ठूला कम्पनीकै सेयर कारोबार रोक्का

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दूरसञ्चार कम्पनी, युनिलिभर नेपाललगायत करिब चार दर्जन कम्पनीको सेयर कारोबार रोक्का भएको छ । वार्षिक नवीकरण शुल्क नतिरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि ती कम्पनीको कारोबार रोक्का गर्न लागेको छ । गत शुक्रबार नेप्सेले सूचनामार्फत यस्तो जानकारी दिएको हो । 

दूरसञ्चार कम्पनी नेप्सेमा सूचीकृत कुल २१७ कम्पनीमध्ये बजार पुँजीकरणको हिसाबले ठूलो कम्पनी हो । यस्तै युनिलिभर नेपाल नियमित रूपमा सेयरधनीलाई उच्च प्रतिफल दिन सफल कम्पनी हो ।


दोस्रो बजारमा सूचीकृत कम्पनीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । तोकिएको समयमा शुल्क नतिर्ने कम्पनीको सेयर कारोबार रोक्का गर्ने अधिकार नेप्सेलाई छ । नेपाल दूरसञ्चार कम्पनी, युनिलिभर नेपाललगायत ४० कम्पनीले असोज मसान्तसम्म नवीकरण शुल्क नतिरेको नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रोकिएको कारोबार कम्पनीले नवीकरण शुल्क तिरेपछि सुचारु हुने नेप्सेले जनाएको छ । सेयर कारोबार रोक्का हुने कम्पनीमा लघुवित्त समूहका सबैभन्दा धेरै १९ वटा छन् । उत्पादन तथा प्रशोधन समूहका १०, व्यापार र विकास बैंकको ३/३ वटा र होटल र ‘अन्य’ समूहअन्तर्गतका २/२ वटा कम्पनी रहेको नेप्सेले जनाएको छ ।


दोस्रो बजारमा सूचीकृत कम्पनीले वार्षिक रूपमा तोकिएको नवीकरण शुल्क तिर्नुपर्छ । ‘धितोपत्र सूचीकरण विनियमावली ०७५’ को व्यवस्थाअनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुने कम्पनीले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ । ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुने कम्पनीले वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।


गत साउनसम्म नेप्सेमा २१७ कम्पनी सूचीकृत छन् । तीमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । सूचीकृत कम्पनीमध्ये ३२ वटा जलविद्युत्, १९ वटा उत्पादन तथा प्रशोधन, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा ‘अन्य’ समूहका कम्पनी छन् । ०७५ साउनमा सूचीकृत कम्पनी संख्या १९६ थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको कुल बजार पुँजीकरण हिस्सा ७७.९ प्रतिशत छ । यस्तै जलविद्युत् कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४.१ प्रतिशत, होटलको १.७ प्रतिशत, व्यापारिक संस्थाको ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.३ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।


०७६ साउनसम्ममा नेप्सेमा ४ अर्ब ३४ करोड कित्ता सेयरको सूचीकृत भएका थिए । सो अवधिमा सूचीकृत भएका सेयरको चुक्ता मूल्य ४ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?