कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वेबसाइटमार्फत काम र कामदार

'यस्ता कम्पनी विदेशतिर टन्नै छन्, सेवा प्रदायक र सेवाग्राहीबीच हामी मध्यस्थकर्ता हौं’
सजना बराल

काठमाडौँ — घरको पानी टयांकी सफा गर्नलाई मान्छे चाहियो, कहाँ खोज्ने ? बिहेमा सेलरोटी पकाउनुपर्‍यो, कसलाई भन्ने ? घरको नाला बिगि्रए कसरी प्लम्बर पत्ता लगाउने ? सुत्केरी स्याहार्नेहरू कसरी खोज्ने ? बेलाबखत आइपर्ने यस्ता ठूलासाना समस्या समाधानका लागि अचेल केही स्टार्टअप कम्पनी सञ्चालनमा आएका छन् ।

वेबसाइटमार्फत काम र कामदार

तिनले सेवा दिने व्यक्ति र सेवा लिने उपभोक्तामाझ मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थालेका छन् ।


श्रीयोग डटकम, भेटायो डटकमजस्ता कम्पनीले विभिन्न क्षेत्रका कामदार जम्मा गरेका छन् । तिनले बिग्रेको धारा बनाइदिनेदेखि घरपालुवा कुकुरलाई तालिम दिने, कोठामा कार्पेट हालिदिने, ग्यास डेलिभरी गरिदिने, लाख बत्ती कातिदिने, लुगा धोइदिने, सामान ओसारपसार गरिदिने, एसी वा पि|mज मर्मत गरिदिनेलगायत विभिन्न क्षेत्रका कामदारको सूची बनाएका छन् । काम गर्ने र काम चाहनेका बीच यी कम्पनीले सेतुको काम गर्छन् ।


दुई वर्षअघि सुरु भएको श्रीयोग डटकमले ७८ किसिमका कामका लागि १४ हजार कामदार आफ्नो डेटाबेसमा जम्मा पारेको जानकारी दिएको छ । त्यहाँ तालाचाबी बनाउने, दुना टपरी गाँस्ने, कपाल काट्ने, टाइपिस्ट, ग्राफिक डिजाइनर, टयाटु खोप्ने, सुत्केरी स्याहार्नेहरू भेटिन्छन् । यीमध्ये कोही चाहिएमा वेबसाइटमा उपलब्ध उनीहरूको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ । 'हामी विकिपेडिया जस्तै खुुला प्लेटर्फम हौं,' श्रीयोगका संस्थापक प्रकाश उप्रेती भन्छन्, 'उबरको मोडलमा काम गर्न खोज्दै छौं । जो नजिक र उपलब्ध छ, उसैले सेवा दिन्छ ।'


अनामनगरस्थित डि्रमस्पेस इन्फो सलुसनमा कार्यरत योगिता घिमिरेले श्रीयोगबाटै टयांकी सफा गर्ने र अफिसको प्रोडक्ट घरघरमा डेलिभरी गरिदिने मान्छे फेला पारेकी रहिछन् । यसबाट आफूलाई धेरै सहज भइरहेको प्रतिक्रिया दिइन् । 'घरको रिजर्भ टयांकी सफा गर्न मान्छे चाहिएको थियो,' उनले भनिन्, 'कहाँ खोज्नु भनेर टेन्सनमा थिएँ । श्रीयोग डटकमबारे थाहा पाएपछि सजिलो भयो ।' उनले फेसबुकबाट यो कम्पनी पत्ता लगाएकी रहिछन् ।


बानेश्वरकी उत्साह श्रेष्ठले भने भेटायो डटकमबाट प्लम्बर फेला पारिछन् । उक्त वेबसाइट प्रयोग गर्दा निकै रमाइलो लागेको प्रतिक्रिया दिएकी छन् । 'पाइप बनाइदिन आउने दाइले अरू जानकारीहरू पनि दिनुभयो,' उनी भन्छिन्, 'मर्मत-सम्भारका कुरा बताइदिनुभयो ।' नितिशा श्रेष्ठको टोलीले हालै मात्र भेटायो डट सञ्चालनमा ल्याएको हो । उनीहरू अझै पनि वेबसाइट बलियो बनाउन लागिपरेका छन् ।


भेटायो डटकममा फोटोग्राफर, डग ट्रेनर, इलेक्टि्रसियनलगायत विधाका कामदार उपलब्ध छन् । उपभोक्ताले वेबसाइटमा एकाउन्ट खोलेर वा आफ्नो जिमेल तथा फेसबुक एकाउन्टमार्फत लग इन गरेर कामदार खोज्न सक्छन् । 'यस्ता कम्पनी विदेशतिर टन्नै छन्,' भेटायोकी सहसंस्थापक नितिशाले भनिन्, 'सेवा प्रदायक र सेवाग्राहीबीच हामी मध्यस्थकर्ता हौं ।' यस्तो मोडलको बिजनेसमा विज्ञापनबाट आम्दानी गर्ने उनले बताइन् । उपभोक्ताले सेवा दिने व्यक्तिलाई पारिश्रमिक दिन्छन् ।


श्रीयोग डटकमले वेबसाइट मात्रै नभएर अब एप निर्माणको काम थालेको छ । राइड सेयरिङ एपहरूले राइडर र यात्रुबीच सम्पर्क निर्माण गरे झैं श्रीयोगले सेवा प्रदायक व्यक्ति र उपभोक्ताबीच सम्पर्क सिर्जना गरिदिन्छ । हाल वेबसाइटबाटै लोकपि्रयता कमाइरहेको श्रीयोगले दुई वर्षमा ५ लाख कामदारको नाम र नम्बर जम्मा पारिसक्ने लक्ष्य लिएको छ । 'अहिले मान्छेलाई चाहिने भनेकै फोन नम्बर हो,' श्रीयोगका प्रकाशले भने, 'जसलाई पनि जसको पनि नम्बर चाहिएको छ । फोनबाट धेरै कुराको डिल हुन्छ ।'


आफूहरूको प्रोजेक्टमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि चासो देखाएको प्रकाशले बताए । सीटीईभीटीबाट तालिम लिएका ८० हजार जनाको डेटाबेस आफ्नो वेबसाइटमा राख्न लागेको उनको भनाइ थियो । 'उहाँहरूलाई पनि काम दिलाउन गाह्रो भइरहेको होला,' श्रीयोगकै सोभितमान श्रेष्ठले भने, 'काम खोज्ने र काम गर्नेहरू आआफैं एकआपसमा कनेक्ट हुँदा हाम्रो अपरेटिङ कस्ट कम छ ।'


सैनिक मुख्यालय भद्रकालीमा प्राविधिकको काम गर्दै आएका शम्भु बस्नेतले श्रीयोगमा आफ्नाबारे विवरण भरेका छन् । उनलाई 'पि्रन्टर बनाउने' वर्गभित्र भेटिन्छ । तीन महिनाअघि वेबसाइटबारे थाहा पाएको उनले बताए । 'अहिलेसम्म त कसैले फोन गरेको छैन,' उनले भने, 'यस्तो प्लेटर्फम राम्रो हो । मलाई प्रिन्टर, प्रोजेक्टर, ल्यापटहरू मर्मत गर्न आउँछ ।' श्रीयोगले काम चलाउ, कुशल, दक्ष गरी कामदारका लेभल समेत निर्माण गर्दै छ । यसले उपभोक्तालाई कस्तो कामदार चाहिएको, त्यहीअनुसार सम्पर्क गर्न सहज बनाउने श्रीयोगले जनायो ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×