पशुको बिमा गर्ने बढे

माघ १३, २०७४

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्घाखाँची– सन्धिखर्क नगरपापलका ८ का टोपलाल पराजुलीको करिब ८० हजार रुपैयाँ मूल्य पर्ने दुहुनो भैंसी रोग लागेर मर्‍यो। त्यही मूल्य बराबरमा अर्काे दुहुनो भैंसी किने। त्यसपछि १ लाख रुपैयाँको बिमा गरे। तीन बाख्रा, दुई भैंसी र तीन गाईको बिमा गरेपछि उनी ढुक्क छन्।

‘गाईको ६० हजारको बिमा छ, मर्‍यो भने ५० हजार राहत पाइन्छ,’ उनले भने, ‘बाख्राको १५ हजारको गरेको छु, मरे १३ हजार पाइन्छ। बिमापछि दुई जर्सी गाई एक भैंसी थपेको छु।’ सदरमुकामदेखि तीन किमि पर किमडाँडा गाउँका १ सय ५० कृषकले गाई, भैंसी र बाख्राको बिमा गरेको उनले बताए।


जिल्ला पशु सेवा कार्यालयको सहयोगमा पशुपालकले बिमा गराएका हुन्। ठूलापोखराको मालिका भैंसीपालन समूहका १ सय कृषकले बिमा गरेका छन्। पशु बिमा गरेमा पशुको मृत्यु भएमा राहत पाइने, बिरामी भए औषधि उपचार खर्च र तीन वर्षसम्म भंैसी नब्याएमा त्यसको मूल्य बराबरको पैसा पाइने जानकारीपछि स्थानीयले १ सय ६० भैंसीको बिमा एकैपटक गरेको नेत्रप्रसाद पौडेलले बताए। त्यसैगरी शीतगंगा नगरपालिका ११ मौवाबारी क्रियाशील एक महिला समूहका १ सय ११ माउ बाख्राको बिमा भएको पशु प्राविधिक प्रेम भुसालले बताए। 


सरकारले कृषिमा बिमा नीति ल्याएर बाली तथा पशुपक्षी बिमा ऐन र निर्देशिका लागू गरेपछि कृषकले पशुको बिमा गने थालेका हुन्। पशु कार्यालयसँग सहज सम्बन्ध भएका कृषकले मात्रै बिमाको सुरुवात गरेका छन्। जिल्लाको दुर्गम बस्तीमा अझै बिमा सन्देश पुग्न सकेको छैन। आर्थिक वर्ष ०७२/७३ मा २ हजार ५ सय ६५ पशुको बिमा भयो। वरिष्ठ पशु विकास अधिकृत लोकनाथ पौडेलले यो आर्थिक वर्ष ०७४/०७५ पुससम्म २ हजार ९ सय ७४ पशुको बिमा गरिएको बताए। 

कान्तिपुर

Link copied successfully