वाणिज्य बैंकमा अध्यक्ष चयनको निर्णय भएन

भाद्र १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले बिहीबार अध्यक्ष चयनसम्बन्धी निर्णय गर्न सकेन । मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयनका लागि बैठक बसे पनि त्यससम्बन्धी निर्णय नै नभएको स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका कोइराला बैठकमा उपस्थित नभएकाले सो सम्बन्धमा छलफल नै नभएको स्रोतले जानकारी दिएको छ । ‘उहाँले आउँदो आइतबारअघि बैंकको बैठकमा उपस्थित हुन नसक्ने बताउनुभयो,’ स्रोतले भन्यो, ‘सम्बन्धित व्यक्ति नै नआएपछि सो विषयमा छलफल नै भएन ।’ स्रोतका अनुसार आफ्नो नियुक्ति विषयमा चर्को विरोध भएपछि कोइराला बैठकमा उपस्थित नभएका हुन् । सुरुमा बैठक बुधबार बस्ने तय भएको थियो । विवादका कारण बैठक बिहीबारलाई सारिएको थियो । हाल बैंकको अध्यक्ष पद खाली भएकाले अर्का सञ्चालक अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको अध्यक्षतामा बैठक बसेको थियो । ‘नियमित एजेन्डामा छलफल भयो,’ स्रोतले भन्यो, ‘आइतबारयता सञ्चालक समितिको अर्को बैठक बस्ने सम्भावना पनि छैन ।’

वाणिज्य बैंकका निवर्तमान अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली पदमा अर्थ मन्त्रालयले कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेका सञ्चालकमध्ये बैंक सञ्चालक समितिले एक जनालाई अध्यक्ष चुन्ने कानुनी व्यवस्था छ ।

कोइरालाले यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाइसकेका छन् । हरेक स्थानमा कुनै न कुनै रूपमा उनको छवि विवादास्पद देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुनुका साथै नेकपाका उच्च नेतासँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटकपटक सरकारी नियुक्ति पाउने गरेको बताइएको छ । नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा कोइराला र उपप्रधानमन्त्री पोखरेलको चर्को विरोध भइरहेको छ । पोखरेलले बुधबार विज्ञप्ति निकालेर कोइरालाको नियुक्तिमा आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेका छन् ।

कान्तिपुर

Link copied successfully