कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पासपोर्ट छाप्न चार कम्पनीको प्रस्ताव

कम्पनीहरुको आर्थिक, प्राविधिक र अनुभव पक्षको मूल्यांकनका लागि करिब दुई साता लाग्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — राहदानी विभागले ई–पासपोर्ट छाप्न आह्वान गरेको ठेक्कामा चार विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । विभागले चारै कम्पनीको प्रस्ताव शुक्रबार खोलेको हो । विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी ठेक्का सूचना निकालेको थियो ।

पासपोर्ट छाप्न चार कम्पनीको प्रस्ताव

चारै कम्पनीको आर्थिक प्रस्ताव खोले पनि आर्थिक, प्राविधिक र अनुभव पक्षको मूल्यांकनका लागि करिब दुर्ई साता लाग्ने विभागले जनाएको छ । पासपोर्ट छाप्न फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, चिनियाँ कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले प्रस्ताव हालेका छन् ।

विभाग स्रोतका अनुसार आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्यको प्रस्ताव जर्मनी कम्पनी आइडेमियाको छ । आइडेमियाले २ करोड ६५ लाख ९० हजार अमेरिकी डलरमा पासपोर्ट छाप्ने गरी प्रस्ताव गरेको छ । अमेरिकी कम्पनी एचआईडी ग्लोबलले २ करोड ९२ लाख ७० हजार अमेरिकी डलरको प्रस्ताव पेस गरेको छ भने चिनियाँ कम्पनी आइसिनो कर्पोरेसनले ३ करोड २६ लाख ५० हजार अमेरिकी डलरको प्रस्ताव पेस गरेको छ । जर्मनी कम्पी मुलबर आईडी सर्भिसेजले भने ३ करोड ९३ लाख २० हजारको प्रस्ताव पेस गरेको छ ।

विभागले १६ लाख थान पासपोर्ट ३२ पेज र ४ लाख थान पासपोर्ट ६४ पेजको हुने गरी छाप्न ठेक्का आह्वान गरेको हो । पासपोर्ट छपाइको जिम्मा पाउने कम्पनीले सबै जिल्ला र नेपाली राजदूतावास भएका स्थानमा आवश्यक उपकरण जडानसमेत गर्नुपर्नेछ । नेपालले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने भन्दै यसअघि विभागले आह्वान गरेको टेन्डर रद्द गरिएको थियो । विभागले गत वर्ष भदौ १० मा ५० लाख ई–पासपोर्ट छपाइका लागि गरेको टेन्डर अन्तिम दिन कात्तिक २१ मा रद्द गरेको थियो ।

आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्ने र त्यसमै पासपोर्ट छाप्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विभागले ठेक्का रद्द गरेको थियो । तर सेक्युरिटी प्रेस स्थापनामा ढिलाइ हुने भएपछि विभागले तत्कालका लागि २० लाख पासपोर्ट छाप्न फेरि टेन्डर गरेको हो । सेक्युरिटी प्रेस खरिदका लागि मन्त्रिपरिषद्ले गत पुसमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको भए पनि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घूस मागेको अडियो सार्वजनिक भएपछि यो प्रक्रिया रोकिएको छ ।

सरकारले जर्मन र फ्रान्सेली कम्पनीसँग मात्रै प्रस्ताव माग गरेर बिनाप्रतिस्पर्धा सेक्युरिटी प्रेस खरिद गर्न लागेको थियो । तत्कालीन मन्त्री बाँस्कोटाले स्विट्जरल्यान्डका कम्पनीका एजेन्ट बताउने विजय मिश्रसँग घूस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजीनामा दिए भने सेक्युरिटी प्रेस खरिदको प्रक्रिया पनि रद्द भएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा संसदीय समितिले चासो देखाएपछि मन्त्रिपरिषद्ले यसअघिको प्रक्रिया रद्द गर्दै प्रतिस्पर्धामार्फत खरिद गर्ने निर्णय गरिसकेको छ । विभाग स्रोतका अनुसार फ्रान्सेली कम्पनी आइडेमियाले पासपोर्ट छपाइको जिम्मा पाउने सम्भावना छ । ‘आर्थिक प्रस्ताव पनि सबैभन्दा कम मूल्यमा परेको र अनुभव र प्राविधिक हिसाब पनि अन्य कम्पनीको प्रतिस्पर्धी भएकाले आइडेमियाले पाउने सम्भावना अधिक छ,’ विभाग स्रोतले भन्यो ।

यही कम्पनी राष्ट्रिय परिचयपत्र छाप्ने जिम्मा पनि पाएको छ । परिचयपत्र छाप्ने उपकरण जडानका लागि गत वर्ष सरकारले यही कम्पनीलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएको थियो । आइडेमियाले राष्ट्रिय परिचयपत्र वितरणका लागि थालिएका नमुना परियोजनाका क्रममा छपाइको जिम्मा पाएको थियो । सरकारले ०७३ मा कम्पनीलाई एक लाख १७ हजार कार्ड छापी वितरण गर्ने जिम्मा दिएको भए पनि अहिलेसम्म कम्पनीले पूरै कार्ड वितरण गरिसकेको छैन । आइडेमियाले ४९ करोड रुपैयाँमा पाइलट प्रोजेक्टको कार्ड छाप्ने जिम्मा पाएको थियो ।

सरकारले पाइलट प्रोजेक्टका रूपमा जिम्मा दिँदा आइडेमियाको नाम मोर्फो थियो । फ्रान्सेली कम्पनी मोर्फेको नाम परिवर्तन भई आइडेमिया बनेको हो । फ्रान्सेली कम्पनीलाई राष्ट्रिय परिचयपत्र वितरणको जिम्मा दिँदा आर्थिक चलखेल भएको उजुरीपछि संसद्को लेखा समितिले छानबिनसमेत गरेको थियो । आर्थिक चलखेलको विवाद बढेपछि अनुमानभन्दा ढिला गरी कम्पनीलाई जिम्मा दिइएको थियो । ०७३ सालमै सरकारले परीक्षणका रूपमा बाँड्ने भनेको एक लाख १७ हजार राष्ट्रिय परिचयपत्र अहिले बल्ल वितरणको क्रममा छ । एसियाली विकास बैंकको ८५ करोडमा सुरु भएको राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्ट सकिएपछि सरकारले नै प्रिन्टर ल्याएर परिचयपत्र छाप्ने र वितरण गर्ने जनाइएको थियो ।

०७३ मै ठेक्का पाएको भए पनि फ्रान्सेली कम्पनीका ढिलाइका कारण ०७५ मंसिर ९ बाट मात्रै परिचयपत्र वितरण सुरु भएको हो ।

प्रकाशित : श्रावण २०, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?