आफन्त फिर्दा कृषिकर्मलाई सजिलो

सहरबाट गाउँ फर्किएकाहरू यतिबेला कुटोकोदालोसहित खेतबारीमा भेटिन्छन्
राजकुमार कार्की

सिन्धुली — हातमा कोदालो लिएर उनी खेतमा झरिन् । उनले बोलाएका खेताला पनि आइपुगे । कुमालफाँटमा मकै लगाएको गह्रो सुक्खा भइसकेको थियो । उम्रिएका मकै पनि पहेंलिन थालेका थिए । गोड्ने समय घर्किए मकै सप्रने छाँट थिएन । कमलामाई नगरपालिका–४ की निरु सापकोटाले १५ जना लगाएर १५ कट्टा खेतमा लगाएको मकै गोडेपछि सन्तोषको सास फेरिन् । उनलाई सबैभन्दा हाइसन्चो काठमाडाैंमा काम गरेर बस्दै आएका देवर, देउरानी गाउँ फिरेपछि भएको थियो ।

कोरोना सन्त्रासले गर्दा मुलुक लकडाउन भएपछि फिरेका उनीहरुले घरनजिकैको १५ कठ्ठा खेतमा लगाएको मकैलाई हराभरा बनाए । दसैंमा आएर फर्किएपछि भेटका लागि अर्को दसैं कुर्नुपर्नेमा कोरोनाले जुराइदिएको यो भेटमा परिवारै मिलेर कृषिकर्ममा लागे । काम गर्ने मानिस खोज्दा नपाइने भएकाले मकै गोड्न नै १५ दिन लाग्नेमा यो पाला दुई दिनमै सकिएको निरुले सुनाइन् ।

घरमा काम गर्ने मान्छे हुँदा पर्म लगाउन आउने भएकाले यसपालि हिउँदेबाली मकैका लागि उनले धेरै चिन्ता लिनुपरेन । चाडबाडमा समेत कमै आउनेहरु पनि यसपालिको लकडाउनले काम बन्द भएपछि घर फिरेका छन् । यसले मकै, गहुँ, चैते धान, दलहन, तरकारी तथा फलफूलका लागि किसानलाई काम गर्ने मानिस खोज्नुपर्ने पिरलो छैन ।

सरकारी तथ्यांकमै यही अवधिमा भारत तथा तेस्रो मुलुकबाट ३ सयभन्दा बढी युवा जिल्ला भित्रिएका छन् । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको सिन्धुलीमा बाँझो जमिनमा समेत खेती हुन थालेको बताइएको छ । ‘कोरोनाको डर भनेर के गर्नु मकै भएन भने हामी किसानको उठिबास नै लाग्छ, आफन्त र खेताला लगाएर मकै गोडाएँ, अब ढुक्क भयो,’ निरुले भनिन् । खेतमा एकअर्काबीच दूरी राखेर काम गराएको उनले जानकारी दिइन् ।

निरु मात्र होइन, जिल्लाका प्राय: ठाउँका किसानले यतिबेला खेतीपातीका लागि समस्या भोग्नुपरेको छैन । अन्न उत्पादनका लागि ऊर्वर कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रका किसान यतिखेर व्यस्त छन् । सहर बसिरहेकामध्ये धेरैजसो गाउँ आएकाले समस्या नभएको किसान बताउँछन् । बालीनाली लगाउने र भित्र्याउने काम जारी राखेका किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापामगर बताउँछन् । ‘वर्षा भइरहेकाले पाखाभित्ताका बारी चिसो भएपछि किसानले मकै छर्दै छन्,’ उनले भने, ‘सुरक्षित भएर काम गर्दा बाधा नहोला ।’

कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुलीमा बर्सेनि ६ हजार १ सय ५० हेक्टर जमिनमा गहुँ खेती, २७ हजार १६० हेक्टर जमिनमा मकै र २ हजार १९ हेक्टर जमिनमा तेलहन खेती हुँदै आएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ कुमालफाँटका किसान मकै गोड्दै । तस्बिर : राजकुमार/कान्तिपुर

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनासँगै समुद्री आँधीको त्रास

भारतको उडिसा र पश्चिम बंगालका तटीय भेगका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला बंगालको खाडीमा विकसित भएर पूर्वी तटीय क्षेत्रमा बढ्दै गरेको शक्तिशाली समुद्री चक्रवात अम्फानले उडिसा, पश्चिम बंगाल र बंगलादेशलगायतमा त्रासदी मच्चाएको छ ।

चक्रवातको असरस्वरूप आउने समुद्री आँधीले मच्चाउन सक्ने ताण्डवलाई ध्यानमा राख्दै त्यहाँका तटीय भेगका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको जलवायु तथा मौसम पूर्वानुमान विभागका अनुसार अम्फान बुधबार भारतीय समयअनुसार २ बजे तटीय क्षेत्रभित्र प्रवेश गरेको छ ।

चक्रवातबाट सिर्जित समुद्री आँधीको वेग प्रतिघण्टा १ सय २० किमिदेखि २ सय किमिसम्म रहने विभागले जनाएको छ । त्यति वेगको आँधीले ठूलै जनधनको क्षति पुर्‍याउन सक्ने क्षमता राख्छ । साथै अम्फानका कारण उडिसा, पश्चिम बंगाल र बगलादेशका केही तटीय क्षेत्रमा भीषण वर्षा हुने पूर्वानुमान समेत विभागले गरेको छ ।

अम्फानलाई पछिल्लो दुई दशककै सबैभन्दा खतरनाक चक्रवात अर्थात् सुपर साइक्लोन दाबी गरिएको छ । सन् १९९९ मा आएको यस्तै भीषण चक्रवातले उडिसामा १० हजारभन्दा बढीको ज्यान लिएको थियो भने २ लाखभन्दा बढी गाईवस्तु मारिएका थिए । उक्त चक्रवातबाट ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

विभागले मंगलबार नै विशेष बुलेटिन जारी गर्दै अम्फानको सघनता, त्यसको दिशा र वेगबारेमा जानकारी गराएको थियो । साथै यसबाट विशेषगरी उडिसा, पश्चिम बंगाल र बंगलादेशका तटीय क्षेत्रको क्षेत्र प्रभावित हुने विभागले बताएको छ ।

विभागले तीव्र गतिमा आउने सामुद्रिक आँधीसँगै उडिसाका बलासुर, भद्राक, मयूरभन्ज, केन्दरपारा र पश्चिम बंगालका मेदिनीपुर, परगना, हुग्ली, कोलकातालगायतका जिल्लामा भारी वर्षा हुने अनुमान गरेको छ । खराब मौसमलाई ध्यानमा राख्दै त्यस क्षेत्रका माझीहरुलाई माछा मार्न नजान पनि विभागले चेतावनी जारी गरेको छ ।

विभागको चेतावनीपछि उडिसा र पश्चिम बंगालका तटीय क्षेत्रका २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यो चक्रवातको असर बिहीबारसम्म रहने जनाइएको छ । चक्रवात तटीय क्षेत्रमा प्रवेश गर्ने क्रममा समुद्रमा ५ मिटरसम्मको अग्लो छाल उठ्ने अनुमान पनि विभागले गरेको छ ।

विस्थापितहरुलाई राख्नका लागि १७ सयभन्दा बढी अस्थायी आश्रयस्थलहरु निर्माण गरिएका छन् । विस्थापित हुने मानिसलाई राख्नका लागि पश्चिम बंगाल र उडिसाका सरकारी कार्यालय, स्कुल र कलेजहरुलाई खाली गराइएको छ । ओडिसा र पश्चिम बंगालका प्रवासी कामदारहरुलाई आआफ्नो गन्तव्यमा पुर्‍याउनका लागि सुरु गरिएको विशेष श्रमिक रेल सेवा बिहीबारसम्मका लागि बन्द गरिएको छ । त्यसैगरी बिहीबार बिहानसम्मका लागि कोलकाता विमानस्थल पनि बन्द गरिएको छ ।

हुन पनि तटीय क्षेत्रमा प्रवेश गरेको केही बेरमा अम्फानले बितण्डा देखाउन सुरु गरेको थियो । बुधबार साँझसम्म उडिसामा २ जनाको ज्यान गएको छ भने थुप्रै धनमालको क्षति भइसकेको छ ।

सामान्यत: वर्षाका बेला यस किसिमका सामुद्रिक आँधी आउने गर्छन् । सन् २००८ मा बंगालको खाडीबाट उठेको ‘नरगिस’ नामको सामुद्रिक आँधीले म्यान्मारमा मात्र १ लाखभन्दा बढीको ज्यान गएको थियो । गतवर्ष उडिसामा आएको सामुद्रिक आँधी ‘फानी’ ले ९० भन्दा बढीको ज्यान गएको थियो र राज्यका डेढ करोडभन्दा बढी मानिस नराम्ररी प्रभावित भएका थिए ।

कोरोना भाइरसको महामारीले आक्रान्त पारिरहेका बेला चक्रवातले गर्ने क्षति र त्यसको व्यवस्थापन थप चुनौतीपूर्ण ठानिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन एकातर्फ सामाजिक दूरी कायम गर्नु पर्दा विस्थापित मानिसको सुरक्षित व्यवस्थापन सहज भने छैन ।

यद्यपि उडिसा राज्य सरकारले यस किसिमका सामुद्रिक आँधीसँग जुध्न आवश्यक संयन्त्र विकास गरेको हुँदा विपद्पछिको व्यवस्थापन तीव्र गतिमा हुने अपेक्षा गरिएको छ । गत वर्षको ‘फानी’ सामुद्रिक आँधीका पछि उडिसा राज्य सरकारको विपद् व्यवस्थापनले खेलेको प्रभावकारी भूमिकाको निकै प्रशंसा भएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×