काठमाडौँ — गत साता अनलाइन प्रणालीबाट ४ करोड ८१ लाख ५० हजार बराबरको ऋणपत्र कारोबार भएको छ । बुधबार नेप्सेमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ विक्रेता र एनएमबी ५० खरिदकर्ता रहने गरी १० प्रतिशत सानिमा डिबेन्चर ०५८ को ५० हजार कित्ता ऋणपत्र किनबेच भएको हो ।
ऋणपत्र प्रतिकित्ता ९६३ का दरले किनबेच भएको छ । यसअघि असार १ मा दुई वटा कारोबारमा १० प्रतिशत सानिमा डिबेन्चर ०५८ को ४२ कित्ता किनबेच भएको थियो ।
यस्तै गत साता सेयर बजारमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकम करिब ३५ प्रतिशतले बढी हो, जसमध्ये १ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच वाणिज्य बैंकहरूको मात्र (बैंकिङ समूह) छ । यो कुल साप्ताहिक सेयर कारोबारको करिब साढे ४० प्रतिशत हो ।
अघिल्ला साताहरूमा कुल सेयर कारोबारमा बैंकिङ समूहको हिस्सा घटेर ३८ प्रतिशतसम्म पुगेको थियो । गत साता केही बढेर ४० प्रतिशतभन्दा केही माथि पुगेको छ । यसको अर्थ बैंकिङ समूहअन्तर्गतका कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्यो भन्ने हो । यसअघि बिमा र लघुवित्त समूहअन्तर्गतका कम्पनीका सेयरमा लगानी बढेपछि बैंकिङ समूहको बजार कारोबार हिस्सा घटेको थियो ।
सामान्य अवस्थामा बैंकिङ समूहले कुल साप्ताहिक सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्दै आएको छ । तर, पछिल्ला ५/६ महिनायता यस्तो हिस्सामा निकै उतारचढाव देखिँदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ३८ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २६ वाणिज्य बैंकको सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जरपछि सूचीकृत बैंक संख्या २६ मा झरेको हो । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर दोस्रो बजारमा सूचीकृत छैन ।
बैंकिङ समूहको हिस्सा बढेसँगै लघुवित्त र बिमा समूहको कारोबार हिस्सा घटेको छ । यो साता बिमा समूहको कारोबार हिस्सा करिब १२ प्रतिशत र लघुवित्तको साढे ६ प्रतिशत छ । दुवै हिस्सा अघिल्लो साताको तुलनामा कम हो । गत साता उत्पादन तथा प्रशोधन समूहको कारोबार हिस्सा करिब १३ प्रतिशत छ । गत साता यो समूहअन्तर्गतका ३६ करोड ४३ लाख रुपैयाँबराबरको ६ लाख ६४ हजार कित्ता सेयर किनबेच भएका थिए ।
गत साता नेप्से परिसूचक करिब १.५ प्रतिशतले बढेको छ । पाँच दिनको कारोबारमा तीन दिन बजार बढ्यो भने २ दिन घट्यो । घट्नेभन्दा बढ्ने सूचक धेरै भएपछि साप्ताहिक कारोबारमा नेप्से १८ अंकले बढेको हो ।
गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । सो अवधिमा करिब ५ करोड रुपैयाँ बराबरको संस्थागत ऋणपत्रको किनबेच भए । सरकारी ऋणपत्रको भने कारोबार भएन ।
