१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिया श्रमिकको गुनासो, ‘ज्याला पाएनौं’

सहमतिअनुसार पारिश्रमिक नपाएकाले पुनः आन्दोलनमा जाने श्रमिकको चेतावनी
अर्जुन राजवंशी

बिर्तामोड — सहमतिअनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् । श्रम ऐनअनुसार ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले अझै भुक्तानी नगरेको श्रमिकको गुनासो छ । रकमका लागि बगान मालिकसँग पटकपटक आग्रह गर्दासमेत भुक्तानी नपाएको उनीहरूको गुनासो छ ।

चिया श्रमिकको गुनासो, ‘ज्याला पाएनौं’

बिर्तामोडमा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय समितिले शनिबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिने तयारीमा जुटेको जानकारी दियो ।

कोभिड–१९ को संक्रमणका कारण सबै क्षेत्र शिथिल भए पनि चिया क्षेत्र भने इतिहासकै स्वर्णिम अवस्थामा पुगेको उनीहरूको दाबी छ । साउन लागेयता हरियो चियापत्ती अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । तयारी चिया प्रतिकिलो भारु २ सय रुपैयाँमा बिक्री भइरहेको अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले बताए । गत वर्ष यही सिजनमा हरियो चियापत्ती प्रतिकिलो २० रुपैयाँ र तयारी चिया भारु ८५ मा बिक्री भएको थियो ।

‘चियाले अहिलेसम्मकै उच्च दरमा बजार मूल्य पाएको अवस्थामा पनि श्रमिकले ऐनअनुसार ज्याला पाएका छैनन्,’ सापकोटाले भने । कोरोना संक्रमणको जोखिमबीच श्रमिक बगान तथा कारखानामा काम गर्न बाध्य रहेको उनले बताए । श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया क्षेत्र ठप्प गरी ४४ दिनसम्म सडक आन्दोलन गरेका थिए । ०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुंगिएको थियो । उक्त सहमतिमा ०७५ साउनदेखि ०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई ०७६ चैत मसान्तभित्रमा भुक्तानी दिने उल्लेख छ ।

वृद्धि भएको रकमअनुसार एक जना श्रमिकले करिब २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनुपर्नेछ । ‘तर सहमतिअनुसार कुनै पनि बगान मालिकले श्रमिकलाई भुक्तानी दिएका छैनन्,’ कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले भने । जिल्लामा स्थायी र अस्थायी गरी करिब २५ हजार श्रमिक चिया क्षेत्रमा कार्यरत छन् । चिया क्षेत्रले श्रम ऐन अझै पनि पूर्ण रूपमा कार्यान्वयन नगरेको चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङको आरोप छ ।

प्रकाशित : श्रावण २४, २०७७ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?