कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो क्यान इन्फोटेक

सूचना प्रविधि विधेयकले सुशासन ल्याउँछ : मन्त्री बाँस्कोटा 
कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका छन् । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनमी’ बनाउन सघाउने उनको भनाइ छ । 

सुरु भयो क्यान इन्फोटेक

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको २६औं क्यान इन्फोटेक उद्घाटनका अवसरमा बाँस्कोटाले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको आरोप लगाए ।


‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भने । सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐनभन्दा पनि खुकुलो भएको उनको दाबी छ । डिजिटल सुशासन हुन नदिनेले यसको विरोधमा लागिपरेको उनको भनाइ छ । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनले बताए ।


‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने र डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने, ‘अरूले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ ।’ यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाइने उनले प्रतिबद्धता जनाए ।


सरकारले अघिल्लो वर्ष संसद्मा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसद्को विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ । विधेयक अहिले संसद्मा विचाराधीन छ । विधेयकमा रहेका कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन् ।


कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले महासंघले विगतदेखि सरोकारवालासँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताए ।


सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ तयार रहेको उनको भनाइ छ । नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको र यसलाई तल्लो स्तरसम्मै पुर्‍याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै लागू गर्न आवश्यक रहेको उनले बताए । यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो ।


इन्फोटेकमा मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पेभेलियनमा राखिएको छ । प्रदर्शनीमा प्रविधि कम्पनीका उत्पादनसहित ब्रान्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको महासंघका महासचिव नारायण थापाले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सरकारले राखेका १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको र सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग सरकारले गर्ने योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको भनाइ छ ।


डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । बुधबारसम्म चल्ने इन्फोटेकमा १७४ वटा स्टल छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?