लकडाउन होस् वा सामान्य अवस्था, इन्टरनेटको स्पिडमा धेरै उपभोक्ताको गुनासो छ । तर इन्टरनेटको स्पिडमा राउटरको गुणस्तर, उपभोक्ताको चेतना, माग र आपूर्तिबीचको सन्तुलन एवम् कन्टेन्टसहित धेरै पक्षले प्रभाव पारिरहेको हुन्छ ।
काठमाडौँ — इन्टरनेट सेवा प्रदायकप्रति ग्राहकको कति धेरै गुनासो छ भनेर बुझ्न अन्त जानुपर्दैन । सेवा प्रदायकको फेसबुक पेजमा आउने कमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी इन्टरनेटको स्पिड सुस्त भएको भन्ने गुनासो हुन्छन् । प्राय:ले मैले यति स्पिडको इन्टरनेट लिएको थिएँ । तर थोरै मात्र स्पिड किन छ भन्ने गुनासो गरेका हुन्छन् । उपभोक्ताले बारम्बार गुनासो गरिरहे पनि सेवा प्रदायक भने आफ्नोतर्फबाट कुनै समस्या नरहेको दाबी गरिरहन्छन् ।
इन्टरनेट स्लो हुनुमा कहिले सेवा प्रदायकको नेटवर्क त कहिले उपभोक्ताको राउटरको पनि समस्या हुन सक्छ । योबाहेक अन्य प्राविधिक पक्षले पनि हाम्रो इन्टरनेटको गतिलाई धेरै प्रभाव पारिरहेका हुन्छन् । इन्टरनेटको स्पिडमा राउटरको गुणस्तर, उपभोक्ताको चेतना, माग र आपूर्तिबीचको सन्तुलन एवं कन्टेन्टसहित धेरै पक्षले प्रभाव पारिरहेको हुन्छ ।
इन्टरनेट सेवा प्रदायकको दाबी छ– ८० प्रतिशत गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन् । ‘हामीलाई आउने प्राय: गुनासो उपभोक्ताको वाइफाई कनेक्टिभिटीसँग सम्बन्धित हुन्छन्,’ इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृत समितजन थिङ भन्छन्, ‘भन्नलाई फाइबर इन्टरनेट भनिए पनि वाइफाईमा बढी समस्या आउने गरेको छ ।’
सेवा प्रदायकले फाइबर वा तारमार्फत राउटरसम्म इन्टरनेट क्वालिटी नियन्त्रण र प्रबन्ध गर्न सक्ने भए पनि राउटरपछिको मोबाइल वा ल्यापटपमा वाइफाई कनेक्टिभिटीमा आउने समस्या प्रबन्ध गर्न धेरै कठिन हुने थिङसहित धेरैको भनाइ छ । इन्टरनेटका उपभोक्तामध्ये सबैले घरमा मोबाइल वा ल्यापटपमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्छन् । केबल धेरै कमले प्रयोग गर्छन् । नेपालमा प्राय: वाइफाई २.४ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्छन् । यो नि:शुल्क फ्रिक्वेन्सी हो । यो प्रयोगका लागि अनुमति लिनुपर्दैन, जसले प्रयोग गरे पनि हुन्छ । ‘धेरैजसो प्रयोगकर्ताले सुरुवाती समयमा इन्टरनेट ठीक थियो, अहिले किन समस्या आयो भनेर प्रश्न गर्नुहुन्छ,’ उनी भन्छन्, ‘तर यसको प्राविधिक पक्ष नबुझ्दा पनि सेवा प्रदायकलाई बढी दोष आइरहेको छ, सेवा प्रदायकले पनि उपभोक्तालाई यसबारे बुझाउन सकेका छैनन् ।’
वाइफाई प्रयोगका लागि नि:शुल्क फ्रिक्वेन्सीमा राखिएको २.४ गिगाहर्ज ब्यान्डमा वाइफाई सिग्नल प्रवाहका लागि जम्मा तीनवटा ननओभर ल्यापिङ च्यानल मात्रै हुन्छन् । यसको अर्थ हो, एक ठाउँमा वा वरपर २.४ गिगाहर्ज ब्यान्डका तीनवटा राउटर प्रयोग गर्दा पनि सिग्नलमा समस्या हुन्न । तर एउटै घर वा छिमेकमा बिस्तारै धेरै आईएसपीका धेरै राउटर बढ्दै जाँदा सिग्नल डिस्टर्ब हुँदै जान्छ र वाइफाईमा समस्या बढ्दै जान्छ । २.४ गिगाहर्जको राउटर एउटै क्षेत्रमा धेरै प्रयोग भएका छन् भने पनि त्यहाँ वाइफाईमा समस्या हुन सक्छ । यो राउटरको विशेषता भनेको कम ब्यान्डविथ ठूलो क्षेत्रमा प्रवाह गर्न सक्छ । त्यसकारण एक घरमा राखेको राउटर र अर्को घरमा राखेको राउटरको वाइफाई सिग्नल जुध्दा पनि इन्टरनेटको स्पिड प्रभावित हुन सक्छ । सानो क्षेत्रमा धेरै राउटर हुँदा जसको राउटर कमजोर हुन्छ, उसको वाइफाई सिग्नल प्रभावित हुन्छ । र, इन्टरनेटको स्पिड कमजोर हुन जान्छ । यो छिमेकमा कसैले ठूलो पावरको मोटरले पानी तानेपछि कमजोर मोटर भएको अन्य घरको धारामा पानी नआउने समस्या जस्तै जस्तै हो ।
नि:शुल्क फ्रिक्वेन्सीमा प्रयोग हुने वाइफाईका लागि हरेक देशमा नियामक निकायले राउटरको क्षमता निर्धारण गरेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि नेपालमा प्रयोग हुने राउटरको एआईआरपी (इफेक्टिभ आइसोट्राफिक रेडिएटेड पावर) तय गरेको हुन्छ । सामान्य भाषामा भन्दा यसको अर्थ वाइफाईको प्रभाव र ब्यान्डविथको प्रवाह बढीमा कति टाढासम्म गर्न पाइने भन्ने नियम हो ।
यही नियमनका आधारमा नेपाल भित्रिने राउटरको क्षमता तय हुन्छ भने सेवा प्रदायकले पनि यही नियमनको पालना गर्नुपर्छ । तर यो नियम तोडेर कसैले योभन्दा बढी क्षमताको राउटर प्रयोग गरे भने उक्त व्यक्तिको इन्टरनेट त राम्रो होला । तर सबैले यसै गर्न थाले भने फेरि सबैको अवस्था उस्तै हुन्छ । सिग्नल राम्रै भए पनि समस्या हुन्छ । नियामक निकायले नेपालको सन्दर्भ हेरेर प्रयोगकर्ता र सेवा प्रदायकको सुविधाका लागि यस्तो नियम बनाएको हुन्छ ।
प्राविधिक हिसाबले धेरै वाइफाई राउटर छिमेकमा नजिक नजिक हुँदा यस्तो समस्या देखिने गरेको छ । तर यो समस्याको समाधान नभएको भने होइन । नेपाल दूरसञ्चार प्राधिकरणले २.४ गिगाहर्जसहित ५.२ गिगाहर्जलाई पनि नि:शुल्क फ्रिक्वेन्सीका लागि प्रयोग गर्न दिएको छ । तर नेपालमा प्रयोग हुने अधिकांश मोबाइल, ल्यापटप तथा वाइफाई राउटर २.४ गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड मात्र सपोर्ट गर्ने खालका छन् । २.४ र ५.२ गिगाहर्जको विशेषता भने फरक फरक छन् ।
२.४ गिगाहर्ज फ्रिक्वेन्सीको विशेषता भनेको यसले थोरै ब्यान्डविथ ठूलो खुला क्षेत्रमा करिब १०० मिटर प्रवाह गर्न सक्छ । यो फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटरमार्फत वाइफाई प्रयोग गरिएको छ भने एउटा तलामा राखिएको राउटरले अर्को तलामा पनि वाइफाई प्रवाह गर्न सक्छ, सिग्नल कमजोर भए पनि ।
तर ५.२ गिगाहर्ज फ्रिक्वेन्सी सपोर्ट गर्ने राउटको विशेषता भने उल्टो हुन्छ । यसले धेरै ब्यान्डविथ प्रवाह गर्छ । तर सानो खुला क्षेत्र करिब २५ मिटरमात्रै । एउटा कोठामा राखिएको ५.२ गिगाहर्जको राउटरले सोही कोठाबाट अर्को कोठामा पनि वाइफाईको सिग्नल नदिन सक्छ । यो राउटर प्रयोग गर्दा हरेक कोठामा फरक फरक राउटर प्रयोग गर्नुपर्ने हुन सक्छ । तर नेपालमा एउटा घरमा राखिएको राउटर विभिन्न कोठा र फरक फरक तलामा समेत प्रयोग गरिने हुनाले प्रयोगमा भने २.४ गिगाहर्जको राउटर नै चलनचल्तीमा छ । इन्टरनेट सेवा प्रदायकहरूले पनि इन्टरनेट जडान गर्दा यही राउटर प्रयोग गर्ने गरेका छन् ।
वाइफाईका कारण इन्टरनेटको स्पिड कम भएको गुनासो सम्बोधनका लागि ५.२ गिगाहर्जको राउटरमा स्वीच हुनुको विकल्प नभएको जानकारहरूको भनाइ छ । ५.२ गिगाहर्जको राउटरमा भने धेरै च्यानल हुन्छन् । यसमा २४ वटासम्म ननओभर ल्यापिङ च्यानल हुन्छन् । यसको अर्थ हो, धेरै राउटर एकै ठाउँमा वा नजिक राखे पनि वाइफाईको सिग्नलमा समस्या आउँदैन । राउटरले स्वत: आफूलाई उपयुक्त च्यानल चयन गरी सिग्नल प्रवाह गर्दछ । नेपालमा प्रयोग हुने करिब एकतिहाइ मोबाइल, ल्यापटपमात्रै ५.२ गिगाहर्ज सपोर्ट गर्ने खालका छन् । ५.२ गिगाहर्जको राउटर राखिएका ठाउँमा वाइफाईसँग सम्बन्धित समस्या लगभग शून्य भएको इन्टरनेट सेवा प्रदायकहरूको अनुभव छ । तर ५.२ गिगाहर्ज अलि बढी महँगो पनि पर्छ र यसले २.४ गिगाहर्ज पनि सपोर्ट गर्छ ।
राति ९ देखि ११ बजेसम्म इन्टरनेट स्लो हुने गरेको समस्या सेवा प्रदायकलाई बढी आउने गर्छन् । यो धेरै प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्ने समय पनि हो । पहिलो कारण, घरमा बसेका धेरै व्यक्ति एकैपटक मोबाइल वा ल्यापटपमा इन्टरनेट प्रयोग गरिरहेका हुन्छन् । र, छिमेकमा भएका सबै वाइफाई राउटरका एकैचोटि सबै च्यानल प्रयोग हुन्छन् । दोस्रो कारण, एउटा घरमा लिइएको इन्टरनेट ब्यान्डविथ आफैंमा फरक फरक प्रयोगकर्तामाझ सेयरिङ भएर आइपुगेको हुन्छ भने फेरि एउटा वाइफाई राउटरबाट प्रवाह हुने ब्यान्डविथ पनि फरक फरक धेरै मोबाइल वा ल्यापटपमा उपभोक्तमा एकैचोटि बाँडिने सम्भावना बढी हुन्छ । उदाहरणका लागि, कसैको घरमा १० एमबीपीएस स्पिडको इन्टरनेट जडान भएको छ भने घरसम्म आइपुग्दा इन्टरनेट अन्य प्रयोगकर्ताको घरमा पनि बाँडिएर आइपुगेको हुन्छ ।
सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट एउटा ब्यान्डविथ ८ जना उपभोक्तालाई बाँड्ने गरी शुल्क स्वीकृत गराएका हुन्छन् । सेवा प्रदायकले औसत करिब ७–१० अमेरिकी डलर प्रतिएमबीपीएसका दरमा अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्दछ, आएसपी सेवा ब्यान्डविथ सेयरिङबाटै चल्ने हो ।
यसैकारण हामीले घरमा प्रयोग गर्ने इन्टरनेट सस्तो पर्न गएको हो । सबैले एकैपटक इन्टरनेट प्रयोग गर्दैनन्, प्रयोग गरे पनि सबैले एकैपटक डाउनलोड गर्दैनन्, सबैले एकैपटक क्लिक गर्दैनन् भन्ने सिद्धान्तका आधारमा इन्टरनेट सेयरिङ गरिएको हुन्छ । यसलाई साधारण भाषामा बुझ्दा सडक र गाडीको उदाहरणलाई लिन पनि मिल्छ । सडकमा सबै गाडी एकैपटक गुड्दैनन् भनेर सडकको चौडाइ र लेन निर्माण गरिएको हुन्छ । तर एकैपटक धेरै गाडी गुडे भने सडकमा ट्राफिक जाम हुन्छ ।
धेरै उपभोक्ताले एकैपटक इन्टरनेट प्रयोग गर्दा रातको समयमा इन्टरनेटको स्पिड कम हुन सक्छ । तर पिक आवरमा इन्टरनेट स्पिड कम हुनुमा उपभोक्ताको मात्रै दोष हुन्न । सेवा प्रदायकले पनि पिक डिमान्ड धान्ने गरी ब्यान्डविथ प्रवाह गरेका छैनन् भने पनि यो समस्या हुन सक्छ । लकडाउनमा ब्यान्डविथको माग बढेपछि अधिकांश सेवा प्रदायकले ब्यान्डविथको आपूर्ति बढाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।
नेपालका प्राय: इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुकमा भिडियो हेर्दा इन्टरनेट स्लो भएको अनुभव गर्दैनन् । तर डिज्नी प्लस भिडियो हेर्दा उनीहरूले इन्टरनेट स्लो भएको अनुभव गर्न सक्छन् । यस्तो किन हुन्छ त ? हामीले इन्टरनेटमा प्रयोग गर्ने कन्टेन्ट कहाँ राखिएको (होस्ट गरिएको) छ भन्ने कुराले पनि इन्टरनेट स्लो भएको अनुभूति हुन सक्छ ।
गुगल, फेसबुकले युट्युबसहित आफ्नो प्लेटफर्ममा हुने सबै कन्टेन्टका लागि नेपालमै क्यास सर्भर (एजसीडीएन) राखेका छन् । हामीले इन्टरनेटमा हेर्न खोजेको कन्टेन्ट हाम्रो नजिकै होस्ट गरिएको छ भने त्यो छिटो खुल्छ र कुनै नेटवर्क समस्या भए पनि तत्कालै समाधान हुन्छ । तर टाढा होस्ट भएको कन्टेन्ट हेर्दा कन्टेन्टले धेरै दूरी र नेटवर्क पार गरेर हामीकहाँ पुग्ने हुन्छ । सामान्यतया यसलाई आन्तरिक र बाह्य ट्राफिक भनिन्छ ।
आन्तरिक ट्राफिकलाई नियन्त्रण र समस्या प्रबन्ध गर्न सेवा प्रदायकको भूमिका हुने भए पनि नेपाल बाहिर जाने ट्राफिकमा आउने समस्या समाधान गर्ने क्षमता उनीहरूमा हुन्न । नेपालमा ब्यान्डविथ भित्रिने गेटवेसम्म मात्रै उनीहरूले गुणस्तर नियन्त्रण र समस्या समाधान गर्न सक्छन् । जस्तो, सिंगापुरमा होस्ट भएको कुनै कन्टेन्टमा नेपालबाट पहुँच पाउन नेपालबाट भारत हुँदै सिंगापुरसम्म कमान्ड पुग्नुपर्ने हुन्छ । तर भारत वा सिंगापुरको कुनै स्वीच वा राउटरमा कुनै प्राविधिक गडबडी छ भने पनि नेपालका सेवा प्रदायकको नियन्त्रण हुन्न ।
नेपाली कन्टेन्ट कम र नेपालमा होस्ट गरिएको कन्टेन्ट पनि कम भएकाले नेपाली इन्टरनेट प्रयोगकर्ताले पहुँच गर्ने कन्टेन्ट प्राय: बाहिरै हुन्छन् । तर आफ्नै देशमा अधिकांश कन्टेन्ट होस्ट भएका चीन, जापान, अमेरिकाका प्रयोगकर्ताले इन्टरनेटको स्पिड बढी अनुभव गर्ने जानकारहरू बताउँछन् । जस्तो, नेपाली इन्टरनेट प्रयोगकर्ताले टिकटकको कन्टेन्ट हेर्न बाह्य ट्राफिक ब्यान्डविथ खपत गर्नुपर्ने हुन्छ भने चीनका प्रयोगकर्तालाई त्यो आन्तरिक ब्यान्डविथभित्र पर्दछ । त्यसको ठीक उल्टो चीनका प्रयोगकर्ताले युट्युब, फेसबुक खोल्न बढी समय कुर्नुपर्ने हुन्छ नेपाली प्रयोगकर्ताले पर्दैन । नेपाली प्रयोगकर्ताले ईकान्तिपुरको वेबसाइट खोलेर समाचार पढ्दा छिट्टै खुलेको अनुभूति गर्न सक्छन् भने न्युयोर्क टाइम्सको वेबसाइट खोल्न बढी समय कुर्नुपर्ने हुन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चैतसम्ममा इन्टरनेट सेवा प्रदायकका ग्राहक ११ लाख ५ हजार छन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय ब्यान्डविथ साढे ४ सय जीबीपीएस हाराहारीमा भित्र्याइरहेका छन् भने आन्तरिक ब्यान्डविथ २ हजार जीबीपीएसभन्दा बढी छ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) का अनुसार लकडाउनका बेला २५ प्रतिशत ब्यान्डविथको माग बढेको छ । अहिले दैनिक सवा चार सय जीबीपीएस हाराहारीमा अन्तर्राष्ट्रिय ब्यान्डविथको माग छ भने आन्तरिक ब्यान्डविथको माग १७ सय जीबीपीएस हाराहारीमा छ । गुगल, फेसबुकजस्ता धेरै प्रयोगकर्ताले प्रयोग गर्ने कन्टेन्ट क्यास सर्भरका रूपमा नेपालमै होस्ट गरिएकाले पहुँच छिटो भएर आन्तरिक ब्यान्डविथको माग बढी भएको हो ।
आइस्पान अध्यक्ष भोजराज भट्ट लकडाउनका बेलामा सीमित कर्मचारी परिचालन गरेर मर्मत सम्भारको काम गर्नुपरेकाले पनि ग्राहकको गुनासो बढेको बताउँछन् । अधिकांशको समस्या राउटरसँग सम्बन्धित रहेको उनको भनाइ छ । इन्टरनेट जडान गर्दा सेवा प्रदायकले सामान्य खालको राउटर जडान गरिदिने र त्यसको क्षमता सीमित हुने गरेको उनको अनुभव छ । योबाहेक राउटर राख्ने स्थानले पनि वाइफाईको गुणस्तरमा निकै प्रभाव पारेको हुन्छ । राउटरबाहेक नेटवर्कमा समस्या आउँदा पनि मर्मतका लागि केही समय लाग्ने गरेको छ ।
‘ब्यान्डविथको माग र आपूर्तिबीच समस्या छैन,’ उनी भन्छन्, ‘जति माग छ त्योभन्दा केही बढी नै ब्यान्डविथ आपूर्ति भइरहेको छ ।’
इन्टरनेट स्पिड कम भएको गुनासो आउन थालेपछि प्राधिकरणले सेवा प्रदायकलाई एमआरटीजी (मल्टी राउटर ट्राफिक ग्राफर) को जानकारी दिन निर्देशन दिएको छ । प्राधिकरणका अनुगमन महाशाखाका निर्देशक विजयकुमार रोयका अनुसार यो भनेको ग्राहकले आफूले कति खपत गरिरहेको छु भन्ने जानकारी दिने प्रणाली हो । लकडाउनयता उपभोक्ताले इन्टरनेट स्लो भएको गुनासो गरिरहेका छन् । त्योबाहेक आफूले धेरै एमबीपीएसको इन्टरनेट लिए पनि थोरै मात्र ब्यान्डविथ पाइरहेको उनीहरूको गुनासो छ ।
‘ग्राहकले आफूले ३० एमबीपीएसको स्पिड लिएको छु भने त्यो सबै पाउनुपर्ने धारणा राखेको देखिन्छ,’ रोयले भने, ‘प्राधिकरणले १:८ का दरले ब्यान्डविथ वितरणका लागि शुल्क स्वीकृत गरेको हुन्छ ।’
