कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्यु खिम्ती–बाह्रबिसे प्रसारण लाइन : चिनियाँ कम्पनीसँग ठेक्का तोडियो

यो घटनाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउन समस्या 
नयाँ ठेकेदार छनोट गर्ने र चाँडै काम सम्पन्न गर्ने : प्राधिकरण

काठमाडौँ — ठेकेदारले काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले तामकोसी–काठमाडौं ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण आयोजनाको पहिलो खण्डको ठेक्का तोडेको छ । 

न्यु खिम्ती–बाह्रबिसे प्रसारण लाइन : चिनियाँ कम्पनीसँग ठेक्का तोडियो

यो प्रसारण लाइन एक वर्षपछि सम्पन्न हुने ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको विद्युत्का लागि आवश्यक छ । राजधानी विद्युत् ल्याउन प्राधिकरणले प्रसारण लाइन निर्माण थालेको थियो ।


काम नगरेपछि प्राधिकरणले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको तामाकोसी–काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यु खिम्ती–बाह्रबिसे खण्डको ठेक्का तोडेको हो । ‘ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर (१६ करोड २८ लाख ४८ हजार रुपैयाँ) र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिएको छ,’ प्राधिकरणको विज्ञप्तिमा छ ।


यो घटनाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउन समस्या हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । नयाँ ठेकेदार छनोट गर्ने र चाँडै काम सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले उक्त ठेकेदार कम्पनीसँग ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिएका थिए,’ प्राधिकरणको विज्ञप्तिमा छ । कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणको प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।


‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिँदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का तोडिएको हो,’ आयोजना प्रमुख नवराज ओझाले भने ।


कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटरजस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम नगरेको जनाइएको छ ।


‘ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि टेन्डर आह्वान भइसकेको छ,’ आयोजना प्रमुख ओझाले भने । आगामी मेभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले बताए । यो आयोजना नेपाल सरकार र एसियाली विकास बैंकको

सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।


सिन्धुपाल्चोको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्काको काम हो । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ‘ताकेत गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै भएको छैन,’ आयोजना प्रमुख ओझाले भने ।


प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।


खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन बनाउन लागिएको हो ।


रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एन्ड टर्बो (एलएन्टी) ले पाएको छ ।

प्रकाशित : पुस १६, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?