हिमालय एयरलाइन्सले बेच्यो ६५ प्रतिशत सेयर

सुरज कुँवर

काठमाडौँ — नेपाली साझेदार कम्पनी यति वर्ल्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सबाट ल्हासाको तिब्बत एयरलाइन्सले आफ्नो शेयर झिकेको छ ।

हिमालय एयरलाइन्सले बेच्यो ६५ प्रतिशत सेयर

हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।


उनका अनुसार, तिब्बत एयरलाइन्सले बिक्री गरेको शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले खरिद गरेको हो । कम्पनीमा नेपाली साझेदारतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, शेयर खरिद गर्ने तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । यसअघिको तिब्बत एयरलाइन्स भने अर्धसरकारी लगानीकर्ता कम्पनी थियो ।


‘शेयर किनबेचको सबै काम सकिसकेको छ,’ हिमालयसँग आबद्ध एक वरिष्ठ अधिकारीले भने, ‘केही थोरै कागजात मिलाउन र घोषणा गर्न मात्रै बाँकी छ ।’ उनका अनुसार, शेयर किनबेचको सबै काम नेपालको कानुन अनुसार, काठमाडौंमै भएको हो । ३ अर्ब रुपैयाँमा स्थापना भएको हिमालय एयरलाइन्समा भएको लगानीकर्ताको हेरफेरसँगै अब चिनियाँ लगानीकर्ता हाबी भएको छ ।


यसअघि भने नेपाली वायुसेवा कम्पनी यति एयर कम्पनी अर्न्तगतको यति वर्ल्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । यतिको हिमालयमा ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । ‘अबको शेयर किनबेचपछि यतिको ३५ प्रतिशत हाराहारी र बाँकी ६५ प्रतिशत हाराहारी शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हुनेछ । अर्थात् अब हिमालय एयरलायन्समा चिनियाँ लगानीकर्ता निर्णायक भूमिकामा रहने छ ।


हिमालयले ०७३ जेठदेखि काठमाडौंबाट दोहाकालागि (अन्तर्राष्ट्रिय) उडान थालेको थियो । तीन वर्षको अवधिमा यसले झन्डै ७ अर्ब हाराहारी घाटा ब्यहोरेको छ । ‘हिमालयको अघिल्लो आर्थिक वर्षसम्मको नोक्सान पौने ५ अर्ब हाराहारी पुगेको छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कान्तिपुरसँग भने, ‘भर्खर सकिएको आर्थिक वर्षको लेखा परीक्षण बाँकी छ । परीक्षणपछि ७ अर्ब हाराहारी घाटा पुग्ला ।’ हिमालयले हालसम्म २५ हजार उडान गरेर ६ लाख ५७ हजार यात्रुलाई सेवा दिइसकेको जनाएको छ ।


अध्यक्ष झो एन्योङका अनुसार, हिमालयले वार्षिक नेपाल सरकारलाई ३३ करोड हाराहारी कर तथा राजश्व बुझाउने गरेको छ ।


यसैबीच यस एयरलाइन्सले अक्टोबर महिनाको अत्यसम्म काठमाडौंदेखि चीनको राजधानी बेइजिङ सिधा उडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ‘अनुमति प्रक्रिया करिब करिब टुंगिएको छ हाम्रो योजना काठमाडौं बेइजिङ सिधा उडान कार्त्तिक १० को लक्ष्य छ,’ हिमालयले सार्वजनिक गरेको नयाँ ब्रान्ड लोगो सार्वजनिक कार्यक्रममा एक वरिष्ठ कर्मचारीले भने ।


बेइजिङकालागि हिमालयले एयरबसको ए३१९ विमान ल्याउने तयारी गरेको छ । यो विमान उच्च हिमाली भेगबाट बनाइएको ट्रान्स हिमालयन रुटकालागि योग्य मानिन्छ । हाल यो कम्पनीसगँ तीनवटा एयरबसका ए ३२० विमान छन् ।

यी विमान ट्रान्स हिमालयन रुटबाट उडान गर्न पाउँदैनन् । काठमाडौं–बेइजिङ उडानको छोटो रुट सगरमाथा नाघेर तिब्बत हुँदै गर्नुपर्ने ट्रान्स हिमालय रुट नै हो । हाल उडानमा रहेका ए३२० जहाजले यो रुटबाट सिधा उडान गर्न नसकक्ने भएपछि घुमेर लामोबाटो समात्नुपर्छ । हाल सञ्चालनमा रहेका यी विमानबाट हिमालयले मध्यपूर्वी क्षेत्रको अबुदाबी, दमाम, दोहो तथा पूर्वी क्षेत्र अर्न्तगतको ढाका र क्वालालमपुरमा उडान गर्दै आएका छन् ।


हिमालयसँग भएका यी सबै विमान भाडाका हुन् । यी विमान चाइना डेभलपमेन्ट बैंकसँग १२ वर्षकालागि ड्राई लिजमा ल्याइएका हुन् । यो एयरलाइन्ससँग आफ्नै विमान भने छैनन् । हिमालयले ड्राई लिजमा ल्याएको अर्को विमान भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।

प्रकाशित : आश्विन १२, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?