१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इन्टरनेट प्रयोग ३० प्रतिशत बढ्यो

विजय तिमल्सिना

काठमाडौँ — कोभिड–१९ को डरले घरमा बस्ने क्रम बढेसँगै तीन दिनयता इन्टरनेट ब्यान्डविथ प्रयोग ३० प्रतिशतसम्म बढेको छ । ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

इन्टरनेट प्रयोग ३० प्रतिशत बढ्यो

‘केही दिनयता इन्टरनेट ब्यान्डविथको खपत २५–३० प्रतिशत बढेको छ,’ उनले भने, ‘जसका कारण सेवाप्रदायकलाई माग धान्न गाह्रो हुने स्थिति छ ।’ कोरोना त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको, संक्रमणबाट बच्न मानिस घरमै बस्न थालेको र धेरै कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएपछि ब्यान्डविथ खपत बढेको सेवा प्रदायकको विश्लेषण छ । इन्टरनेटमा कोभिड–१९ प्रभाव परेपछि सेवा प्रदायकहरूको बैठकले शुक्रबार उपभोक्तालाई संयमित भएर इन्टरनेट प्रयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।


‘ब्यान्डविथ खपत यसैगरी बढ्ने हो भने हाम्रो नेटवर्कले माग धान्दैन,’ उनले भने, ‘उपभोक्तालाई आवश्यकबाहेकका भिडियो, गेम डाउनलोड नगर्न आग्रह गर्दै सूचना जारी गर्ने तयारी छ ।’ शनिबार वा आइतबारसम्म यस्तो सूचना जारी गरिने भट्टले जानकारी दिए । ‘सबै सेवा प्रदायकको आआफ्नै नेटवर्क क्षमता छ । सोहीअनुसार उनीहरूले ग्राहक बनाएका हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा नेटवर्कको क्षमता बढाउन सकिन्न ।’ वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जैन पनि तीन दिनयता ब्यान्डविथको माग ३० प्रतिशत बढेको बताउँछन् ।


‘हरेक दिन १० प्रतिशत ब्यान्डविथको माग बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामी नेटवर्क विस्तार गर्न सक्दैनौं । प्रयोगकर्ताले संयमित भएर प्रयोग गर्नुको विकल्प छैन ।’ राति ८ देखि १२ बजेसम्म इन्टरनेटको गति सुस्त हुन सक्ने उनको अनुमान छ । ‘प्रायः सेवा प्रदायकले भारतबाट ब्यान्डविथ ल्याइरहेका छन् ।


भारतमा पनि माग अपुग भएकाले थप गर्न गाह्रो छ,’ उनले भने । इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताको घरमा इन्टरनेट बिग्रिए अनलाइनबाट गर्न सकिने जति समाधान गर्ने तर घरघरमा गएर मर्मत नगर्ने निर्णय गरेको भट्टले बताए । उपभोक्तालाई अनलाइनमार्फत इन्टरनेटको भुक्तानी गर्न पनि आग्रह गर्ने निर्णय भएको उनले जनाए ।


नेटफ्लिक्सले घटायो गुणस्तर


घरमै आइसोलेसनमा बस्नेहरूले धेरै भिडियो हेर्दा इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ वितरणका लागि अप्ठ्यारो परेको भन्दै अनलाइन भिडियो स्ट्रिमिङ सेवा दिने नेटफ्लिक्सले भिडियोको गुणस्तर घटाउने भएको छ । युरोपभर ३० दिनका लागि भिडियोको गुणस्तर घटाउने कम्पनीले निर्णय गरेको हो । यसले ब्यान्डविथ खपत २५ प्रतिशत कम हुने कम्पनीको अनुमान छ । नेटफ्लिक्सले युरोपका लागि ३० दिन गुणस्तर घटाउने निर्णय गरे पनि अन्य देशका प्रयोगकर्ताले पनि गुणस्तर घटेको अनुभव गर्न थालेका छन् ।


अनलाइनमा भिडियो प्रसारण गर्दा कति इन्टरनेट डाटा प्रयोग हुन्छ भन्नेमा धेरै पक्षले फरक पार्छ । नेटफ्लिक्सले भने अनलाइनमा प्रसारण हुने भिडियोको बिटरेट घटाएको जनाएको छ । बिटरेटले अनलाइनमा प्रसारण हुने भिडियोलाई प्रस्ट देखाउन भूमिका खेल्छ । बिटरेट छिटो हुँदा बढी इन्टरनेट डाटा प्रयोग भए पनि भिडियो प्रस्ट देखिन्छ ।

प्रकाशित : चैत्र ८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?