभित्रै बिनाजानकारी स्वदेश फिर्ने श्रमिक अर्को काम गर्न तुरुन्तै कतार जान नपाइने भएको छ । परीक्षणकाल ६ महिनाको हुनेछ । 

परीक्षणकालमै बिनाजानकारी कतार छाड्ने श्रमिकलाई एक वर्ष प्रवेश रोक

कतारले भदौ १४ गते जारी गरेको रोजगारदाता परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति नचहिनेसम्बन्धी जारी गरेको नयाँ नियमले यस्तो व्यवस्था गरेको हो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका अनुसार परीक्षणकालभित्र रोजगारदाता छोड्न चाहेमा श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिइनुपर्छ । त्यो सूचना अवधि बढीमा दुई महिनाभन्दा बढी हुनुहुँदैन । त्यस अवधि समाप्त नहुँदै कतार छोड्न चाहेमा श्रमिकले रोजगारदातालाई बढीमा दुई महिनासम्मको न्युनतम तलब बराबरको क्षतिपूर्ति दिइनुपर्छ ।

परीक्षणकाल समाप्त भएपछि अर्थात् दुई वर्षभन्दा कम काम गरी स्वदेश फिर्नुपरेमा श्रमिकले रोजगारदातालाई एक महिना अगाडि नै सूचना दिइनुपर्छ । दुई वर्षभन्दा बढी काम गर्ने श्रमिकले दुई महिना अगाडि नै रोजगारदाता छोड्ने विषयमा सूचना दिइनुपर्छ । यी समय अगाडि नै कतार छोड्ने श्रमिकले रोजगारदातालाई क्षतिपूर्तिबापत एक महिना बराबरको न्युनतम तलब दिइनुपर्छ ।

कतार सरकारले स्वदेश फिर्नका लागि बर्हिगमन अनुमति (एक्जिट परमिट) हटाएपछि यो प्रावधान ल्याएको हो । यो नियम सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुनेछ ।

परीक्षणकालभित्रै रोजगारदाताले दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकलाई एक महिनाको सूचना दिएर करारपत्र रद्द गर्न सक्ने व्यवस्था छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले नै उपलब्ध गराउनुपर्छ । रोजगारदाताले एक महिना अगाडि नै सूचना नदिई करारपत्र रद्द गर्न पाउने छैन । यदि रोजगारदाताले बिनाजानकारी करारपत्र रद्द गरेमा एक महिना बराबरको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ ।

प्रकाशित : भाद्र १६, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?