कामदार पठाउन रोकिएकामा कोरिया असन्तुष्ट

श्रमिक युनियनले भन्यो— मास्क खरिदमा विभेद गरियो 

फाल्गुन २६, २०७६

होम कार्की

काठमाडौँ — नेपाली कामदार पठाउन स्थगन गरेको भन्दै दक्षिण कोरियाले नेपाल सरकारसँग असन्तुष्टि जनाएको छ । काठमाडौंस्थित कोरियन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाउँदै असन्तुष्टि व्यक्त गरेको हो । कोरियामा कोरोना भाइरस संक्रमण बढेपछि नेपालले तत्काललाई नयाँ कामदार पठाउन स्थगन गरेको छ । 

कोरियाको रोग नियन्त्रण तथा सुरक्षा केन्द्रका अनुसार सोमबार बिहानसम्म ७ हजार ३ सय ८२ जना कोरोना भाइरसबाट संक्रमित छन् । जसमा ५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये झन्डै ७५ प्रतिशत कोरियाको देइगु सहरमा छन् । 


त्यहाँ ६ सय २९ जना नेपाली कार्यरत छन् । नेपाली दूतावासले हालसम्म कोरियामा कार्यरत नेपालीलाई कोरोना भाइरसबाट संक्रमित नभएको जनाएको छ । मार्च महिनाभर कामदारको उडान तालिका नरहेको वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका प्रमुख कृष्ण खनालले बताए । 


‘परिस्थितिलाई दृष्टिगत गरी मार्चमा नयाँ कामदारको उडान तालिका नराखेका हौं,’ उनले भने, ‘बिदामा आएका कामदार भने आफैंले जोखिम बेहोरी जान पाउनेछन् ।’ खाडी मुलुकमा साउदी अरब र कुवेतले पनि कोरियासँगको उडानसमेत रोकेका छन् । 


कोरियाले हालसम्म १ लाख ८१ हजार ३ सय ८४ जनाको परीक्षण गरेको जनाएको छ । यसमध्ये १ लाख ६२ हजारको नतिजा ‘नेगेटिभ’ देखिएको छ । यता प्रवासी श्रमिक युनियनले भने मास्क खरिदमा कोरियन सरकारले विभेद गरेको भन्दै आपत्ति जनाएको छ । मास्क अभाव भएपछि कोरिया सरकारले कोरियनलाई नगरिकता र विदेशी कामदारले परिचयपत्र र स्वास्थ्य बिमा कार्ड देखाउनुपर्ने नीति ल्याएको छ । 


‘छ महिनाभन्दा कम अवधि बसोवास गरिरहेका विदेशी श्रमिक छन् । उनीहरूको स्वास्थ्य बिमा कार्ड छैन । यसअनुसार उनीहरू र कृषिमा काम गर्ने प्रायः प्रवासी श्रमिकले यो मास्क किन्न पाउँदैननन्,’ कोरियाको आधिकारिक प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘बिनाभिसाकालाई संक्रमणको आशंका लागे जाँच गर्दा नपक्रिने भनिएको थियो । तर एउटा मास्क किन्नबाट भने वञ्चित गराउने सरकारको नीति राम्रो भएन ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully