जीर्ण बीपी राजमार्ग

अनुमतिबिनै चल्छन् ठूला सवारी साधन

कार्तिक १४, २०७४

नगेन्द्र अधिकारी

काभ्रे — तराईका जिल्ला जोड्ने छोटो दूरीको बीपी राजमार्ग पछिल्लो समय कुरूप र जीर्ण बन्दै गएको छ । राजमार्ग छेउछाउ चलेका क्रसर उद्योगबाट गिट्टी, ढुंगा, बालुवा बोक्ने ट्रिपर र अनुमति पनि नलिईकन चल्ने ठूला सवारी साधनका कारण सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।

तराईका जिल्ला जोड्ने छोटो दूरीको बीपी राजमार्ग पछिल्लो समय कुरूप र जीर्ण बन्दै गएको छ । राजमार्ग छेउछाउ चलेका क्रसर उद्योगबाट गिट्टी, ढुंगा, बालुवा बोक्ने ट्रिपर र अनुमति पनि नलिईकन चल्ने ठूला सवारी साधनका कारण सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको हो । 

राजमार्गमा चल्ने सवारी साधनको लगत राख्दै आएको अस्थायी प्रहरी पोस्ट काभ्रे भन्ज्याङका हवल्दार कुमार माझीका अनुसार दैनिक ३ सय हायस, २ सय ५० सुमो, १ सय २५ ठूला गाडी र १ सयको हाराहारीमा ६ चक्के ठूला सवारी धुलिखेल हुँदै सिन्धुलीतर्फ जान्छन् । राजमार्ग भएर गुड्ने निजी सवारी साधन र सिन्धुलीबाट धुलिखेलतर्फ एकतर्फी आउने सवारी साधनको रेकर्ड प्रहरीले राख्ने गरेको छैन । 

‘ट्रिपर’ प्रमुख कारण
प्रहरी हवल्दार माझीका अनुसार आन्दाजी २ सय ट्रिपर सामान लिन भकुन्डे, कटुन्जे, नेपालथोकलगायतका स्थानमा रहेका क्रसर उद्योगमा सामान लिन जान्छन् । ‘अन्दाजी २ सय ट्रिपर गुड्छन् होला,’ माझीले भने, ‘तीव्र गतिमा आउने भएकाले ट्रिपरको रेकर्ड राख्न भ्याउँदैनौं, सार्वजनिक सवारीको मात्रै नम्बर टिप्ने गरेका छौं ।’ १० टन क्षमताको सडकमा ट्रिपरले १३ देखि १८ टनसम्म सामान बोक्दा त्यसको भार सडकलाई परेर छिटो बिग्रने गरेको छ । पानी चुहाउँदै सामान बोक्ने गरेकाले पनि सडक चाँडै बिग्रने गरेको छ । 

स्पष्ट मापदण्ड लागू हुन नसक्दा राजमार्ग आसपासमा खानी तथा क्रसर उद्योग बेलगाम सञ्चालित छन् । राजमार्गबाट ५ सय मिटर, खोलाबाट ५ सय, शिक्षण, स्वास्थ्य, धार्मिक सांस्कृतिक सम्पदा, सुरक्षा निकाय, वन निकुञ्ज र घना बस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने मापदण्ड भए पनि व्यवसायीहरू परिमार्जन गर्नुपर्ने पक्षमा छन् । जिल्लामा दर्ता भएर १८ खानी र २६ क्रसर उद्योग सञ्चालित छन् । तीमध्ये पशुपति रोडाढुंगा उद्योग र नाङसाल रोडाढुंगा उद्योग बीपी राजमार्गमा नै जोडिएर सञ्चालित छन् । काभ्रेका ९ क्रसर उद्योगले बीपी राजमार्ग हुँदै सामान ओसारपसार गर्ने गरेका छन् । नयाँ मापदण्ड नआएकाले प्रशासनले पनि कडाइ गर्ने गरेको छैन । वर्षमा एकपटक हुने ‘कर्मकाण्डी अनुगमन’ प्रहरी र प्रशासनको ‘मोलमोलाइ’ को माध्यम बन्दै आएको छ । 

राजमार्गमा रुट परमिटबिनाका गाडी 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा १८ सिटभन्दा बढी सिट क्षमताका गाडीलाई चल्न अनुमति नदिए पनि ठूला गाडी निर्वाध चलिरहेका छन् । साँघुरा मोड र १० टन मात्रै भारवहन क्षमता भएका कारण ठूला गाडी चल्न रोक लगाए पनि मध्यपहाडी र तराईका जिल्ला जाने सबै ठूला गाडी यही रुट हुँदै चल्ने गरेका छन्् । मुग्लिन–नारायणगढ सडक अवरुद्ध भइरहने कारणले पनि तराईका जिल्ला जाने सवारी साधनका कारण पनि बीपी राजमार्गमा चाप छ । जापान सरकारको अनुदानमा बनेको १ सय ६० किलोमिटर दूरीको बनेपा– बर्दिबास सडक (बीपी राजमार्ग) पूर्वी तराई जोड्ने यो छोटो दूरीको सडक हो । 

‘यो रुटमा ठूला गाडीलाई अनुमति छैन,’ यातायात व्यवस्था विभागमा कार्यरत प्रहरी नायब निरीक्षक भरतबहादुर जीसीले भने, ‘बेलाबेलामा अनुगमन गरेर बिना रुटपरमिटका गाडीलाई कारबाही गर्ने गरेका छौं ।’ जीसीका अनुसार दसैंलगत्तै बिनारुटपरमिट सञ्चालन भएका १ सय ९८ गाडीलाई कारबाही गरिएको छ । केहीको रुट निलम्बनसमेत गरिएको छ । 

नगेन्द्र

Link copied successfully