दुर्गमतर्फ मोडियो बुद्ध

सुरज कुँवर

काठमाडौँ — बुद्ध एयरले पोखराबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना स्थगन गरेको छ । त्यस्तै मध्य जेठदेखि ७० सिट भएको एटीआर विमानबाट बुद्ध एअरले थालेको काठमाडौं–कोलकाता–काठमाडौं उडान पनि केही महिनामै बन्द गर्ने भएको छ । 

१७ वर्षदेखि नाफा आर्जन गर्दै आएको २२ वर्ष पुरानो बुद्ध एयरको अबको यात्रा नेपालका हिमाली र पहाडी भूभाग साना विमास्थलतर्फ डाइभर्ट गर्ने भएको छ ।

‘सन् २०२० भित्र हामी अर्को सहायक कम्पनी स्थापना गरेर हिमाली र उच्च पहाडी भेगतर्फ सेवा विस्तार गर्दै छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘एक वर्षभित्र अमेरिकी सेस्ना स्काई कुरियर विमान खरिद गरेर उच्च हिमाली तथा पहाडी भेगमा उडान थाल्ने छौं ।’ ती अमेरिकी विमानबाट पहिलो चरणमा काठमाडौंबाट रुम्जाटार, भोजपुर, ताप्लेजुङ, लुक्ला र पश्चिममा पोखरा, जोमसोम र गुल्मी उडान हुनेछन् ।

बस्नेतका अनुसार अबको एक महिनामा उत्पादककर्ता कम्पनीले सेस्ना स्काई कुरियर–४०८ को प्रोटोटाइप (नमुना) विमान सार्वजनिक गर्दै छ । त्यसपछि बुद्धको प्राविधिक टोली जहाज हेर्न अमेरिका जाने तयारीमा छ । हरेक विमानको मूल्य ६८ करोड हाराहारी भनिएको छ । बुद्धले पहिलो चरणमा तीनवटा विमान ल्याउनेछ ।

‘५ वटा कर्न्फम किन्दै छौं । थप ५ वटा अप्सन हुन्,’ बस्नेतले भने, ‘सुरुमा पौने २ अर्ब हाराहारीको लगानी आवश्यक पर्नेछ ।’ उनले जहाज खरिदका लागि अमेरिकी एक्जिम बैंकबाट ऋण लिने बताए । ‘काठमाडौंस्थित अमेरिकी दूतावासले पनि फाइनान्सियल विषयमा सघाउने वाचा गरेको छ,’ बस्नेतले भने, ‘हामी यो जहाजका लागि एक वर्षसम्म कुर्न तयार छौं ।’

बुद्धले एक वर्षअघि अन्तर्राष्ट्रिय उडान भए त्यसको ३० प्रतिशत सेयर आफैं राखेर बाँकी सर्वसाधारण र रणनीतिक साझेदारलाई बिक्री गर्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय अपरेसन नहुने भएपछि अब बुद्धले दुर्गम भेगको उडानका लागि सहायक कम्पनी स्थापना गर्ने र त्यसमा कर्मचारीलाई सेयर दिने भनेको छ । ‘यो बुद्धको सहायक कम्पनी हुनेछ । कम्तीमा ५१ प्रतिशत बुद्धको सेयर हुनेछ भने व्यवस्थापन पनि बुद्ध एयरकै हुनेछ । केही प्रतिशत सेयर कर्मचारीलाई दिनेछौं ।’

गत असोजमा प्रबन्ध निर्देशक बस्नेतले पोखरामा निर्माण भइरहेको क्षेत्रीय विमानस्थललाई हब बनाउँदै आगामी वर्षदेखि अमेरिकी बोइङ कम्पनीको उत्पादन ७३७ म्याक्स विमानबाट नयाँदिल्ली र चिनियाँ सहरहरूमा अन्तर्राष्ट्रिय उडानको घोषणा गरेका थिए । म्याक्समा सफ्टवेयर समस्या देखिएपछि संसारभर यो विमान उडानमा रोक लगाइएको छ । यससँगै बुद्ध पनि म्याक्स खरिद गर्ने योजनाबाट पछि हटेको छ ।

बुद्धले तत्कालका लागि आफ्नो अन्तर्राष्ट्रिय उडान योजना स्थगन गर्नुको मुख्य कारणमध्ये नेपालमा पर्यटन आगमनको दर अत्यधिक न्यून हुनलाई पनि भनेको छ । ‘जेट विमान ल्याएर नेपाल बाहिर उडान गर्नुअघि अन्तर्राष्ट्रिय उडानको पाइलट प्रोजेक्टका रूपमा हामीले एटीआर ट्रब्रोप्रोप विमानबाट भारतको कोलकत्तामा उडान थाल्यौं,’ बस्नेतले भने, ‘कोलकाताको परीक्षणबाट हामी सफल भएनौं । त्यसैले तत्काल हामी अन्तर्राष्ट्रिय उडानमा जाँदैनौं । हामीले कोलकाता उडान सुरु गर्दैगर्दा २ करोड हाराहारी मार्केटिङमा खर्च गर्‍यौं तर पर्यटन बोर्डले प्रचार नै गर्न सकेन ।’

बुद्धले गत वर्ष ०७६ वैशाखदेखि इटली–फ्रान्सेली एटीआर विमानबाट नेपालगन्जदेखि दिल्ली उडान पनि घोषणा गरेको थियो । भारतले महेन्द्रनगर हुँदै पन्थनगरको आकाश जोड्ने हवाई रुट ‘क्लियर नगरेका’ कारण बुद्धले नेपालगन्जदेखि दिल्ली उडान पनि गर्न नसकिएको जनाएको छ ।

त्यस्तै एयरपोर्ट अथोरिटी अफ इन्डियाले पनि ८० सिटभन्दा साना एटीआर, प्राइभेट जेटलगायत विमानलाई भारतको दिल्ली र मुम्बईमा रोक्ने योजना सार्वजनिक गरिसकेको छ । यो निर्णयले पनि बुद्धलाई एटीआरबाट दिल्ली उडानमा बाधा पुर्‍याउनेछ ।

यसैगरी बुद्धले अन्तर्राष्टिय उडानमा जानुअघि भारतको कोलकातामा उडान सञ्चालन गर्दै यस रुटमा सफल भएमा ०७७ भदौदेखि एसिया क्षेत्रका क्षेत्रीय सहरमा जेट विमानबाट उडान सञ्चालन गर्ने भनेको थियो ।

काठमाडौं–कोलकाता–काठमाडौं उडानमा १० लाख हाराहारी घाटा व्यहोर्नुपर्ने अवस्था आइलागेपछि बुद्धले जेटबाट अन्तर्राष्टिय उडान गर्ने योजना तत्काल स्थगन गरेको हो । एटीआर विमानबाट भारतको बनारस–काठमाडौं सिधा उडान भने तत्काल जारी नै राख्ने भनेको छ । यसअघि नाफा नभएकै कारण बुद्धले काठमाडौंदेखि थालेको भुटानको पारो, भारतको लखनउ रुटको उडान पनि स्थगन गरेको थियो ।

‘एयरलाइन्स बिजनेस आर्थिक रूपमा अति संवेदनशील विषय हो,’ बस्नेतले भने, ‘कसैले जेट एयर डुब्छ भनेर सोचेको थियो ? ’ यदि सरकार पर्यटकीय पूर्वाधारमा गम्भीर भएन र उड्डयन क्षेत्रमा अनुदानयुक्त कार्यक्रम ल्याइएन भने अन्तर्राष्ट्रिय उडान अहिलेकै अवस्थाले गर्न नेपाली अपरेटरलाई मुस्किल छ,’ बस्नेतले भने ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

मुगुमा लटरम्म स्याउ

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिका–४ ताल्चा गाउँका गोठ स्याउले भरिएका छन् । रुखबाट टिपेका स्याउ व्यवस्थित गर्न भण्डारगृह नहुँदा किसानले गाईगोठमा सल्लाको कुशुम (पिरल) बिच्छ्याएर राख्ने गरेका हुन् ।

स्थानीय कर्णबहादुर भामले करिव ८० क्विन्टल स्याउ गोठमै थन्काएको गुनासो गरे । ‘जिल्लामा कतै व्यवस्थित भण्डारणको व्यवस्था छैन,’ उनले भने, ‘गोठमै थन्काएर राख्नुको विकल्प भएन ।’

उनी मात्र होइन, ताल्चा गाउँका करिब दुई सय बढी किसानले स्याउ गोठमै थन्क्याएका छन् । चरनका लागि गाईभैंसीलाई लेक लगिएकाले गोठ रित्ता थिए । त्यही मौकामा कृषकले पिरलमा स्याउ राखेका हुन् । ‘गोठभित्र स्याउ राख्दा कुहिने र किराले खाने समस्या बढी हुन्छ,’ स्थानीय गोर्ख भामले भने, ‘कार्टुनको राम्रो व्यवस्था नहुँदा जथाभावी स्याउ गोठभित्र थन्क्याउन बाध्य छौं ।’

विगत वर्षमा साविक जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदानमा कार्टुन वितरण गर्थ्यो । यस वर्ष रकम नभएको भन्दै कृषि ज्ञान केन्द्रले कार्टुन उपलव्ध नगराएपछि किसान समस्यामा परेका हुन् । बजेट कटौती हुँदा किसानलाई कार्टुन वितरण गर्न नसकिएको कृषि ज्ञान केन्द्र प्रमुख सुकिराम नेपालीले बताए ।

अबेरसम्मै व्यस्त
छायानाथ रारा नगरपालिका–४ ताल्चाकी रामदेवी भाम सबेरैदेखि साँझ अबेरसम्म बारीमा स्याउ टिप्न व्यस्त छिन् । स्याउ पाकेर झर्न थालेपछि परिवारका पाचजना दिनहुँ स्याउबारीमा व्यस्त हुन थालेका छन् । उनकै छिमेकी दिलमाया भामलाई पनि स्याउ टिप्ने चटारोले छोएको छ ।

प्राय सबै गाउँका किसान बस्ती सुनसान पारेर स्याउ टिप्न बगैंचामा व्यस्त छन् । बालबालिकादेखि वृद्धसम्मको भीड लागेको छ । कोही रुखमा चढेर स्याउ टिप्छन् । केहीलाई ओसार्ने चटारो छ । ताल्चा गाउँका कर्णबहादुर भामले बगैंचामा लटरम्म स्याउ पाकेपछि किसानको व्यस्तता बढेको बताए ।

यस वर्ष नगरपालिकाका ताल्चा, मइतु, कालापाल्त, गिमखोलालगायत बस्तीमा स्याउ राम्रो फलेको छ । स्याउले बगैंचा राताम्मे छन् । ‘टाढा गाउँका छोरीचेली स्याउ टिप्न माइती आएका छन्,’ भामले भने, ‘बगैचा खाली नगरे स्याउ झर्ने समस्या हुने भएकाले परिवारका सबै सदस्य व्यस्त बनेका हौं ।’

कृषकले स्याउ टिप्न भने हतार गरेको कृषि ज्ञान केन्द्र प्रमुख सुकिराम नेपालीले बताए । ‘यस वर्ष राम्रो उत्पादन भएको छ, बजारको चिन्ताले किसान हतारिएका मात्र हुन्,’ उनले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन गर्न गाउँगाउँमा प्राविधिक खटाएका छौं ।’

प्रकाशित : भाद्र २३, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्