कामदार पठाउन रोकिएकामा कोरिया असन्तुष्ट

श्रमिक युनियनले भन्यो— मास्क खरिदमा विभेद गरियो 
होम कार्की

काठमाडौँ — नेपाली कामदार पठाउन स्थगन गरेको भन्दै दक्षिण कोरियाले नेपाल सरकारसँग असन्तुष्टि जनाएको छ । काठमाडौंस्थित कोरियन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाउँदै असन्तुष्टि व्यक्त गरेको हो । कोरियामा कोरोना भाइरस संक्रमण बढेपछि नेपालले तत्काललाई नयाँ कामदार पठाउन स्थगन गरेको छ । 

कोरियाको रोग नियन्त्रण तथा सुरक्षा केन्द्रका अनुसार सोमबार बिहानसम्म ७ हजार ३ सय ८२ जना कोरोना भाइरसबाट संक्रमित छन् । जसमा ५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये झन्डै ७५ प्रतिशत कोरियाको देइगु सहरमा छन् ।


त्यहाँ ६ सय २९ जना नेपाली कार्यरत छन् । नेपाली दूतावासले हालसम्म कोरियामा कार्यरत नेपालीलाई कोरोना भाइरसबाट संक्रमित नभएको जनाएको छ । मार्च महिनाभर कामदारको उडान तालिका नरहेको वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका प्रमुख कृष्ण खनालले बताए ।


‘परिस्थितिलाई दृष्टिगत गरी मार्चमा नयाँ कामदारको उडान तालिका नराखेका हौं,’ उनले भने, ‘बिदामा आएका कामदार भने आफैंले जोखिम बेहोरी जान पाउनेछन् ।’ खाडी मुलुकमा साउदी अरब र कुवेतले पनि कोरियासँगको उडानसमेत रोकेका छन् ।


कोरियाले हालसम्म १ लाख ८१ हजार ३ सय ८४ जनाको परीक्षण गरेको जनाएको छ । यसमध्ये १ लाख ६२ हजारको नतिजा ‘नेगेटिभ’ देखिएको छ । यता प्रवासी श्रमिक युनियनले भने मास्क खरिदमा कोरियन सरकारले विभेद गरेको भन्दै आपत्ति जनाएको छ । मास्क अभाव भएपछि कोरिया सरकारले कोरियनलाई नगरिकता र विदेशी कामदारले परिचयपत्र र स्वास्थ्य बिमा कार्ड देखाउनुपर्ने नीति ल्याएको छ ।


‘छ महिनाभन्दा कम अवधि बसोवास गरिरहेका विदेशी श्रमिक छन् । उनीहरूको स्वास्थ्य बिमा कार्ड छैन । यसअनुसार उनीहरू र कृषिमा काम गर्ने प्रायः प्रवासी श्रमिकले यो मास्क किन्न पाउँदैननन्,’ कोरियाको आधिकारिक प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘बिनाभिसाकालाई संक्रमणको आशंका लागे जाँच गर्दा नपक्रिने भनिएको थियो । तर एउटा मास्क किन्नबाट भने वञ्चित गराउने सरकारको नीति राम्रो भएन ।’

प्रकाशित : फाल्गुन २६, २०७६ ०९:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बागी ३ : एक्सनको तुजुक

फिल्म समीक्षा

काठमाडौँ — बलिउड अभिनेता टाइगर स्राफको फिल्ममा अरू केही नभए पनि एक्सन हुन्छ । अझ यसोभन्दा उत्तम हुन्छ, ‘वार’ बाहेक उनका बाँकी फिल्ममा एक्सन मात्र थियो । गठिलो ज्यानका धनी टाइगर डान्समा पनि पोख्त छन् । निर्देशकहरू उनका यी दुई गुण हेरेरै फिल्म डिजाइन गर्छन् । ‘बागी ३’ त्यही शृंखलाको निरन्तरता मात्र हो । पक्कै पनि उनका अघिल्ला फिल्मभन्दा यसमा धमकेदार एक्सन छ । 


‘बागी’ मा टाइगर प्रेमिकाका लागि भिडेका थिए, ‘बागी २’ मा बच्चाका लागि । यस पटक दाइलाई बचाउनुपर्ने जिम्मेवारी आइलागेको छ । यसका लागि उनले भारतभित्रका गुन्डा होइन, खुंखार आतंकारी संगठनसँग भिड्नुपर्छ । निर्देशक अहमद खानले परम्परागत कथा र संचरनामै सीमित रहेर टाइगरको एक्सन मात्र बेच्न खोजेको प्रस्ट हुन्छ । त्यसमा रोनाधोना, रोमान्स र कमेडीको मसला पनि छुटेको छैन ।

रोन्नी (टाइगर) एकदमै बलियो छन् तर उनका दाजु विक्रम (रितेश देशमुख) चाहिँ डरपोक । विक्रमलाई कसैले हेप्यो भने रोन्नी जाइलागिहाल्छन् । बुबाले बित्नुअगाडि विक्रमको रक्षा गर्न कसम खुवाएका छन् उनलाई । ठूलो भएपछि विक्रमले प्रहरीमा जागिर खान्छन् तर नदेखिने गरी उनको ड्युटी रोन्नीले गरिदिन्छन् । विक्रमको बहादुरी देखेरै भारत सरकारले उनलाई विशेष कामका लागि सिरिया पठाउँछ । त्यहाँ उनी आतंककारीको फन्दामा पर्छन् । लगत्तै रोन्नी सिरिया पुग्छन् । दाइलाई बचाउन उनी सफल होलान् ? फिल्म यसमै केन्द्रित छ ।

दर्जनौं गुन्डालाई हिरोले भकुरेको बाहेक ‘बागी ३’ को ट्रेलरमा खास केही थिएन तर पनि ट्रेलरले युट्युब भ्युजमा अनेकौं रेकर्ड राख्यो । केही घण्टाकै बीच नेपालको पनि युट्युब ट्रेन्डिङको अग्रस्थानमा आयो । त्यसको कारण छ, सिनेमा साक्षरता जति बढेको भनिए पनि बहुसंख्यक दर्शक आज पनि हिरोलाई बलशाली देखाएको फिल्म नै मन पराउँछन् ।

जहाँ आफन्तलाई दुःख दिनेसँग बदला लिइएको होस् । त्यसैले ठूलो लगानीका फिल्म दृश्यमार्फत नयाँ दुनियाँ सिर्जेर दर्शकसम्म पुर्‍याउने जोखिम बोल्दैनन् । जुन हिरोको जे चलिरहेको छ, त्यसैलाई ओल्टाइपल्टाई नयाँ नाममा बेच्ने गरिन्छ । बलिउडले भोगिरहेको यही नियतिको उपज हो ‘बागी ३’ । यसमा हामीले बाँचिरहेको समाजकै पात्र छन् तर यति अतिरञ्जित गरिएको छ कि तिनमा ‘आफू’ भेटिन्न ।

‘बागी ३’ मा तर्क र कारण खोजियो भने निराशा मात्र हात लाग्छ । रोन्नी एक्लैले सयौं गुन्डा तह लगाउन सक्छन् तर उनी त्यतिबिघ्न शक्तिशाली कसरी भए, निर्देशकले देखाउन आवश्यक ठानेका छैनन् । सिरिया जानुअगाडि एक्सनका लागि जति पनि परिस्थिति निर्माण गरिएको छ, त्यसमा थोरै पनि नयाँपन छैन । एक्सनको दायरा फराकिलो बनाउनकै लागि कथा सिरिया पुर्‍याइएको छ तर त्यो पनि विश्वसनीय छैन ।

आफ्नो प्रहरी अधिकृत गुमनाम हुँदा पनि भारतले वास्तै गर्दैन तर एउटा व्यक्ति रोन्नीलाई पूरा देशको भन्दा बढी शक्ति भएझैं देखाइएको छ । सयौं हतियारधारी दस्ता रोन्नीका सामु निम्छरो लाग्छ । सिरिया प्रहरी र त्यहाँ रोन्नीले भेटेको पाकिस्तानी नागरिकलाई समेत निर्देशकले आफूअनुकूल प्रयोग गरेका छन् । हेलिकप्टरबाट रोन्नीमाथि आक्रमणको दृश्य दमदार लाग्छ तर उही कथामा त्यसको प्रभावकारिता मजबुत छैन । बलियो आधार र कारणबिना फाइट मात्र देखाउँदा त्यो जति भव्य देखिए पनि सिनेमाको गुणवत्ता बढाउने मामलामा फिक्का साबित हुन्छ ।

अन्तर्राष्ट्रिय आतंककारी संगठनले भारतमा कसरी प्रभाव विस्तार गरिरहेका छन्, स्थानीय अपराधीलाई कसरी प्रयोग गरिरहेका छन्, आत्मघाती बम विस्फोस्टमा निर्दोष नागरिकलाई कसरी बलि बनाइँदै छ जस्ता पक्ष फिल्ममा पहिल्याउने प्रयास गरिएको छ । यो फिल्म हेरिरहँदा ‘टाइगर जिन्दा है’ को पनि झझल्को आउँछ । त्यसमा आतंककारीले बन्धक बनाएका भारतीय नागरिकलाई छुटाउन सलमान खान इराक पुग्छन्, यसमा दाइसहित बन्धकलाई बचाउन टाइगर सिरिया ।

भारतीय खुफिया एजेन्सीको काम गर्ने तरिका, वैदेशिक नीति, इराकभित्रै आतंककारी गतिविधिलाई हेर्ने सरकारी दृष्टिकोण आदिले सलमानको फिल्मलाई मजबुत बनाएको थियो तर यसमा टाइगर स्राफलाई सुपरहिरो बनाउने ध्याउन्नमा कथानक पाटो छुटेको छ । ‘टाइगर जिन्दा है’ को आतंककारीको नेता अबु उस्मानभन्दा कमजोर लाग्छ यस फिल्मको अबु जलाल । जबकि भौतिक संसाधनमा अबु जलाल धनी छ ।

यसमा महिला चरित्रलाई महत्त्व दिइएको छैन । हिरोइन श्रद्धा कपुरको भूमिका टाइगरको सहयोगीभन्दा माथि छैन । उनीहरूबीच प्रेम अंकुरण गराउनसमेत निर्देशक हत्तारिएका छन् । टाइगरसँगै उनी सिरिया पुग्छिन् तर त्यहाँ पनि उनलाई टाइगरको ‘हिरोइज्म’ देखाउनै सीमित गरिएको छ । मतलब, उनलाई गुन्डाले समात्छन्, हिरोले बचाउँछ ।

रितेश देशमुखको चरित्रले दुई काम गरेको छ । पहिलो, हँसाउने । दोस्रो, आफू कमजोर बनेर टाइगरलाई बलियो देखाउने । परम्परागत शैलीकै भए पनि रितेशले ‘रिफ्रेस’ भने गराउँछन् । हिरो रोन्नी मात्र होइन, मुख्य भिलेन अबु जलाललाई पनि यथेष्ट आधारबिनै बलशाली देखाइएको छ । चरित्रले डिमान्ड गरेअनुसार उनलाई पर्दामा देख्दा दर्शकमा भय सञ्चार हुन्न ।

यो फिल्मको एक्सन निर्देशन टिम, प्रोडक्सन डिजाइनर र कला निर्देशकचाहिँ तारिफका असली हकदार हुन् । एक्सन दृश्यको खिचाइ र कोरियोग्राफी सानदार छ । सर्बियामा ‘रि–क्रियट’ गरिएको सिरिया आधिकारिक लाग्छ । बजेट र दक्ष जनशक्तिको उपलब्धताले यो सम्भव भएको हो । ‘तुझे रब...’ र ‘डु यु लभ मी...’ गीत सुमधुर छन् ।

एक्सन विधाका फिल्ममा हुनुपर्ने कथाको बहाव यसमा छैन । अनुमान गरे बेगर घटनाक्रम विकास हुन्न । उस्तै प्रवृत्तिका कतिपय दृश्य दोहोर्‍याइएको छ । एक्सनमा त टाइगर निपुण छन् नै, अभिनयमा पनि खारिँदै छन् तर यही कोटीको चरित्रले बिस्तारै उनका फ्यानमा वितृष्णा जगाउन सक्छ । भूमिका प्रभावकारी नभए पनि श्रद्धा अभिनय स्वाभाविक लाग्छ । रितेश भने ‘लाउड’ ।

फिल्मको आवरण भव्य छ, आत्मा छैन । यसको अपजस निर्देशक अहमदलाई जान्छ । खासमा टाइगर स्राफ र एक्सनबाहेक ‘बागी ३’ हेर्नुपर्ने अरू कारण छैन ।

प्रकाशित : फाल्गुन २६, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×