काठमाडौँ — अब एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ । यसअघि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था थियो । दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने व्यवस्था पनि नयाँ भने होइन । गत भदौ अघि यही व्यवस्था थियो ।
गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटना पछि राष्ट्र बैंकले सीमा घटाएको थियो । अहिले फेरी पुरानै अवस्थामा लागिएको हो । राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा उक्त व्यवस्था छ । हालको व्यवस्था अनुसार अब एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढिमा एक लाख रुपैयाँ निकाल्न पाउँछन् ।
यसअघि प्रति कारोबार २० हजार र प्रतिदिन अघिकतम् ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो । सम्भावित जोखिम न्यूनिकरणका लागि विगतमा एटीएमबाट रकम निकाल्न मिल्ने सिमा घटाइएकोमा अहिले पुरानै अवस्थामा ल्याइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रले बताए ।
विद्युतीय कार्डमार्फत् हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा गरिएको छ । राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमा उक्त घोषणा गरेको थियो । अहिले सोही व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो । हाल पोइन्ट अफ सेल (पीएसओ) मार्फत कार्डमार्फतको कारोबारमा विक्रेताले अतिरिक्त शुल्क लिँदै आएका थिए ।
वालेट लगायत गैर–बैकिङ कारोबार प्रणालीमार्फत् रकम ट्रान्सफरको सीमा पनि राष्ट्र बैंकले बढाएको छ । नयाँ व्यवस्था अनुसार अब एजेन्ट र सब एजेन्टले प्रतिदिन २५ हजार र प्रतिमहिना एक लाख रुपैयाँसम्म ट्रासन्फर गर्न सक्नेछन् । यसअघि एजेन्ट र सव एजेन्टमार्फत भुक्तानी गर्दा एक पटकमा अधिकम ५ हजार, प्रतिदिन १५ हजार र मासिक २५ हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो । यसरी वालेटमार्फत हुने भुक्तानीले साना कारोबार गर्न समेत नपुगेपछि राष्ट्र बैंकले सीमा बढाएको हो ।
यस्तै, राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कम्पनीको भुक्तानी सीमा पनि बढाएर अधिकतम १ लाख रुपैयाँ पुर्याएको छ । उक्त सीमाभन्दा बढी रकम रेमिट्यान्स कम्पनीले पनि बैंक खाता/चेक मार्फत् भुक्तानी गर्नुपर्ने छ । यसअघि नेपालभित्रै रेमिट्यान्समार्फत पैसा पठाउँदा बढीमा ६० हजार मात्र पठाउन पाउने व्यवस्था थियो ।
‘क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन,’ एकीकृत निर्देशनमा भनिएको छ, ‘क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा सो रकम बैंकमा जम्मा गरी तोकिएको सीमासम्मको नगद झिक्न बाधा पुगेको मानिने छैन ।’
राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)को प्रभावकारी कार्यान्वयनका लागि पनि विभिन्न व्यवस्था गरेको छ ।
