गौरवका आयोजनाको प्रगति ५ प्रतिशत

प्रगति नभएकालाई बजेट नछुट्याउन विज्ञको सुझाव
छुट्याइएको रकमको २९ प्रतिशत मात्र खर्च
विमल खतिवडा

काठमाडौँ — चालु आवमा धेरैजसो राष्ट्रिय गौरवका आयोजनाको प्रगति सामान्यमात्रै देखिएको छ । २२ आयोजनामध्ये प्राय:को भौतिक प्रगति ५ प्रतिशतमात्रै बढेको छ ।

गौरवका आयोजनाको प्रगति ५ प्रतिशत

गौरवका आयोजनाको संख्या धेरै भएको, लक्ष्यअनुसार प्रगति नभएको र कतिपय आयोजना अनावश्यक रहेको भन्दै आउँदो बजेटमा पुन: प्राथमिकीकरण गरी रकम विनियोजन गर्न विज्ञहरूले सुझाएका छन् । प्रधानमन्त्री कार्यालयले चैत मसान्तसम्म गरेको बजेट कार्यान्वयन समीक्षाअनुसार गौरवका आयोजनाका लागि छुट्याइएको बजेटको २९ प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फ ५०, पुँजीगततर्फ २६ दशमलव ३ र वित्तीयतर्फ ४० प्रतिशत खर्च भएको छ ।

यस वर्ष गौरवका आयोजनाका लागि १ खर्ब २ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । चैतसम्ममा २९ अर्ब रुपैयाँ मात्र खर्च भएको प्रधानमन्त्रीको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । बाँकी तीन महिनामा ७० प्रतिशत बजेट खर्च हुन सक्ने अवस्था छैन । धेरैजसो आयोजनाको काम कोरोना संक्रमण फैलिनुअघि निकै कम गतिमा भइरहेको थियो । कोरोना असर कम गर्न चैत ११ देखि लकडाउन सुरु भएपछि प्रगति झन् घटेको छ । वर्षान्तको अन्तिम महिनामा खर्च गर्ने विगतको अभ्यास रहे पनि कोरोनाका कारण गौरवका आयोजनाको थप प्रगति सम्भावना कम छ ।

उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना असारसम्म काठमाडौंको सुन्दरीजलमा झार्ने भनिए पनि लकडाउनले गर्दा सोचेअनुरूपको काम गर्न नसकिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री बताउँछन् । ‘असारभित्रै सुन्दरीजलमा पानी ल्याउने गरी काम अघि बढाएका थियौं,’ उनले भने, ‘तर लकडाउनका कारण सहज रूपमा निर्माण सामग्री ढुवानी गर्न नपाउँदा भनिएकै समयमा पानी ल्याउन सक्ने अवस्था छैन ।’

उनका अनुसार अहिले सिमेन्ट ल्याउन सकिएको छैन । ‘लकडाउनको समयमा पनि निर्माण सामग्री पर्याप्त भए समस्या थिएन,’ उनले भने, ‘असारमै पानी ल्याउने गरी काम हुने थियो ।’ मेलम्चीको भौतिक प्रगति ९७.५ प्रतिशत छ । गत असारयता २ दशमलव ३८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

आगामी आवमा उक्त आयोजना निर्माण सम्पन्न गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने गरी आयोजनाको दोस्रो चरणको निर्माण थालिने जनाइएको छ ।


माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्गलगायत सडक आयोजनामा पनि ९ महिनामा केही प्रगति देखिएको छ ।

चालु आवमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको गौतम बुद्ध विमानस्थलको अहिलेसम्मको भौतिक प्रगति ९० प्रतिशत छ । असारयता यो विमानस्थलमा १५ प्रतिशत प्रगति भएको छ । ‘लकडाउनका बेला पनि काम भएको छ, यसबीचमा करिब २ प्रतिशत काम गर्न सक्यौं,’ विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘डेढ सय कामदार फिल्डमा भए पनि निर्माण सामग्री ल्याउन नसक्दा सोचेअनुरूप प्रगति भएन ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ५८ प्रतिशत सकिएको छ । यसमा असारयता १६ प्रतिशत काम भएको छ । ‘लकडाउनमा पनि काम भइरहेको छ,’ विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले भने, ‘सोचेअनुरूपको स्पिड नभए पनि काम रोकिएको छैन ।’ चीनमा कोरोना देखिएयता ४ प्रतिशत काम भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलका अनुसार केहीबाहेक प्राय: आयोजनाको काम सोचेअनुरूप नै भइरहेको छ ।

२२ मध्ये १९ वटा आयोजनाको काम सन्तोषजनक रहेको उपाध्यक्ष कँडेलको दाबी छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, पश्चिम सेती जलविद्युत् आयोजना र बुढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु हुन सकेको छैन । निर्माणको अन्तिम चरणमा रहेका तामाकोसी, मेलम्ची खानेपानी र गौतम बुद्ध विमानस्थलको काम यही वर्ष सक्ने लक्ष्य हो ।

‘लकडाउनले गर्दा समस्या भयो,’ कँडेलले भने, ‘अब भने तोकिएको समयभन्दा केही ढिलाइ हुने देखिएको छ ।’ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा चालु आवको फागुनसम्म मात्र थप ५२ किमि सडक कालोपत्र र १३ वटा पुल निर्माण भएका छन् । ०६४/६५ सालदेखि सुरु भएको यो राजमार्गले २५ जिल्लालाई छुन्छ । पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म सडकको दूरी १८७९ किमि छ । जुन सडकले २ सय १५ बस्तीलाई जोड्नेछ । ०७९/८० मा निर्माण सक्ने लक्ष्य लिए पनि अहिलेसम्म यसको भौतिक प्रगति ५४ प्रतिशत छ । त्यस्तै कालीगण्डकी करिडोरको उत्तर खण्डमा चालु आवको फागुनसम्म ३३ किमि ग्राभेल सडक निर्माण भएको छ । दक्षिण खण्डमा भने कालोपत्र सुरु हुन सकेको छैन ।

कर्णाली करिडोरमा फागुनसम्म १० दशमलव २ किमि ट्रयाक खोलिए पनि स्तरोन्नति सुरु भएको छैन । कोसी करिडोरमा फागुनसम्म १४ किमि ट्रयाक कटिङको काममध्ये हालसम्म १२ किमिको काम सकिएको छ । लामो समयदेखि काम सुरु भएका पुराना आयोजनामा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषको प्रगति सुस्त छ । रेलवे तथा मेट्रो विकास आयोजना, काठमाडौं–तराई मधेस द्रुतमार्गमा काम भए पनि प्रगति बढ्न सकेको छैन ।

आगामी आवमा सप्न्न गर्न सकिने आयोजनालाई मात्र बजेट छुट्याउन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझाव छ । ‘आगामी आवमा सम्पन्न हुनेलाई राम्रै पैसा छुट्याऔं,’ उनले भने, ‘अरू आयोजनालाई सामान्य गतिमा अघि बढाऔं ।’ माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेकाले तिनमा बढी बजेट विनियोजना गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले पनि आयोजनाको पुन:प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए । ‘थोरैथोरै पैसा छुट्याएर खेर नफालौं । क्षमता र आर्थिक अवस्थाले भ्याउन नसके आयोजनालाई प्राथमिकीकरण गरी नसकिने आयोजनालाई पछि बजेट छुट्याउन सकिन्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?