३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दक्षिण एसियामा अपूर्व खाद्य संकट आउने दाबी

१ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या देखिने आकलन

काठमाडौँ — कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा अपूर्व खाद्यसंकट आउने दाबी गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ ।

दक्षिण एसियामा अपूर्व खाद्य संकट आउने दाबी

इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ । आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् । दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

खाद्यान्न तथा पोषण क्षेत्रमा क्रियाशील संघसंस्था तथा विज्ञहरुले भने कोभिड–१९ का कारण केही अवसर उपलब्ध भएको देखिए पनि प्रायः मानिस त्यसलाई उपयोग गर्न असमर्थ रहेका जनाएका छन् । ‘विद्यमान खाद्यान्न प्रणालीले खाद्यान्न र पोषण सुरक्षा, आयआर्जन र समावेशी आर्थिक वृद्धिका लागि केही अवसरसमेत प्रदान गरेको छ । तर प्रायः मानिस सुरक्षा तथा फाइदाका लागि आफूलाई सहभागी गराउन असमर्थ छन्,’ आईएपीआरआईका महानिर्देशक जोहान स्विनेनले भने । हालको संकटपूर्ण अवस्थामा समावेशिता नै पीडित मानिसलाई बचाउन सबैभन्दा उपयुक्त माध्यम हुने उनले भने ।

भारतीय नीति आयोगका सदस्य रमेश चन्दले खाद्यान्न प्रणालीका नयाँ आयामबारे सोच्नुपर्नेमा जोड दिए । नेपाल दुई दशकयता पेसागत कृषि क्षेत्र र युवा प्रवासनमा असामान्य संरचनागत परिवर्तनतर्फ गइरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । नेपालमा विप्रेषणको भरोसा घट्ने भएकाले लाखौं मानिसका लागि लाभदायक काम अत्यावश्यक हुने उनको भनाइ छ ।

दक्षिण एसियाको कृषि क्षेत्रमा परिवर्तन भइरहेको आईएपीआरआईका दक्षिण एसिया निर्देशक सहिदुर रसिदले बताए । ‘वास्ताविक ज्याला बढिरहेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घटिरहेको छ । साथै गैरकृषि क्षेत्रको रोजगारीले कृषि क्षेत्रलाई प्रभावित पारेको छ,’ उनले भने ।

प्रकाशित : असार २३, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?