पुन: सुरु भयो ठूला संरचनाको पुनर्निर्माण
काठमाडौँ — लकडाउनका कारण रोकिएको पुनर्निर्माणको काम शारीरिक दूरी कायम गर्दै पुन: थालिएको छ । त्यसमा पहिलो प्राथमिकता ठूला संरचनालाई दिइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । धरहरा, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
धरहरा निर्माणमा दैनिक करिब ४५ जना कामदार खटिएका छन् । त्यति नै कामदार सिंहदरबार पुनर्निर्माण खाटिएको र रानीपोखरीमा २५ जनाले काम अघि बढाएको उनको भनाइ छ । ‘एकै पटक सबैतिरको काम पिकअप गर्न सकिँदैन । क्रमश: सानो स्केलबाट गर्दै जाने सोचमा छौं,’ ज्ञवालीले भने, ‘जिल्लाहरुमा पनि यही किसिमले काम सुरु गर्दै अघि बढ्छौं ।’
‘लकडाउनका बेला थोरै संख्यामा कामदार राखेर धरहराको काम अघि बढाइएको थियो । अहिले संख्या बढाएका छौं,’ उनले भने, ‘जसले गर्दा कामको रफ्तार बढेको छ । अरूतिर काम सुरु भएको एक हप्ता भयो, विस्तारै आवश्यक मापदण्ड पूरा गरी अन्यत्र पनि कामलाई तीव्र पार्छाैं ।’
निर्माण थालिएका संरचनामा काम गर्ने कामदारलाई क्याम्पमै खानेबस्ने व्यवस्था मिलाइएको छ । लकडाउनले गर्दा निजी आवास निर्माणको काम सुरु हुन सकेको छैन । यसबारे के गर्ने भन्ने निर्णय भइसकेको छैन । ‘निजी आवास निर्माणमा आफैं र समुदाय मिलेर सानो संख्यामा काम गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘गर्नु नै पर्छ भनेर निर्देशन दिने पक्षमा छैनौं । सामाजिक दूरी कायम गरेर गर्छौं भन्नेलाई रोकावट हुन्न ।’
ठूलो संख्यामा काम गर्दा लकडाउनको अवज्ञा हुने भएकाले सुरु गर्न निर्देशन नदिइएको उनले बताए । निजी आवास निर्माणमा पहिलो, दोस्रो र तेस्रो किस्ता रकम लिने समय थपिने उनको भनाइ छ । तर कहिलेसम्म थपिन्छ भन्नेबारे निधो भइसकेको छैन । ‘लकडाउनको अवस्था क्लियर भएपछि समय थप्नेबारे निर्णय गर्छौं । ०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७७ असार मसान्तसम्ममा दोस्रो किस्ता र सम्पूर्ण लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता ०७७ मंसिर मसान्तसम्ममा लिइसक्न प्राधिकरणले समय सीमा तोकेको थियो ।
प्राधिकरणअन्तर्गत निर्देशक समितिको बैठक बस्ने तयारी भइरहेको र त्यसमा छलफल भएपछि किस्ता लिने समय थपबारे निर्णय हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । ‘यसमा पुनर्विचार गर्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘कहिले कायम गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’
प्राधिकरणअन्तर्गतकै कार्यकारी समिति बैठकले शुक्रबार जोखिम वर्गलाई ५० हजार रकम दिने कुरा कार्यान्वयनमा लैजान संक्षिप्त निर्देशिका बनाई पारित गरेको उनले जानकारी दिए । गुनासो सम्बोधन चाँडो गर्ने विषयमा पनि बैठकमा कुरा उठेको उनले बताए ।
भूकम्प गएको ५ वर्षमा ६८.५ प्रतिशत पुनर्निर्माणको काम सकिएको छ । त्यस्तै १५.५ प्रतिशत काम निर्माणको क्रममा छ । यसमा निजी आवास, शिक्षा, स्वास्थ्य, पुरातात्त्विक सम्पदा, सार्वजनिक र सुरक्षा निकायका भवन पुनर्निर्माण पर्छन् । प्राधिकरणका अनुसार ४ लाख ९४ हजार ४४ निजी आवास अर्थात् ६३ प्रतिशत निर्माणको काम सकिएको छ ।
प्रकाशित : वैशाख २८, २०७७ ०८:४५