विच्याटलाई कारोबार अनुमति

माघ २३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युतीय भुक्तानीका लागि चीनमा प्रख्यात ‘विच्याट’ ले नेपालमा पनि कारोबार अनुमति पाएको छ । एनएमबी बैंकमार्फत विच्याटले कारोबार गर्न पाउनेछ । राष्ट्र बैंकले एनएमबी बैंकलाई नेपालमा हुने विच्याटको कारोबारलाई एक्वायर (प्राप्ति) गर्न अनुमति दिएको हो । 

राष्ट्र बैंकले अनुमति दिए पनि आन्तरिक रूपमा धेरै प्रक्रिया मिलाउनुपर्ने भएकाले औपचारिक कारोबार सुरु गर्न केही समय लाग्ने बैंक स्रोतले बताएको छ । अरू वाणिज्य बैंकलाई पनि यस्तो अनुमति दिन सकिने राष्ट्र्र बैंकले बताएको छ । 


राष्ट्र बैंकले अलिपेलाई पनि कारोबार अनुमति दिने तयारी गरेको छ । अलिपेको कारोबारलाई एक्वाएर गर्न हिमालय बैंकले राष्ट्र बैंकमा आवेदन दिएको छ । ‘अलिपेको आवेदनउपर अध्ययन भइसकेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब छिट्टै कारोबार अनुमति दिन्छौं ।’ नेपालमा विच्याट र अलिपेमार्फत भुक्तानी बढेपछि राष्ट्र बैंकले ती भुक्तानीलाई गैरकानुनी भन्दै गत जेठमा रोक लगाएको थियो । त्यसपछि विच्याट र अलिपे कारोबार अनुमतिका लागि राष्ट्र बैंक गएका थिए । ‘विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आबद्ध भएको जुनसुकै क्यूआर कोड, पस मेसिन वा अन्य पेमेन्ट सिस्टमको यस बैंकको स्वीकृति प्राप्त संस्थाबाहेक अन्यसँग गर्नु गैरकानुनी हुनेछ,’ राष्ट्र बैंकले परिपत्रमा भनेको थियो । 


राष्ट्र बैंकले रोक्नुअघि काठमाडौंको ठमेल र पोखरामा सञ्चालित केही होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा विच्याट, अलिपेजस्ता एपमार्फत भुक्तानी कारोबार भइरहेको थियो । यी कारोबारको आकार बढ्दै गएपछि राष्ट्र बैंकले रोक लगाएको हो । विच्याट र अलिपे चिनियाँ एप्स हुन् । यी एपले चीनमा विद्युतीय भुक्तानी सेवा पनि दिँदै आएका छन् । चीनमा यो प्रणालीमार्फत हुने विद्युतीय भुक्तानी प्रभावकारी छ । सोही कारोबार नेपालमा पनि सुरु भएको हो । नेपाल आउने चिनियाँ पर्यटक र व्यवसायीले यहाँका धेरै भुक्तानी (खासगरी चिनियाँद्वारा सञ्चालित होटल तथा व्यवसाय) विच्याट पे, अलिपे एपमार्फत गर्दै आएका छन् । 


यस्तो कारोबारमा भुक्तानी गर्ने ग्राहकको चीनमा रहेको बैंक खाताबाट पैसा घट्छ । त्यो पैसा व्यवसायीको चीनमै रहेको बैंक खातामा जम्मा हुन्छ । यस्ता कारोबारबाट नेपाललाई विदेशी मुद्राको लाभ हुँदैन । यसअघि यस्ता कारोबारका लागि कानुनी व्यवस्था थिएन । अहिले राष्ट्र बैंकले नीति बनाएको छ । अब ती माध्यममार्फत नेपालमा हुने कारोबार नेपाली बैंकिङ प्रणालीमा आबद्ध हुनेछन् ।


कान्तिपुर

Link copied successfully