घरफिर्ती केन्द्रमा नेपालीको चाप बढ्यो

होम कार्की

काठमाडौँ — कुवेतमा ४ वर्षदेखि कार्यरत सुरज मास्के एसियाली मूलका नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सालमियास्थित लुलु हाइपरमार्केट पुगे । दैनिक उपभोग्य सामान सुलभ मूल्यमा पाइने भएकाले उक्त मार्केट आप्रवासीको पहिलो रोजाइमा पर्छ तर बुधबार निकै सुनसान मार्केटका कामदारले मास्केलाई औषधि छर्दै सामान बोक्ने ट्रली दिए । 

घरफिर्ती केन्द्रमा नेपालीको चाप बढ्यो

उनी एक छाकका लागि कुखुराको मासु, सागसब्जी र दूध किन्न मार्केट पसेका थिए तर केहीबेरमै मार्केमा मान्छेको हुल नै आयो । हेर्दा हेर्दा मान्छे भरिए । ट्रलीमा धमाधम चाहिनेभन्दा बढी सामान राख्न थाले । यसो हुनुको कारण कुवेत सरकारले १४ दिनका लागि दिएको सार्वजनिक बिदा हो ।


‘सरकारले सार्वजनिक बिदाका समय मलमा भीडभाड गर्नसमेत प्रतिबन्ध लगाएको रहेछ,’ उनले भने । मास्केले फेरि बच्चालाई चाहिने दूध र खानेकुरा थपे । ‘सामान किन्ने मान्छे तँछाडमछाड गरिरहेका थिए । ट्रली खोसाखोस गरिरहेका थिए,’ उनले भने, ‘मैले ओमानमा ८ वर्ष र कुवेतमा ४ वर्ष बिताएँ । मार्केटमा यस्तो भीड कहिल्यै देखेको थिइनँ ।’


कुवेत सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन बिहीबारदेखि लागू हुने गरी दुई साता (चैत १३) सम्म सरकारी र निजी क्षेत्रका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । कुवेतमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थितिलाई थप भयावह हुन नदिन आवश्यक सबै कदम चालिएको कुवेती अधिकारीहरूको भनाइ छ । कुवेतमा रहेका ४२ लाख मानिसमध्ये ७० प्रतिशत आप्रवासी कामदार छन् ।


यसमा वैधानिक नेपाली कामदारको संख्या ६९ हजार ६ सय १४ छ । कुवेतका लागि नेपालका राजदूत दुर्गाबहादुर भण्डारीले शुक्रबार रातिदेखि नेपाल र कुवेतबीचको हवाई उडानसमेत रोकिएको बताए । वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति पाइसकेका कामदार अर्को सूचना नआएसम्म कुवेत जान पाउनेछैनन् । कुवेतको रेस्टुरेन्ट, क्याफे र ठूला व्यापारीक केन्द्र (मल) बन्द गरिएका छन् । मानिसको चहलपहल ९० प्रतिशत घटेको छ । बैंक बन्द गरिएको छ । कामको प्रकृतिअनुसार कामदारले बिदा पाएको राजदूत भण्डारीले बताए । कुवेतमा बिहीबारसम्म ८० जनालाई कोभिड–१९ को संक्रमण देखिएको छ । नेपालीलाई भने देखिएको छैन ।


कतारको एउटै क्याम्पमा बस्ने २ सय ३८ जना आप्रवासी कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँ सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो एकै दिन पहिचान भएको हो । यसअघि २४ जनामा देखिएको थियो ।


उनीहरू गत आइतबार कोरोना संक्रमण देखिएका ३ जना कामदारको सम्पर्कमा थिए । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले क्याम्पमा संक्रमित कामदारमा नेपालीसमेत परेको हुन सक्ने आशंका गरे ।


कतार सरकारले दूतावासलाई कोभिड–१९ बाट संक्रमित व्यक्तिको पहिचान दिन नमिल्ने बताएको जानकारी भारद्वाजले दिए । कतारले तत्काल नेपालबाट कामदार ल्याउन स्थगन गरेपछि दूतावासले मागपत्र प्रमाणीकरणसमेत रोकेको उनले बताए । ‘हामीले अत्यावश्यकबाहेकका नियमित कन्सुलर सेवालाई अर्को सूचना नभएसम्मका लागि बन्द गरेका छौं,’ उनले भने, ‘सामान्य सोधपुछका काम टेलिफोनबाटै गर्न सकिन्छ ।’


जोखिम बढेकाले दूतावासमा आउने सेवाग्राही पनि घटेका छन् । ‘दूतावासले कतार सरकार र कामदारबीच समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । आधिकारिक सूचनालाई नेपालीलाई दिइरहेका छौं,’ उनले भने ।


कतारमा हाल ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । उनीहरू कार्यरत क्याम्पमा ज्वरो पहिचान गर्ने कामसमेत भइरहेको छ । कतारका चिकित्सक गुणस्तरीय सेवा प्रदान गरिरहेकाले कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलीले बताए । साउदी अरब सरकारले साउदी नागरिक र अवासीय भिसा भएका विदेशी नागरिकलाई ७२ घण्टाभित्र देशभित्र छिर्न सूचना जारी गरेको छ । यसअनुसार बिदामा फर्केका नेपाली कामदार ७२ घण्टाभित्र साउदी अरब गइसक्नुपर्नेछ ।


साउदीको आन्तरिक मन्त्रालयले साउदीबाहिरका परिचयपत्रवाला आप्रवासी कामदार र आफ्ना नागरिकलाई देश छिर्न समय तोकेको हो । साउदी प्रेस एजेन्सीका अनुसार थप १२ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । यसअघि ३८ देशका नागरिकलाई साउदी प्रवेशमा रोक लगाइएको थियो । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले साउदी सरकारले नेपाललाई सुरक्षित देशका रूपमा राखेको जनाए । ‘साउदीमा भयग्रस्त अवस्था बनिसकेको छैन तर उसले सुरक्षाका लागि आवश्यक तयारी गरिरहेको छ,’ उनले भने । कोभिड–१९ संक्रमणका बिरामी धेरै देखा परेका कारण अधिकारीहरूले साउदी अरबको पूर्वी क्षेत्रको महत्त्वपूर्ण व्यापारिक सहर दमाम नजिकैको स्थान कतिफको आवतजावतसमेत बन्द गरेका छन् ।


‘साउदी सरकारको निर्णयबाट उक्त क्षेत्रमा थप संक्रमण हुन नदिन आवागमन नियन्त्रण गरिएको तथा कोही पनि नेपाली नागरिकमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन,’ राजपुतले भने । रियाद तथा दमामका घरफिर्ती केन्द्रमा नेपाली नागरिकको चाप बढ्दै गएकाले ती स्थानका कार्यालय प्रमुखसँग भेट गरी नेपाली नागरिकलाई जुनसुकै हवाईमार्गबाट भए पनि स्वदेश पठाइदिन अनुरोध गरिएको उनले जनाए । साउदी अधिकारीले भने आइतबारसम्म पर्खन अनुरोध गरेका छन् । अहिले साउदी अरबबाट हिमालयन, एयर अरेबिया र सलाम एयरबाट मात्रै नेपालीको यात्रा भइरहेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?