अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका कति उडान ?

श्रावण १३, २०७७

रासस

काठमाडौँ — विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगस्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले अगस्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । यूएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको  क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

नेपाल एयरलाइन्स

जुलाई ३१ मा - जापान र कुवेत 

अगस्ट १ मा - क्वालालम्पुर र कतार

अगस्ट २ मा - जेदाह र दुबई

अगस्ट ३ मा - अस्ट्रेलिया र कतार

अगस्ट ४ मा- दुबई र कतार

अगस्ट ५ मा- रियाद र दमाम

अगस्ट ६ मा- रियाद र दुबई

अगस्ट ७ मा- रियाद र दमाम

अगस्ट ८ मा- जेदाह र दुबई 


हिमालय एयरलाइन्स 

जुलाई ३० रअ गस्ट १ मा - कुवेतमा दुई उडान 

जुलाई ३१ मा - चीनको कुनमिङ 

जुलाई ३१ र अगस्ट ३ मा - दोहा

जुलाई ३१, अगस्ट १,२, ३ र ४ मा अबुधाबी गन्तव्यमा चार्टड उडान

अगस्ट २, ३, ६ र ७ मा क्वालालम्पुर 

अगस्ट ४, ५, ६ र ७ मा - दमाम 

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगस्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो  एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो । 

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । 

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै ५ महिनापछि हुने नियमित उडान एक तिहाइ संख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

रासस

Link copied successfully