कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैंककै सेयरमा आकर्षण

साताको सेयर

काठमाडौँ — दोस्रो बजारका लगानीकर्ता फेरि वाणिज्य बैंक (बैंकिङ समूह) को सेयरमा झुम्मिएका छन् । एक/दुई साताअघिसम्म बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षण घटेको थियो ।

पछिल्ला एक/दुई सातायता लगानीकर्ता पुनः बैंकिङ समूहको सेयरमा झुम्मिएको तथ्यांकहरूले देखाएका छन् । कुल सेयर कारोबारमा बैंकिङ समूहको हिस्सा बढेर करिब ५८ प्रतिशत पुग्नुले पनि यो पुष्टि हुन्छ । एक/दुई महिनाअघिसम्म यस्तो कारोबार हिस्सा ४२/४२ प्रतिशतसम्म पनि झरेको थियो । साप्ताहिक कारोबारका आधारमा छानिएका प्रमुख १० कम्पनीको सूचीमा ९ वटा वाणिज्य बैंक छन् । यसले पनि वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखाउने जानकारहरू बताउँछन् ।


नेप्सेको तथ्यांकअनुसार यो साता सेयर बजारमा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम करिब ४० प्रतिशतले बढी हो । कुल कारोबारमध्ये वाणिज्य बैंकहरूको मात्र ९९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । साताभर वाणिज्य बैंकको ५८ लाख २८ हजार कित्ता सेयर किनबेच भएका थिए ।


कुल सेयर कारोबारमा प्रायः दोस्रो धेरै हिस्सा ओगट्ने बिमा समूहको योगदान यो साता घटेको छ । कुल कारोबारमा बिमाको हिस्सा ५.२५ प्रतिशत छ । बिमाभन्दा धेरै हिस्सा जलविद्युत्, लघुवित्त, उत्पादन तथा प्रशोधन र संस्थापक सेयर समूहले ओगटेका छन् । जसमध्ये जलविद्युत् समूहको हिस्सा ६.७५, लघुवित्तको ८.९८, उत्पादन तथा प्रशोधनको ६.७४ र संस्थापक सेयर समूहको हिस्सा ७.८५ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।

बैंक तथा वित्तीय संस्थाले धमाधम पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । प्रायः प्रतिवेदनहरू राम्रा छन् । धेरैले लाभांश पनि घोषणा गरिरहेका छन् । लघुवित्त, जलविद्युत्लगायत समूहअन्तर्गतका कम्पनीमा लगानीकर्ताले खुलेर लगानी बढाउन नचाहिरहेको समयमा वाणिज्य बैंकहरूले थोरै धेरै भए पनि लाभांश घोषणा गरेको, सेयर मूल्य पनि औसतभन्दा तल झरेकोलगायत कारण लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।


यो साता करिब साढे २५ हजार कारोबारबाट १ सय ८७ कम्पनीका ५६ लाख २८ हजार कित्ता सेयर किनबेच भए । साप्ताहिक कारोबारमा नेप्से सामान्य अंकले सकारात्मक देखिए पनि साताको पहिलो दिन (आइतबार) को तुलनामा ४.१५ अंकले बढेको देखिन्छ । यो साता ‘अन्य’ र विकास बैंकबाहेक सबै समूहका परिसूचक बढेका छन् । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रकाशित : मंसिर १, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?