तीन महिनामा एटीएमबाट ५४ अर्ब २७ करोड अर्ब झिकियो

चैतको तुलनामा जेठसम्म एटीएम कारोबार १ सय ४४ प्रतिशत बढ्यो
यज्ञ बञ्जाडे

काठमाडौँ — चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् । लकडाउन अवधिमा विद्युतीयसँगै एटीएममार्फत हुने कारोबार पनि बढेको हो । मासिक रूपमा चैतको तुलनामा जेठसम्म एटीएम कारोबार १ सय ४४ प्रतिशत बढेको छ ।

तीन महिनामा एटीएमबाट ५४ अर्ब २७ करोड अर्ब झिकियो

गत वैशाखमा ग्राहकले एटीएमबाट मात्र २३ अर्ब १५ लाख र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ झिकेका थिए । ०७६ चैतमा यस्तो कारोबार ९ अर्ब ४ करोड रुपैयाँ थियो । लकडाउनका कारण सबै बैंक नखुलेको तर एटीएमबाट चौबीसै घण्टा कारोबार गर्न सकिने भएकाले धेरै कारोबार भएको राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थाले सबै विद्युतीय कारोबार र राष्ट्र बैंकले आरटीजीएसमा शुल्क घटाएकाले ती कारोबार बढेको बताइएको छ । सो अवधिमा एटीएमबाट हुने कारोबार संख्या पनि १ सय ४३ प्रतिशत बढेको छ । गत चैतको तुलनामा वैशाखमा यस्तो कारोबार संख्या १ सय ९१ प्रतिशत बढेको थियो । गत चैतमा १० लाख ३८ हजारवटा कारोबार भएकामा वैशाखमा ३० लाख २० हजार र जेठमा २५ लाख २० हजारवटा कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।

लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार पनि १ सय २७ प्रतिशत बढेको छ । गत चैतमा मोबाइल बंैकिङमार्फत ५ अर्ब ३९ करोड रुपैयाँ कारोबार भएको थियो । जेठमा यस्तो कारोबार १२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । चैतको तुलनामा वैशाखमा भएको मोबाइल बैंकिङ कारोबार करिब ८० प्रतिशत बढेको देखिन्छ । चैत ११ देखि जेठसम्म मोबाइल बैंकिङ कारोबार संख्या पनि ३० प्रतिशत बढेको देखिन्छ । गत चैतमा ३२ लाख ८२ हजारवटा मोबाइल बैंकिङ कारोबार भएका थिए । वैशाखमा यो संख्या ४९ लाख ६० हजार पुग्यो । जेठमा केही घटेर ४२ लाख ५१ हजारमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल बैंकिङबाट ससानो कारोबार गर्न पाइने भएकाले लकडाउन अवधिमा त्यसको लोकप्रियता बढेको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउन अवधिमा इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ । चैतदेखि जेठसम्मको अवधिमा इन्टरनेट बैंकिङको कारोबार ७९ र संख्या ७६ प्रतिशतले घटेको छ । इन्टरनेट बैंकिङमार्फत ठूलो कारोबार गर्न पाइन्छ । लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प भएकाले ठूला कारोबार भएका छैनन् । सोही कारण सो अवधिमा इन्टरनेट बैंकिङ कारोबार घटेको भुक्तानी विभाग प्रमुख नेपालले बताए । चैतदेखि जेठसम्म आरटीजीएस कारोबार भने बढेको देखिन्छ । गत चैतको तुलनामा जेठसम्म आरटीजीएसको कारोबार ५२ प्रतिशत र कारोबार संख्या २८ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । आरटीजीएस ठूला कारोबारका राष्ट्र बैंकले निर्माण गरेको विद्युतीय भुक्तानी माध्यम हो ।

लकडाउन अवधिमा पोओएस (पोस्ट अफ सेल) कारोबार १ सय ३० प्रतिशत र संख्या १ सय ९२ प्रतिशत बढेको छ । यो कारोबार गर्दा कार्डमार्फत हुने भुक्तानी हो । पीओएस कारोबार बढ्नुको अर्थ नगदरहित कारोबारले बढ्यो भन्नु हो । सरकारको नीतिअनुसार राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेको छ । सोही कारण पछिल्ला वर्षमा नगदरहित कारोबार बढ्दै गएको राष्ट्र बैंकले दाबी गरेको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको राष्ट्र बैंकले गत चैतदेखि विद्युतीय कारोबारको सीमा बढाएको छ । हाल मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइन्छ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा ३० लाखसम्मको कारोबार गर्न सकिन्छ ।

इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । यस्तै, वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एक दिनमा १ लाख र महिनामा ५ लाखसम्म कारोबार गर्न सकिन्छ ।

प्रकाशित : असार ५, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?