रोपेका बिरुवा खोइ ?

वनस्पति विज्ञानका अनुसार रोपिएका बिरूवामध्ये ८० प्रतिशत बाँच्नुपर्छ । प्रदेश ५ मा भने यसको दर ५० प्रतिशत मात्रै छ । 

भाद्र ८, २०७७

अमृता अनमोल

बुटवल — रूपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा ६ वटा छुट्टाछुट्टै पार्क छन् । पार्कमा हरेक वर्ष वृक्षरोपण हुन्छ । विभिन्न संघसंस्थाले स्मृति र स्थापना दिवस पारेर तामझामसहित वृक्षरोपण गर्छन् । तर, रोपिएका बिरुवा हुर्किएको देख्न पाइँदैन ।

बिरुवा रोप्ने संस्थाले संरक्षणमा लगानी नगर्दा बिरुवा हुर्काउन नसकिएको वन विहारका उपाध्यक्ष खिमलाल पाण्डेले बताए । ‘संघसंस्थाले बिरुवा रोप्न ठाउँ माग्छन् । हामी दिन्छौं,’ उनले भने, ‘त्यसपछि कसरी संरक्षण गर्ने योजना बन्दैन । त्यही कारण बिरुवा बाँच्दैनन् ।’

वृक्षरोपण संघसंस्थाले मात्र होइन, हरेक स्थानीय तह हुँदै प्रदेश र संघीय सरकारले समेत गरेका हुन्छन् । तर, रोपिएका बिरुवा कति बाँचे र हुर्किए भन्ने कतै तथ्यांक छैन । रोपिएका बिरुवा अहिले कहाँ कति छन् ? त्यसको तथ्यांक कतै भेटिँदैन । वृक्षरोपणको तुलनामा नाङ्गो जमिन हरियाली भएको क्षेत्र पनि निकै कम छ ।

रूपन्देहीको सैनामैना नगरपालिका त्यसमध्येको एक हो । गत वर्ष चरिचरण र फँडानीबाट उजाड भएको वनलाई पुनः हराभरा बनाउने भन्दै नगरपालिकाले पर्रोहा, मलमला र इंगुरिया सामुदायिक वनमा वृक्षरोपण गर्‍यो । त्यसमा प्रधानमन्त्री रोजगार कार्यक्रममा फारम भरेका पाँच सय युवा खटिए । चिउरी, अम्बा, अमला, खन्युलगायत करिब २० हजार बिरुवा रोपिए । घाँसका लागि ५ हजारभन्दा बढी अम्रिसो लगाइयो । ती बिरुवा कति बाँचे ? नगरपालिकामा तथ्यांक छैन । यस वर्ष पुनः १० हजार बिरुवा रोपिएको छ । बीपी स्मृति दिवसमा सांसद भरत शाह र पुष्पलाल स्मृति दिवसमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको आतिथ्यतामा तामझामसहित बिरुवा रोपिए । रोपिएका बिरुवा संरक्षण गरी आगामी वर्ष बाँचेका बिरुवाको तथ्यांक निकाल्ने नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । ‘हरेक वर्ष बिरुवा रोप्ने, खर्च गर्ने । तर नहुर्काउने समस्या रहेछ,’ उनले भने, ‘हामीले एक–एक बिरुवाको तथ्यांक निकाल्ने छौं ।’

गत वर्ष प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत २७ लाख ४६ हजार बिरुवा रोपिए । त्यसमध्ये २२ लाख ४५ हजार काष्ठ र ५ लाख १ हजार गैरकाष्ठजन्य हुन् । बिरुवा उत्पादनमा मात्रै मन्त्रालयको ४ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च भयो । तर गत वर्ष रोपेका बिरुवा कति बाँचे वा मरे भन्ने मन्त्रालयमा तथ्यांक छैन । बरु चालु आर्थिक वर्षमा २८ लाख नयाँ बिरुवा रोप्ने योजना बनाएको छ । त्यसमा ५ करोड ६० लाख रुपैयाँ लगानी हुनेछ । डिभिजन वन कार्यालयले उत्पादन गरेका बिरुवा माग र आवश्यकताका आधारमा निजी, सामुदायिक र अन्य वन क्षेत्रमा रोपेको मन्त्रालयका प्रवक्ता विजयराज सुवेदीले बताए । जसले वृक्षरोपण गर्ने हो, संरक्षणको जिम्मा पनि उनीहरूलाई नै दिएकाले कति बिरुवा बाँचे भन्ने तथ्यांक नभएको उनको दाबी छ । ‘हाम्रो काम बिरुवा उत्पादन गर्ने र उपलब्ध गराउने हो,’ उनले भने, ‘अरू काम सम्बन्धित निकायले गर्ने हो ।’

वनस्पति विज्ञानका अनुसार रोपिएका बिरुवामध्ये ८० प्रतिशत बाँच्नुपर्छ । तर, प्रदेश ५ मा बिरुवा बाँच्ने दर ५० प्रतिशत मात्रै छ । माटो र वातावरण सुहाउँदो बिरुवा नरोप्दा बिरुवा बाँच्ने दर कम भएको जानकारहरू बताउँछन् । मन्त्रालयले भने प्रदेशको माटो, भूगोल र वातावरण परीक्षणपछि मात्रै बिरुवा उत्पादन गर्ने र वृक्षरोपण गर्ने गरेको दाबी गरेको छ । ‘सानो बिरुवा नबाँच्ने र नहुर्कने समस्या छ,’ प्रवक्ता सुवेदीले भने, ‘त्यसैले अब बहुवर्षीय बिरुवा मात्रै रोप्ने योजना बनाएका छौं ।’

नेपालमा हरेक वर्ष करिब २ करोड ५० लाख बिरुवा रोप्ने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । त्यसमा ३७ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको छ । यति धेरै लगानीका बिरुवा कति बाँचे वा मरे भन्ने तथ्यांक यस मन्त्रालयसँग पनि छैन । रोपिएका बिरुवा संरक्षण गर्ने ठोस योजना पनि छैन । बरु एकै ठाउँमा हरेक वर्ष वृक्षरोपणका रूपमा रकम खर्चिएको छ । बिरुवा उत्पादनमा लगानी गर्ने र तामझामका साथ वृक्षरोपण गर्ने तर हुर्काउने र संरक्षणमा वास्ता नगर्ने परिपाटीले हरेक वर्ष वृक्षरोपणको लगानी बालुवामा पानी भएको विश्लेषकहरूको भनाइ छ । संघसंस्थाले लोकप्रियता र सरकारी निकायले काम देखाउन मात्रै वृक्षरोपण गर्दा लगानी खेर गएको वन तथा वातावरणबारे जानकार युवराज कँडेलले बताए ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully